गृह » मिलिजुली वनमा अख्तियारको छानविन
अर्थ समाचार समाज

मिलिजुली वनमा अख्तियारको छानविन

रत्ननगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रत्ननगर–६ मा रहेको मिलीजुली मध्यवर्ती सामुदायिक वनमा भएको आर्थिक अनियमिता छानबिन सुरू गरेको छ ।
वन उपभोक्ताले आर्थिक अनियमितता भएको भनी उजुरी दिएपछि अख्तिीयारको मकवानपुर कार्यालयले छानबिन सुरू गरेको हो । २०७३ वैशाखमा सम्पन्न वनको ८ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा विभिन्न शीर्षकमा २५ लाख ४५ हजार ८६६ रूपैयाँ समितिको नाममा बेरूजु देखिएको थियो ।
समितिको नाममा मोटो रकम बेरुजु देखिएपछि छानबिनको लागि उपभोक्ताले अख्तियारमा उजुरी दिएका थिए । उजुरी परेपछि अख्तियारले २०७३ मंसिर १६ गते सो वन आर्थिक अनियमिता भए वा नभएको जाँचबुज गरी विवरण पठाउन चितवन राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको थियो । अख्तियारको पत्र आएपछि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयले वनमा हिसाब किताब हेरेर ठीक भएको भनी पत्र पठायो ।
निकुञ्जबाट चित्त बुझ्दो जवाफ नभएपछि अख्तियारले हिसाब सही भए सोही अनुसारको कागजजात पठाउन भनेर २०७३ मंसिर २९ गते चितवन राष्ट्रिय निकुञ्जलाई दोस्रो पत्र काट्यो । अख्तियारबाट दोस्रो पत्र आएपछि निकुञ्ज मिति २०७३ पुस १७ गते २०६४/६५ देखि २०७१/७२ सम्मको आम्दानी, खर्चको बिल भौचर, वनको बैठकको निर्णय, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र कुमाल ताल मछापालन कृषक समूह चितवनको आन्तरिक लेखा प्रतिवेदन पठाउन वनलाई पत्र पठाएको थियो ।
निकुञ्जबाट पत्र आएपछि वनले गत शनिबार बैठक बसेर कागजात निकुञ्जलाई पठाएको छ । सो वनको २३ वटा शीर्षकमा २५ लाख ४५ हजार ८६६ रूपैयाँ वनको नाममा बेरुजु देखिएको थियो । समितिको नाममा मोटा रकम हिनामिना भएपछि वनका लेखा समितिका संयोजक विष्णुहरि देवकोटा संयोजक रहेको सात सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो । छानबिन समितिले हिसाब मिलाउन नसकेपछि केही समयपछि समिति समेत विघटन भएको बुझिएको छ । स्थानीयस्तरमा गठन भएको छानबिन समितिले काम गर्न नसकेपछि अख्तियारमा उजुरी परेको हो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment