कालिका यामाहा कोषको सहयोग

खैहरनी । खैरहनी नगरपालिका कठारका दुई विपन्न समुदायका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सहयोग गरिएको छ ।
कालिका मोटरसाइकल पाटर्सद्वारा सञ्चालित कालिका यामाहा कोषले कठार उच्च माविमा अध्ययनरत दुई छात्रछात्रालाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका कक्षा ५ मा अध्ययनरत विनोद माझी र कक्षा ३ मा अध्ययनरत सन्ध्या चौधरीलाई शैक्षिक सहयोग गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा माझी र चौधरीलाई स्टेशनरी, झोला, पोशाक, जुत्ता, मोजा र स्विटर हस्तान्तरण गरिएको थियो ।
यामाहा कोषका अध्यक्ष उत्तम अधिकारी र एमएडब्लू इन्टरप्राईजेजका कार्यकारी निर्देशक दीपक रौनियारले सो सामग्री हस्तान्तरण गरेका थिए । सोही अवसरमा बोल्दै अध्यक्ष अधिकारीले दुई छात्रछात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च कोषले गर्ने घोषणा गरेका थिए । कालिकाले प्रत्येक मोटरसाइकल र स्कुटरको बिक्रीबाट भएको आम्दानी मध्ये २०० रूपैयाँ कोषमा जम्मा गरेर अनाथ, गरिब, जेहेन्दार र पिछडिएका बालबालिकाको शिक्षाको लागि सहयोग गर्दै आएको छ । यस आर्थिक वर्षमा मात्र पूर्वीचितवनमा रहेको विद्यालयहरूबाट १२ विद्यार्थीहरूलाई कक्षा १२ सम्मको छात्रवृत्ति दिने पनि कोषका अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा खैरहनी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, कठार उच्च माविका अध्यक्ष कारिराम चौधरी, प्रधानाध्यापक कृष्ण घिमिरे, खैरहनी उच्च माविका पूर्वप्रधानाध्यापक घनश्याम प्रधान, खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति अक्षयकोषका अध्यक्ष मुरलीप्रसाद गजुरेल, एमएडब्लू इन्टरप्राइजेजका चिफ म्यानेजर प्रकाशबाबु देवकोटा, कालिका मोटरसाइकल पार्टस्का शाखा सञ्चालक रामचन्द्र कोइरालालगायतले बोलेका थिए । कार्यक्रम मोटरसाइकल पार्टस्का सञ्चालक तथा कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *