गृह » नवनिर्वाचित जनप्रतिनिधिलाई चिसापको सम्मान
राजनीति समाचार समाज

नवनिर्वाचित जनप्रतिनिधिलाई चिसापको सम्मान

भरतपुर । स्थानीय तह निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरु तथा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृतलाई चितवन साहित्य परिषद्ले सम्मान गरेको छ ।
परिषद्ले भरतपुर महानगरपालिका वडा नं ३ का नवनिर्वाचित वडा अध्यक्ष चन्द्रमित्र पण्डित, वडा सदस्यहरु इन्दु पण्डित, सुकमाया परियार, भरत लामिछाने, रवीन्द्र गौतम तथा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीलाई स्वागत तथा सम्मान गरेको हो ।
वरिष्ठ निबन्धकार रामबाबु घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं २ को वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष तथा परिषद्का आजिवन सदस्य तिलकराज शर्मालाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशी तथा निर्वाचित प्रतिनिधिहरुले जनतामा गरिएको बाचा अनुरुप आफूूहरु कार्य गर्न प्रतिवद्व रहेको र कला साहित्यको विकास तथा पुस्तकालय विकासको लागि आफूहरु प्रतिबद्व रहेको बताएका थिए ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का सल्लाहकार केदारनाथ खनाल, प्रेम विनोद नन्दन, सचिव बालकृष्ण थपलियाले मन्तव्य राख्दै कविता वाचन गरेका थिए ।
कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गायत्री श्रेष्ठ, सल्लाहकार गोविन्दराज विनोदी, केशवकुमार श्रेष्ठलगायत परिषद् आवद्व साहित्यकारहरु शान्ति शर्मा, गणेश श्रमण, जगन्नाथ पण्डित, श्यामजी अतिथि, अर्जुन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment