गृह » न्याय पाउन ढिलाइ दस महिनामा एघारौं पटक पेसी स¥यो
प्रमुख समाचार फोटो

न्याय पाउन ढिलाइ दस महिनामा एघारौं पटक पेसी स¥यो

दिपेन्द्र अधिकारी
भरतपुर । गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या सम्बन्धी मुद्दामा सोमबारका लागि तोकिएको पेसी पुन ११ औं पटक माघ १९ गतेलाई सरेको छ ।
सोमबार अदालतको प्रशासनिक कार्यले गर्दा पेसी सरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । दस वर्षको शसस्त्र द्वन्द्वका घटनाहरुमध्ये अधिकारी हत्यासम्बन्धी घटनालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा मानव अधिकारवादी, पत्रकार, नागरिक समाजलगायतले निकै चासोका साथ लिएका छन् । पेसी सरेपछि मुद्दाको किनारा कहिले लाग्ला भन्ने थप अन्यौलता छाएको छ ।
२०७२ फागुन २७ गतेबाट पेसी सर्दै आएकोमा ०७३ माघ १९ गतेसम्म आइपुग्दा ११ औ पटक पेसी सरेको हो । अदालतका अनुसार ०७३ मंसिर १२ गते इजलास नबसेको, कात्तिक २३ गते इजलास नबसेको, असोज ११ गते बहस नोट पेस गर्ने आदेश भएको थियो ।
त्यस्तै असोज ९ र १० गते हेर्दाहेर्देको अवस्थामा मुद्दा अघि बढेकोमा असोज ११ गते बहस नोट पेस गर्ने आदेश न्यायाधीश टेकनारायण कुँवरबाट भएको थियो । भदौ २६ गते अन्य कारण भनी पेसी हटेकोमा असार २९ गते न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले जिल्ला सरकारी वकिल कार्यालयमार्फत झिकाइ आएपछि वकपत्रका लागि इजलास समक्ष पेस गर्ने भनी आदेश भएको थियो ।
वैशाख २३ गते जाहेरवाला बुझ्ने आदेश भएको थियो भने ०७२ फागुन २७ गते साक्षी वकपत्रको आदेश अदालतबाट भएको थियो । न्यायाधीशहरु टेकनारायण कुँवर, कविप्रसाद न्यौपाने र वासुदेव पौडेलको बेञ्चमा यस मुद्दा परिसकेको छ ।
गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको थियो । चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र वकपत्र लिने काम सकिएकाले असोज ९ मै अन्य कारण नभएमा फैसला हुन सक्ने बताएका थिए ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनसनरत आमा गंगामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग वकपत्र गरेका थिए ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । तत्कालीन माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते कृष्णको अपहरण गरी हत्या गरेका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य बेलायतमा लुकेर रहेको बताइँदै आएको छ ।
हत्या आरोपितमध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिए पनि उनी हालसम्म पक्राउ परेका छैनन् । गोरखा जिल्ला फुजेल ७ बस्ने सीता अधिकारी , छविलाल पौडेल, रामप्रसाद अधिकारी, ‘अजीव’ भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रूद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भन्ने भिष्मराज पौडेल रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतले आरोपितमध्ये छविलाल पौडेललाई गिरफ्तार गरी अनुसन्धान गर्न भने पनि एक वर्षसम्म पक्राउ पर्न सकेका छैनन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment