गृह » देवघाटको जीर्ण झोलुङ्गे पुललाई सुरक्षित बनाइयो
समाचार समाज

देवघाटको जीर्ण झोलुङ्गे पुललाई सुरक्षित बनाइयो

किशोर खनाल
भरतपुर । पवित्रधाम देवघाटमा लाग्ने माघे संक्रान्ती ९मकर स्नान० मेलालाई ख्याल गर्दै देवघाटको झोलुङ्गे पुललाई सुरक्षित बनाइएको छ । माघे संक्रान्तीका दिन देशविदेशबाट देवघाटमा स्नान गर्न भक्तजनहरुको घुइँचो लाग्छ । देशकै ठूलो मेलामध्ये देवघाटको मेला पनि एक प्रमुख मेला हो ।
‘झोलुङ्गे पुलबाट हुन सक्ने जोखिम नहोस् भनेर पुलका मर्मत गरिएको छ । पुललाई सुरक्षित बनाइएको छ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘भक्तजनहरु पुल चढ्दा कुनै संकोच, डर, त्रास मान्नुपर्दैन । ढुक्क भएर हामी पुल आवातजावत गर्न सक्छौँ ।’
देवघाटको झोलुङ्गे पुल २०३७ सालमा बनाइएको हो । पछिल्लो समय पुल जीर्ण हुँदै गइरहेको छ । मेला लाग्ने बेलामा मात्र पुलको मर्मत गरिन्छ । अघिपछि यसलाई कसैले पनि त्यति धेरै चासो दिएर हेरिएको छैन । गत वर्ष मेलाको बेला पनि पुल मर्मत गरिएको थिएन ।
‘परार साल झोलुङ्गे पुलको मर्मत गरिएको थियो, गत साल गरिएन । अहिले त गर्नैपर्छ नत्र, पुलबाट हुन सक्ने जोखिम बढेर जान्छ भनेर पुलको मर्मत गरिएको हो’ अध्यक्ष पौडेलले भने, ‘पहाडका धेरै झोलुङ्गे पुल चुँडिएका हुनाले यसपटक निक्कै सतर्कता अपनाइएको छ ।’
जिल्ला विकास समिति चितवनले झोलुङ्गे पुलको मर्मत कार्य भइरहेको छ । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा पुल मर्मतको काम भइरहेको छ । करिब ७ जना जिविसका प्राविधिकहरु पुल मर्मतमा खटिएका छन् ।
‘झोलुङ्गे पुलको फुस्कन लागेका नटबल्टुहरु कसिएको छ । कति ठाउँमा नयाँ नटहरु पनि राखिएको छ । नटहरुमा ग्रिजहरु लगाउने काम पनि भएको छ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘मर्मत नगरेको भए जोखिम हुन पनि सक्थ्यो, तर अब सुरक्षित बनाइएको छ ।’
उनका अनुसार पुलमा ठाउँठाउँमा तार जाली भरेर बलियो बनाइएको छ ।
यही २५ गतेबाट झोलुङ्गे पुलको मर्मतको काम थालिएको थियो । प्राविधिकहरुले पुलको मर्मतको काम भोलि बिहीबारसम्म सक्ने लक्ष्य लिएका छन् । देवघाट क्षेत्र विकास समितिका अनुसार पुलमाथि एक सय जनाभन्दा बढी भक्तजनहरुलाई हिँड्न दिइने छैन ।
‘भक्तजनहरुलाई व्यवस्थित तरिकाले लाइनबाट पुल वारपार गर्ने व्यवस्था मिलाइएको छ । बढीमा ८०, धेरै नै भीड भयो भने एक सयभन्दा बढी भक्तजनलाई पुलमा हिँड्न दिइदैन’ अध्यक्ष पौडेलले भने ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment