गृह » परिषद्मा स्थानीय समस्यादेखि  आज सार्वजनिक बिदाको मागसम्म
राजनीति समाचार समाज

परिषद्मा स्थानीय समस्यादेखि  आज सार्वजनिक बिदाको मागसम्म

भरतपुर । बिगत केही समयअघि चितवनका विभिन्न कार्यक्रममा आज पुस २७ गते अर्थात नेपालको इतिहास कोर्न सफल व्यक्तित्व पृथ्वीनारायण शाहको जन्मजयन्ती परेकोले सार्वजनिक बिदा दिनुपर्ने माग उठ्ने गरेको थियो । जुन विषयले मंगलबार भएको भरतपुरको नगर परिषद्मा पनि चर्चा पाएको छ । तर, देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि यस विषयमा नेपाल सरकारले खासै ध्यान नदिएको भन्दै जिल्लाका केही स्थानीय दलका नेताहरुले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका हुन् ।

भरतपुर उपमहानगरपालिकाको मंगलबार भएको तेस्रो नगर परिषद्मा बोल्ने क्रममा दलका नेताहरुले देशमा राजा फालिँदैमा इतिहास मेटिन नसक्ने भन्दै यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै राप्रपा चितवनका निर्देशन समिति संयोजक बद्री तिमिल्सिनाले पृथ्वी जयन्तीको दिन कुनै पनि हालतमा सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।
‘राजतन्त्रको अन्त्य भयो भन्दैमा इतिहास नै बिर्सने यो कस्तो निर्णय हो रु’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति इंगित गर्दै प्रश्न गरे । शाह वंशको सरकारको अन्त्य भयो भन्दैमा शाह खलकका शालिक तोड्दैमा इतिहास नमेटिने उनको भनाइ थियो ।
यही भनाइलाई समर्थन गर्दै सांसद रामकृष्ण घिमिरेले पनि पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा घोषणा गरिनुपर्ने बताए । जनताको चाहनाअनुसार सरकारले निर्णय गर्नुपर्ने भन्दै सांसद घिमिरेले इतिहास कसैले मेटेर मेट्न नसकिने बताए । यसका लागि मन्त्री परिषद्ले तत्काल निर्णय गर्नुपर्ने उनको भनाइ थियो । साथै नगरवन क्षेत्रलाई व्यवस्थित बनाई वनभित्रै एउटा चिडियाखाना निर्माण गर्न सके चितवनको पर्यटन विकासमा थप टेवा पुग्ने उनको भनाइ थियो ।
सांसद कृष्णभक्त पोखरेलले भरतपुर विमानस्थल र फोहोर व्यवस्थापन नै चितवनको मुख्य समस्या भएकोले यसलाई समाधान गर्नतर्फ सरकारले तदारुकता देखाउनुपर्ने बताए । भरतपुर विमानस्थलकै कारण आसपासका जनताले घरजग्गाको कारोबार गर्न नपाएको भन्दै जनताको समस्या समाधानका लागि विमानस्थलको पश्चिम भागमा रहेको सेनाको व्यारेकलाई अन्यत्र सारेरै भए पनि विमानस्थललाई फराकिलो बनाउनुपर्ने र आसपासका जनतालाई कारोबार गर्न दिनुपर्ने उनले बताए ।
यस्तै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रामपुरमा रहेको कृषि क्याम्पसको अवस्था दिनप्रतिदिन खस्किँदै गएको भन्दै सरकारले यस विषयमा तत्काल ध्यान नपु¥याए क्याम्पस बनद हुने अवस्थामा पुग्न सक्ने भन्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराए । प्रधानमन्त्री दाहाल स्वयम् कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको उपकूलपति भएको भन्दै यही सरकारको कार्यकालमा यो समस्या समाधान गरिदिन पनि उनले आग्रह गरे ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सडक स्तरोन्नतिका कामहरु तीव्र गतीमा हुन नसकेको भन्दै यसलाई गति दिन सरकारलाई आग्रह गरे । जिल्लाको आर्थिक विकासका लागि सडक नै मूख्य भएको भन्दै कृषि बजारको व्यवस्थापनको लागि जिल्लाका सडकहरुको मर्मत सम्भारलाई तीव्रता दिन आवश्यक भएको बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment