गृह » कविडाँडामा ‘हिउँको आरोहण’
साहित्य

कविडाँडामा ‘हिउँको आरोहण’

रमेश प्रभात
कविका रुपमा पुरानो परिचय भए पनि कवि सुरेन्द्र अस्तफलसँग सघन परिचय भने चितवन साहित्य परिषद्को सुरूवाती कार्यक्रमहरुबाट भएको हो । एउटै मञ्चबाट कविता वाचन गर्दाको मीठो स्मरण म र त्यतिबेला कविता भन्ने अरु कविहरुसँग पनि ताजा छ जस्तो लाग्छ । उनीसँग ‘शब्दहरु अविराम यात्रामा’ (२०५७) मा साहित्यिक सहकार्य पनि भएको हो । त्यस्तै, करिब पाँच वर्षजति एउटै विद्यालयमा सँगै पढाएको र साहित्यिक कार्यक्रमहरु चलाएको स्मरण पनि छ मसँग ।
कवि अस्तफलले साहित्यमा लागेका दिनदेखि कवितालाई राम्ररी पक्रेर हिँडिरहेका छन् । त्यसो त, बीचमा केही समय उनी गजलतिर पनि लहसिएका हुन्, तर त्यो गजलमोह त्यति धेरै समय टिक्न सकेन । कविताप्रतिको मोहका कारण ‘बिम्बशिविर’ (२०५७) र ‘हिउँको आरोहण’ (२०७४’ जस्ता कविता कृतिहरु निस्केका छन् भने ‘शब्दहरु अविरामा यात्रामा’ (संयुक्त कवितासङ्ग्रह) २०५७ र ‘आमा’ (काव्य, २०७३) सहकार्यका रुपमा छापिएर आएका छन् ।
कविडाँडामा जन्मिएका कवि अस्तफलको काव्ययात्राको थालनी पनि त्यहीँबाट भएको थियो । हाल उनी वैदिकनगरमा बसोबास गर्दै आएका छन् । उनको तन वैदिकनगरमा भए पनि मन भने कविडाँडामै छ । त्यसो त उनी बेलाबेलामा भोट हाल्न होस् कि आफन्त भेट्न होस्, फुर्सदको समय कटाउन होस् कि कविता सुसेल्न होस्, अझै कविडाँडा धाउँदै छन् । कविडाँडाले पनि उनलाई छोडेको छैन । उनलाई कविडाँडा साहित्य समाजले महासचिवमा पक्रेर राखेको छ । कविडाँडाले कविताप्रति आकर्षित गराएको हुनाले उनको डाँडाप्रतिको मोह कवितामा पनि देखिएको छ, जसको प्रतिफल ‘हिउँको आरोहण’ भएर आएको छ । चितवनमा हिउँ पर्दैन, अझ कविडाँडामा हिउँ पर्नु असम्भव छ । यस्तो असम्भव कुरालाई कवि अस्तफलले कविताका माध्यमबाट सफल बनाए, कवितामा हिउँको आरोहण गरेर ।
चितवन साहित्य परिषद्को ६२ औँ नवीनतम कृति भएर प्रकाशित ‘हिउँको आरोहण’ (२०७४) कवि सुरेन्द्र अस्तफलको दोस्रो एकल कविता सञ्चयन हो । यसमा विविध भावमा ४५ वटा फुटकर कविताहरु समेटिएका छन् । घटीमा एक पृष्ठदेखि बढीमा तीन पृष्ठको आयामसम्म फैलिएका यी कविताहरु कम्तीमा १३ पङ््क्ति र बढीमा ५७ पङ्क्तिसम्मको गद्यलयमा संरचित भएको पाइन्छ । यी कविताहरु कतिपय एउटै खण्डमा रचिएका छन् भने केही कविताहरु पङ्क्तिपुञ्ज छुट्याएर खण्डखण्डमा रचिएका पनि छन् । मातृबिम्ब, समकालीन युग चेतना, व्यङ्ग्य, राष्ट्रियता, विगतका द्वन्द्वको असर, राजनीति, समाज, प्रेम, दर्शन र जीवनलाई मूल भाव बनाएर रचिएका यी कविताहरु सरल शैलीमा रचिएका छन् ।
कवि अस्तफल आमाको यादलाई हरपल मनमा लिएर हिँड्छन् । अझ चाडबाडमा आमाको यादले सताउने कुरालाई यसरी व्यक्त गर्छन् ः
घर उही छ
बारी र टारी उनै हुन्
सबै सबै दुरूस्तै छन् यो दसैँमा
तर आमा हुनुहुन्न ।
(आमाविनाको दसैँ, पृ. ४७)
विवश आमाहरुले आफ्ना सन्तानहरुलाई सुखको सट्टा असीम दुःख छाडेर जान विवश भएको कथालाई कवि यसरी वाणीमा अभिव्यक्ति दिन्छन् ः
हो
तँ त्यही दिन मरेकी थिइस्
जुन दिन
तँ धर्मबाबुको
शुक्र बनेर मेरो डिम्वाशयमा आइस् नानी ।
(हतभागीको कथा, पृष्ठ. १०)
कवि अस्तफल आमालाई मात्र होइन, बालाई पनि उत्तिकै सम्झन्छन्, उत्तिकै सम्मान गरेर कविता कोर्छन् ः
तिम्रा कुर्कुचा
हाम्रै गति नाप्दा फुटेका हुन् बा
तिम्रा परेलामुनिका किरिङमिरिङ धर्साहरु
हाम्रै भाग्य लेख्दा बनेका हुन् बा ।
(बा, पृ. ७२)
कवि देशलाई पनि आमाकै बिम्बमा उतार्दै यतिबेला देश दुखेको कुरा कवितामा यसरी बताउँछन् ः
टिस्टा र काँगडा दुख्ने छातीमा
मेची र काली दुखिरहेछ
व्यष्टिभित्रको सृष्टि भत्काएर
बनाइएका समष्टि दृष्टिहरु
खण्डित हुँदै छन् विस्तारै विस्तारै ।
(देश भगीरथ खोजिरहेछ, पृ. ७५)
अभावमा पनि सहकाल देख्नु कवि अस्तफलको पृथक् विशेषता हो । यसर्थ, उनी आशावादी कवि हुन् । उनी अभाव भएर आफू यो रुपमा उभिएको कुरालाई यसरी काव्यमा सगर्व उतार्छन् ः
सबै अभावमा सुस्केरा पोख्छन्
म अभावमा सुसेली हाल्छु
अभाव नबाँचिएको भए मभित्र
बन्ने थिइनँ म कर्मवादी
(अभाव छ र पो जिन्दगी मज्जा छ, पु. ३०)
कवि अस्तफल राष्ट्रियताका पक्षपाती छन् । छिमेकी राष्ट्र भारतले नेपालमाथि थिचोमिचो गर्छ, साँध भत्काउँछ, नाकाबन्दी गर्छ र मनपरीतन्त्र चलाउँछ, तर नेपाल मूकदर्शक भएर हेर्छ भन्ने भावलाई कवितामा यसरी उतार्छन ः
तिमी तेल रोक्छौ
म पानी रोक्न सक्दिनँ
तिमी ग्यास रोक्छौ
म हावा रोक्न सक्दिनँ ।
(ठूल्दाइ, पृ. २९)
सशस्त्र द्वन्द्वका बेला घटित माडी घटनालाई कवि यतिबेला पनि सम्झन्छन् र ती मृतकहरुका नाममा कविता कोर्छन् ः
करोडौँ आँखाहरु ठोकिन्छन् हामीमा
अरबौँ कानहरु सुन्छन् हाम्रा कथाहरु
चौपायाहरु
पटकपटक सुँघ्छन् हामीलाई ।
(बाँदरमुढे, पृ. ५४)
कवि अस्तफललाई एउटै बाटो हिँडेको मन पर्दैन । उनी फरकफरक बाटो हिँड्न मन पराउँछन् । उनी कवितामा फरक स्वाद र फरक भाव दिन चाहन्छन् । यसैले, उनका कवितालाई जीवन दिएका छन् । उनी आफ्नो कवितामा यौनलाई यसरी प्रस्तुत गर्छन ः
मेरा उरोजका जोड र घटाउमा
बारम्बार विद्वता नाप्थे उनीहरु
लिलिपुट देखिन्थे उनीहरु
मेरो सामुद्रिक गहिराइको विशालतामा ।
(अस्तित्व, पृ. ३४)
कवि अस्तफल नारी देहलाई जरासँग तुलना गर्छन् र जराबिम्बमा कविता कोर्छन् ः
बैँसका जराहरु
फुक्छन् बेलुनझैँ
बुढेसकालका जराहरु
शान्त तलाउ लाग्छन् ।
(जराहरु, पृ. ३५–३६)
कविले आश्वासनको खेती गर्ने राजनीतिज्ञहरुलाई व्यङ्ग्य गर्दे कविता यसरी बनाउँछन् ः
आज
जातीयता र क्षेत्रीयताका नाममा उठेका
उन्मादका बन्दुक बिसाउन नसक्दा
निरीह ठान्छ आफूलाई
(ऊ अर्थात् ऊ, पृ. ४०)
आफू शिक्षक भएकाले बेलाबेलामा विद्यार्थीबाट उठेका सरल प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसक्दा भएको पीडाबोधलाई कविले कवितामा यसरी उतारेका छन् ः
लोकतन्त्र के हो सर ?
कस्तो हुन्छ लोकतन्त्र सर ?
अनगिन्ती प्रश्न गर्छन शिष्यहरु
अराजकताको साम्राज्यलाई कसरी लोकतन्त्र भनूँ म ।
(लोकतन्त्र, पृ. ९१)
चुनावका नाममा जनताका घरमा जाने विकासेवादीलाई कविले यसरी व्यङ्ग्य गरेका छन् ः
फेरि गाउँमा
जुर्मुराएको छ विकास
भोकले निदाएका बस्तीहरु
उठेका छन् ।
(चुनाव, पृ. ६२)
कवि अस्तफललाई आफू कवि भएकोमा गर्वबोध छ । उनी कविलाई विशिष्ट ठान्दै यसरी कविता कोर्छन् ः
जो बोल्दैनन् अरुहरु
त्यही बोल्छन् कविहरु
कविहरु त
आधुनिक सञ्जयहरु हुन्
हजारौँ धृतराष्ट्रहरुलाई
सुनाउँछन् महाभारतको वर्णन ।
(कविहरु, पृ. ५५)
कविले आफ्ना केही कवितामा प्रेमका बारेमा केही हरफ खर्चेका छन् । प्रेमलाई आमासँग, बासँग, देशसँग जोड्दै यसको तन्तुलाई प्रेमीसम्म यसरी पु¥याएका छन् ः
त्यहीँ छु म
छोडेर गएकी थियौ जहाँ तिमीले
तिनै बगरका
मसिना गेग्रानहरुमा छु ।
(प्रेममहल, पृ. ५०)
यसरी प्रेम, उदासी, व्यङ्ग्य, मातृत्व, पितृत्व, देशभक्ति, समकालीन चेतना, विकृति, विसङ्गति, द्वन्द्व, निराशा, आशा आदि विविध भाव कविले कवितामा समेटेका छन् । स्थानीय बिम्बको प्रयोगले कवितालाई अझ उत्कर्षमा पु¥याएका छन् । एउटै सङ्ग्रहमा विविध भावका कवितालाई विशृङ्खलित रुपमा प्रस्तुत गरेकाले पाठक पलभरमा खुसी, पलभरमै विद्रोही, क्षणभरमै आशावादी, क्षणभरमै निराशावादी बन्ने निश्चित छ । समसामयिक कविता यात्राको पछिल्लो साक्षीको रुपमा आएको ‘हिउँको आरोहण’ कवितासङ्ग्रह जीवनको आरोहण हो । जसरी जीवनको आरोहण गर्न मानिस उत्सुक रहन्छ तर कठिन छ, त्यस्तै हिउँको आरोहण हरेकको प्रिय आरोहण हो, जसलाई आरोहण गर्न प्रबल इच्छाशक्तिको खाँचो पर्छ । कविलाई नवीन कवितासङ्ग्रहको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना दिँदै कलम रोक्छु ।
कृति : हिउँको आरोहण
विधा : कविता
प्रकाशक : चितवन साहित्य परिषद्
मूल्य : १७५
पृष्ठ : ९६

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment