गृह » अस्तफलको ‘हिउँको आरोहण’ विमोचन
साहित्य

अस्तफलको ‘हिउँको आरोहण’ विमोचन

नारायणगढ । कवि एवम् साहित्यकार सुरेन्द्र अस्तफलको नवीनतम् कृति ‘हिउँको आरोहण’को चितवनमा पनि विमोचन गरिएको छ ।
शनिबार चितवन साहित्य परिषदको आयोजनामा कवि अस्तफलको कविता संग्रह ‘हिउँको आरोहण’को नारायणगढमा विमोचन गरिएको हो । चितवन साहित्य परिषद्ले नै प्रकाशन गरेको उक्त कविता संग्रहको गत २० गते राजधानीमा विमोचन गरिएको थियो । वरिष्ठ नाट्यकर्मी अशेष मल्लको उपस्थितिमा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष एवम् साहित्यकारहरू केदारनाथ खनाल, निबन्धकार रामबाबु घिमिरे र कवि सुरेन्द्र अस्तफलका बुबा भूमि पौडेलले कविता संग्रहको विमोचन गरेका हुन् । ज्ञानज्योति बुक्स पब्लिकेशन काठमाडौँले वितरणको जिम्मा लिएको उक्त कविता संग्रहमा ९२ वटा कविता संग्रहित छन् ।
कार्यक्रममा कवि अस्तफलले एकल कविता वाचनसमेत गरेका थिए । २०५५ सालमा लेखेको कविता ‘यसपाली झ्याईँ परेन’बाट कविता सुनाउन सुरू गरेका उनले नयाँ तथा पुराना गरी १५ वटा प्रतिनिधि कविताहरू सुनाउन भ्याए । उनलाई कविहरू अर्जुन अस्तफल, प्रभाकर पण्डित र पुष्प अधिकारी ‘अञ्जली’ले कविता वाचनमा साथ दिएका थिए ।
कार्यक्रममा साहित्यकारहरू बालकृष्ण थपलिया, भूपिन खड्का, धनराज गिरीलगायतले बोलेका थिए । सोही क्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्लले कवि सुरेन्द्र अस्तफलको कविता पाठकले रूचाउने खालको छोटोमिठो भएको बताए । ‘कविता हुनुपर्छ पनि यस्तै,’ उनले भने, किनकी अबका पाठकले सात÷आठ पेज लामा कविता पढेर समय बर्बाद गर्न चाहँदैनन् । त्यसैले पनि सटिक र सरल कविता नै बढी पढ्छन् भन्ने मेरो बुझाइ हो ।’ कार्यक्रममा ७५ जनाभन्दा बढी साहित्यकारहरू भेला भएका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment