‘चितवनको चौतर्फी विकास सरकारको मुख्य प्राथमिकता’ (फोटो फिचरमा चितवन महोत्सव)

दिपेन्द्र/तुलमान/होमनाथ
नारायणगढ । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बताएका छन् ।
सोमबारबाट सुरू भएको ११ औँ चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चितवनको कृषि, पर्यटन र उद्योग व्यवसाय तीव्र गतीमा अग्रसर भएकोले शक्तिखोरमा औँद्योगिक करिडोर निर्माण गर्ने तयारी अघि बढेको जनाए । उनले भने, ‘अबको केही समयभित्रै चितवनलाई औद्योगिक क्षेत्रको रुपमा घोषणा गर्ने योजना बनाएको छु’ जसका लागि कृषिको आधुनिकीकरण गर्ने योजनामा पनि ध्यान केन्द्रित गरेको उनले बताए ।
यसका लागि विद्यमान लोडसेडिङको अन्त्य हुनु पर्ने भन्दै प्रधानमन्त्री दाहालले काठमाडौँमा लोडसेडिङ अन्त्य भइसकेकोले बिस्तारै चितवन पनि लोडसेडिङको समस्याबाट मुक्त हुने बताए । देशमा रहेका खराब तत्वहरु पत्ता लगाई त्यसलाई हटाउन सके हरेक कुराको सम्भव भएको भन्दै उनले भने, ‘अबको एकहप्ताभित्र चितवनलाई पनि लोडसेडिङमुक्त जिल्लाको रुपमा विकास गर्नका लागि उर्जामन्त्रीलाई आवश्यक कार्यका लागि निर्देशन दिइसकेको छु ।’
बढ्दो लोडसेडिङका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको भन्दै प्रधानमन्त्री दाहालले भने, अब विस्तारै नेपालका सबै जिल्लालाई लोडसेडिङ मुक्त बनाई नेपाललाई नै लोडसेडिङ मुक्त देश बनाउनतर्फ ध्यान केन्द्रीत गरेको छु ।’
चितवन जिल्ला कृषिको लागि उर्वर भूमि भए पनि बसोबासका लागि सुरक्षित र सुगम भएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय बढ्दो सहरीकरणले गर्दा चितवन जिल्ला ठूलो सहरको रुपमा विकास हुँदै आएको मैले महसुस गरेको छु ।’
तर, स्थानीय नारायणी, राप्ती, रिउजस्ता नदीका कारण जनताले बर्सेनि नदीजन्य विपद्को सामना गर्न बाध्य भएकोले आवश्यक तटबन्धको व्यवस्थापनका लागि सरकारको ध्यान केन्द्रित भएको उनले आश्वासन दिलाए । ठोरीदेखि केरुङसम्मको बाटो सबैभन्दा छोटो बाटो हुने भएकोले यसलाई पूर्णता दिन सके चितवनको आर्थिक विकासले ठूलो फड्को मार्न सक्ने उनले बताए ।
सहमतिमा संशोधन विधेयक पेस भएको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पेस गर्दा एमाले अध्यक्ष केपी ओलीसँगको एक घण्टाको छलफलपछि भएको सहमति अनुसार नै भएको दाबी गरेका छन् ।
एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने भनी आइतबारको संसद सुरू हुनुभन्दा एक घण्टाअघि सहमति र समझदारी भई टेबल भएको उनले बताए । साथै गृहमन्त्री उपस्थित नभएकाले कानुनमन्त्रीले प्रस्ताव पेस गरेको र विपक्षीलाई झुक्याउने खेल नभएको उनले विचार थियो ।
संसोधन प्रस्ताव सहमति विपरित आएको भन्दै विपक्षी दलले विरोध गरिरहेका बेला सोमबार प्रेस सेन्टर नेपाल चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन् । उनले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रूपमा सबै कुरा मिलिसकेको दाबी गरे ।
‘वैशाखमा स्थानीय तहको निर्वाचन’
प्रधानमन्त्री दाहालले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
पूर्वीचितवनको वीरेन्द्रनगरमा निर्माण गरिएको शहीद स्मृति बाटिकाको अनावरणपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले गृहकार्य गरिरहेको बताए । संसदबाट निर्वाचन विधेयक पारित भएलगतै सरकारले निर्वाचनको मिति तोक्ने उनको भनाइ थियो । स्थानीय निकाय पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदन संसदमा पेश भईसकेको भन्दै उनले अब कुन खालको निर्वाचन गर्ने भन्ने अन्यौल हटेको बताए । अब स्थानीय तहकै निर्वाचन हुन्छ उनले भने आयोगले त्यो अन्यौलता हटाएको छ । उनले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
नेकपा माओवादी केन्द्र चितवनले वीरेन्द्र आदर्श मावि परिसरमा शहीद स्मृति बाटिका निर्माण गरेको हो । विभिन्न आन्दोलनमा शाहदत प्राप्त गरेका १०४ जनाको सम्झनामा बनाइएको बाटिका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार अनावरण गरेका हुन् ।

महोत्सवले रंगियो नारायणी नदी किनार 
नारायणगढ । हरेक दुईदुई वर्षमा उद्योग वाणिज्य संघ चितवनले आयोजना गर्दै आएको चितवन महोत्सवको ११औँ संस्करण सोमबारबाट सुरू भएको छ ।
महोत्सवको उद्घाटन हुनु पूर्व महोत्सव स्थलबाट विभिन्न जनजातिको सांस्कृतिक झाँकीसहित निस्किएको ¥यालीले दियालो रोड, पोखराबसपार्क, शहीदचोक, पुलचोक र मेनरोड हुँदै महोत्सव स्थलमा पुगेर सपापन भएको थियो । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको कृषि (केरा, मह, माछा) र पर्यटन विकासका लागि टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा यस वर्ष करिब ५०० स्टलहरु रहेका छन् । सात विशेष स्टल रहेको महोत्सवको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै आयोजक मूल समारोह समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले चितवन जिल्लामा पेट्रोलियम भण्डारणको व्यवस्था गर्न सके बेलाबेला हुने गरेको पेट्रोलियम पदार्थको समस्या हल हुने बताए ।
नेपालका युवा शक्ति विदेशिने क्रम नरोकिएकोले यसलाई रोक्न नेपालका उद्योग धन्दा तथा कलकारखानाहरु सञ्चालनमा ल्याउनु पर्ने बताए । भावुक हुँदै उनले भने ‘धमाधम नेपालको उद्योग धन्दा तथा कलकारखानाहरु बन्द हुँदै जानु नै नेपाली युवा जनशक्ति विदेश पलायन हुनुको मु्ख्य कारण हो । त्यसैले नेपाली युवा शक्तिलाई विदेश जानबाट रोकिदिनुप¥यो ।’
यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सुस्त अर्थतन्त्रलाई गति दिन बेलाबेला हुँदै आएको मेला महोत्सव फलदायी हुने बताए । जसका लागि उर्जाको परनिर्भरतालाई हटाउनुपर्ने उनले बताए ।
कार्यक्रममा सांसद गीता वाग्लेले देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्राको व्यवस्था गर्न सके यहाँको पर्यटन विकास गर्न सकिने बताइन् । त्यस्तै सांसद रामकृष्ण घिमिरेले भरतपुर–रामपुर–चनौली सडक खण्डको स्तरोन्नतिलाई पूर्णता दिनका लागि आवश्यक अर्थ व्यवस्था गर्नुपर्ने बताए ।
सोही अवसरमा सांसद कृष्णभक्त पोखरेलले नारायणगढ बजारको व्यवस्थापनका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाउन पहल गर्नुपर्ने बताए । भरतपुर विमानस्थल साँघुरो भएको भन्दै विमानस्थलको व्यवस्थापनमा पनि ध्यान पु¥याउनु पर्ने उनको भनाइ छ । कार्यक्रममा जिल्लाका राजनीतिक दलका नेताहरु भने उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *