गृह » ‘निर्वाचनमा मानवअधिकारको हनन गर्नेले पाए उन्मुक्ति’
राजनीति समाचार समाज

‘निर्वाचनमा मानवअधिकारको हनन गर्नेले पाए उन्मुक्ति’

–तुलमान गुरूङ
भरतपुर । स्थानीय तह निर्वाचनका बेला विभिन्न स्थानमा मानवअधिकारको हनन् भए पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेको मानवअधिकारवादीहरुले बताएका छन् ।
जनअधिकार अभियान नेपालले मंगलबार भरतपुरमा ‘मानवअधिकारको दृष्टिकोणबाट वर्तमान राजनीतिक परिस्थिति र जनचाहना’ विषयमा जिल्लाका विभिन्न दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा सो बताइएको हो । सो विषयमा आधारपत्र प्रस्तुत गर्दै अभियानका अध्यक्ष एकराज भण्डारीले मानवअधिकार उल्लंघनबाट विगत लामो समयदेखि विभिन्न कालखण्डमा पीडित बनेकाहरूले अझैसम्म पनि न्याय नपाएको बताए । उनले भने, ‘ मानव अधिकार उल्लंघनका घटनामा पीडितहरु राज्य तथा दलप्रति क्रुद्ध बनेका छन् ।’ उनले पीडितले न्याय पाउनु पर्ने अवस्थामा उल्टै बिना कारण मुद्दा खेप्न बाध्य भएको विचार राखे । राज्यसत्ताबाटै मानव अधिकार तथा मौलिक हकको गम्भीर उल्लङ्घन भएको भन्दै अध्यक्ष भण्डारीले वैशाख ३१ को स्थानीय तह निर्वाचनका समयमा पनि विभिन्न व्यक्तिहरू बिना कारण विभिन्न खालका मुद्दा खेप्न बाध्य भएको दाबी गरे ।
तर, पूर्वसांसद् वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले भने कसैलाई बिना कारण मुद्दा चलाउनु र दोषीलाई पनि कारबाही गर्न नसक्नु दुःखद कुरा भएको भन्दै यसको दोष लोकतन्त्रलाई लगाउन नमिल्ने टिप्पणी गरे । नेपालको राजनीतिका कारण न्यायालयसमेत निष्पक्ष हुन नसकेको उनले बताए । पहुँचवाला व्यक्ति दोषी भए पनि दलको आडमा निर्दोष सावित हुने र पहुँच नभएका व्यक्तिहरू निर्दोष भए पनि दोषी बनाएर मुद्दा खेप्नुपर्ने बाध्यताको कारण नेपालको राजनीतिक अस्थिरता भएको उनको भनाइ छ ।
सांसद कृष्णभक्त पोखरेलले नेपालमा मानवअधिकारको विषयमा नेपाल सरकार र सबै दलले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।
राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले मानवअधिकारको कुरा गर्ने व्यक्ति स्वयम्ले मानवअधिकारको उल्लङ्घन गरिरहेको बताउँदै अगाडि ठूला कुरा गर्ने र पछाडि आफैँ अधिकार उल्लङ्घन गर्ने परिपाटी रहेकोले नेपालमा मानवअधिकारको कार्यान्वयन हुन नसकेको बताए । नेपाल बार यशोसियसनकी केन्द्रीय सदस्य इन्दु कोइरालाले वर्तमान राजनीतिक परिवेशका कारण १९ वर्षपछि जनतामा छाएको उल्लास पनि अहिले विस्तारै निराशातिर धकेलिन थालेको बताइन् । भरतपुर महानगरपालिका घटनाले पनि दलहरूप्रतिको जिम्मेवारी स्थानीयले महसुस गर्न नपाएको उनले बताइन् ।
नेकपा माओवादी केन्द्रका नेता सूर्य सुवेदीले नेपालमा विभिन्न कालखण्डमा गरी तत्कालीन माओवादी र राज्य दुवैपक्षबाट पीडित बन्नुपरे पनि अहिलेको सरकार एकतर्फी भएको बताए । माओवादी द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षबाट पीडित भएकाहरूको मात्रै कुरा उठिरहने हुँदा राज्यपक्षबाट कोही पनि पीडित बन्नै नपरेको हो र भन्ने प्रश्न उठेको उनको भनाइ छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले मानवअधिकारको कुरा गरिरहँदा भरतपुर महानगरको मतगणना काण्डले पनि गम्भीर रूपमा मानवअधिकार उल्लङ्घन भएको बताए । मतदान जस्तो पवित्र दानलाई रक्षा गर्न नसक्नेले देशको रक्षा कसले गर्छ भन्दै दलहरूप्रति उनीहरूले प्रश्न गरे ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment