गृह » हर्टल्याण्ड र क्यापिटल कलेज फाइनलमा
खेलकुद

हर्टल्याण्ड र क्यापिटल कलेज फाइनलमा

भरतपुर । चौथो क्याची एसएसपी कपमा साविक विजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले पाखा लगाउँदै साविक उपविजेता काठमाडौंको हर्टल्याण्ड कलेज फाइनलमा प्रवेश गरेको छ ।
यससँगै हर्टल्याण्डले गतवर्षको फाइनल व्यहोरेको हारको बदला लिन सफल भएको छ । विशाल चोकस्थित नौ बिघा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हर्टल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रनको योगफल तयार पारेको थियोे । हर्टल्याण्डको लागि पदम केसीले सर्वाधिक ४९ रन बनाएका थिए । ५८ बल खेलेका उनले १ छक्का र ४ चौका हिर्काएका थिए । त्यस्तै यज्ञमान कुमालले १९ रन जोडे । बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी, ललित राजवंशी र करन केसीले २÷२ विकेट लिए ।
११२ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको वीरेन्द्र १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर सय रनमा रोकियो । हर्टल्याण्डलाई जिताउन यज्ञमान कुमाल र दिनेश आग्रीले ३/३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका यज्ञमान कुमाल खेलको ‘म्यान अफ द म्याच’ बने ।
यसैगरी सेमिफाइनलको अर्को खेलमा क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै फाइनल प्रवेश गर्यो ।
टस जितेर ब्याटिङ राजेको रामपुरले १९ दशमलव २ ओभरमा अलआउट हुदै ६६ रनमा समेटियो । सम्हालिन नसकेको रामपुरका लागि सनम बुढाथोकीले १६ र अभिनव कुमार यादवले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ ललित सिंह भण्डारीले ४ र दिपेन्द्र ऐरीले २ विकेट लिए ।
६७ रनको झिनो लक्ष्य पछ्याएको क्यापिटल कलेजले ६ ओभरमा ४ विकेट गुमाएर जित निकालेको हो । क्यापिटलको जितमा अमर सिंह रटौलाले १६ रन बनाएका थिए । ९ बल खेलेका उनले १ छक्का र २ चौका प्रहार गरेका हुन् । उत्कृष्ट बलिङ गरेका ललित सिंह भण्डारी खेलका म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै आज नै एक कार्यक्रमकाबिच नेपाली राष्ट्रिय टोलीका विकेट किपर सुवास खकुरेल र पुर्व अन्डर १९ का खेलाडी प्रेम तामाङलाई सम्मान गरिएको थियो । चौथो क्याची शिव पौडेल स्मृति कप २०७३ को फाइनल खेल माघ ६ गते हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सल्टेन्सी हो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment