गृह » भरतपुरमा गुञ्जिए नवराज
साहित्य

भरतपुरमा गुञ्जिए नवराज

–तुलमान गुरूङ
भरतपुर । रेडियो नेपालमा सुनिरहेको आवाज शनिबार भरतपुरमा पनि सुनियो । मिठो आवाजका धनीसमेत रहेका कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल भरतपुरमा यसरी गुञ्जिए, सुन्नेहरुलाई गर्मीको महसुुस नै भएन ।
वि.सं.२०५० सालदेखि रेडियो नेपालको स्टुडियोबाट आफ्ना सुमधुर आवाज सुनाउँदै आएका उनै कवि डा. लम्साललाई सुन्नका लागि चितवनका साहित्यानुरागीहरू बिहानै भरतपुरको होटल ग्लोबल पुगेका थिए ।
नेपाली साहित्यको उन्नयनका लागि गत वर्षबाट नियमित रूपमा सञ्चालन हुँदै आएको शनिबासरीय कार्यक्रम ‘चियासँग कविता’का लागि उनी भरतपुर आएका थिए । श्रोताहरूमाझ लोकप्रिय सञ्चारकर्मीको रूपमा ख्याति कमाउन सफल लम्साल आउने भएपछि चितवनका साहित्य अनुरागीहरुले खुला ठाउँ नै भरिएको थियो । अरूबेला एउटा सानो हलभित्र हुने कार्यक्रम लम्साल गुञ्जने भएपछि भीडभाड बढेको थियो । जहाँ चितवनका ७० भन्दा बढी साहित्यानुरागीहरू उनका कविता सुन्नका लागि उपस्थित भए ।
मौसम गर्मी भए पनि साँझ पानी परेकोले केही शीतलता प्रदान भएको थियो, तर त्यो भन्दा शितल उनको कविताले ग¥यो । विगत लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै आएका कवि डा. लम्साललाई श्रोताको बाक्लो उपस्थितिले गर्मीको आभास हुन पाएन । उनका कालाजयी कविताका हरफहरू सुनेर उपस्थित सबै मन्त्रमुग्ध भए ।
डा लम्सालले आफ्नो प्रकाशित महाकाव्य ‘धरा’ भित्र र बाहिरका गरी नयाँ पुराना उत्कृष्ट कविता सुनाए । रेडियो नेपालमा मात्रै आवाज सुनिरहेका श्रोता तथा पाठकको अगाडि आफ्ना प्रतिनिधि कविता सुनाउन पाउँदा कवि लम्साल दंग थिए । रेडियो नेपालको कार्यक्रम उत्पादनका लागि मनाङ, मुस्ताङ र हुम्ला बाहेकका ७२ जिल्ला घुमिसकेको बताउँदै कवि डा.लम्सालले नेपाल वास्तवमै महासँस्कृतिको देश रहेछ भने । गद्य र पद्य दुबै खालका कविता सुनाउँदै डा.लम्सालले बीचबीचमा आफ्नो बाल्यकालका घटनाहरूको स्मरण गर्दै मनोरञ्जनका कुराहरू पनि गर्न भ्याए । जसले गर्दा कार्यक्रमको रौनक झनै बढेको महसुस हुन्थ्यो ।
बाल्यकालकोे घटना सुनाउँदै उनले ‘प्रेमको नाममा ३० वर्षपछि’ शीर्षकको निकै रमाइलो कविता सुनाए । उक्त कविताले माहोल नै फरक बनाएको थियो । यस्तै रमाइला, मायाप्रेम, राष्ट्रभाव झल्किएका कविता सुनाउँदै साहित्यको उर्वर भूमि चितवन आउँदा एउटा विश्वविद्यालयमा आएजस्तै अनुभव भएको उनले बताए । उनको कवितामाथि पाठकका तर्फबाट उदय अधिकारी र कविहरूको तर्फबाट वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले टिप्पणी गरेका थिए ।
रेडियो नेपालसँगसँगै सन् २००८ देखि २०१६ सम्म बीबीसी नेपाली सेवामा कार्यरत उनी हाल रेडियो नेपालको कार्यक्रम महाशाखा प्रमुखको रूपमा कार्यरत छन् । कवि डा.लम्सालका ‘पाइलैपिच्छे सगरमाथा’ (२०६१) र ‘आगो छोपेर कतिञ्जेल’ (२०६२) गरी दुईवटा कविता संग्रह ‘कर्ण’ (२०६६) र ‘धरा’ (२०७३) गरी दुईवटा महाकाव्य प्रकाशित छन् । गीतकारको रूपमा समेत आफ्नो परिचय बनाउन सफल कवि डा.लम्सालका आधुनिक, स्वदेशगान तथा चलचित्रका गरी ३०० भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनको ‘धुनभित्र–धुनबाहिर’ गितीसंग्रह (२०६२) र ‘उडौँ–उडौँ लाग्छ’ बाल गितीसंग्रह (२०७२) पनि बजारमा आइसकेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment