गृह » जहाज चढेर सुन बेच्न चितवन  ठगीको आरोपमा तीन पक्राउ 
अर्थ प्रमुख समाचार फोटो

जहाज चढेर सुन बेच्न चितवन  ठगीको आरोपमा तीन पक्राउ 

दिपेन्द्र अधिकारी
भरतपुर । दौरासुरूवाल र ढाकाटोपीमा आरोपित देखिएपछि प्रहरी अलमलमा प¥यो । कतै फरक मान्छे त होइन । केही छिनको अन्तरालपछि प्रहरीले शंका लागेको व्यक्तिलाई गिरफ्तार ग¥यो । खाटी नेपाली पोशाकमा देखिएका व्यक्ति थिए झापाका धनपति भट्टराई ।
सुन बेच्ने भन्दै भट्टराई शनिबार चितवन आएका थिए । सुन बेच्ने सम्बन्धमा सबै कारोबार मिलेपछि एक तोला सुन गोजीमा बोकेर उनी काठमाडौंबाट जहाजमार्फत यहाँ आएका थिए । उनको सहयोगीका रुपमा केही दिन पहिले देखि नै चितवनमा दुई व्यक्ति सुन कारोबारमा सक्रिय थिए ।
विगत ४ दिनदेखि रेवा होटल लायन्सचोकमा बस्दै आएका उद्धव पौडेल र लमजुङ् भार्ते होटल पोखरा बसपार्कमा १ महिनाअघिदेखि बस्दै आएका वीरबहादुर तामाङ दुबै जना मिलि आफूहरुसँग सुनको कारोबार गर्ने ठूलो समूह छ भनी बार्गेनिङ गरेको सूचनाका आधारमा चितवन प्रहरीले उनीहरुमाथि निगरानी थालेको थियो ।
प्रहरी स्रोतका अनुसार ९० लाखमा सुनको कारोबार गर्ने पक्कापक्की भएपछि पौडेल र तामाङले बोलाई भट्टराई सुन लिएर चितवन आएका थिए । प्रहरीले सुन कारोबारमा ठगी धन्दा हुन सक्ने भन्दै नियमित अनुसन्धान गरेपछि ठगी आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘हामीले सूचना लिइरहेका थियौं, दुबै पक्ष भेट भई कारोबार गर्ने भनी अन्तिम अवस्थामा पुगेपछि पक्राउ गरेका हौं ।’ उनीहरु विरुद्ध आइतबार नै चितवन अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको प्रमुख थापाले बताए ।
सक्कली १ तोलाको सुनको सिक्का देखाइ विभिन्न व्यक्तिहरुलाई सस्तोमा सक्कली सुन दिने भनी प्रलोभनमा पारी ठगी गर्ने उद्देश्यले उनीहरु चितवनमा सक्रिय रहेको उनले बताए । आफुहरुसँग सुनको पार्टी छ भनी अर्को पक्षसँग पैसामा बार्गेनिङ भई सकेपछि दुबै पक्षबीच कारोबार गर्ने उद्देश्यले भरतपुर उपमहानगरपालिका–१० चौविसकोठीमा भेट भई एकान्त ठाउँमा कारोबार हुँदै छ भन्ने विशेष सुराकीको आधारमा पक्राउ गरिएको एसपी थापाले बताए ।
धनपति भट्टराईसमेतको समूहले अर्को पार्टीलाई एक तोला सक्कली सुन देखाएपछि कोराबार दोस्रो पटक गर्ने गरी एडभान्स पैसा माग्ने वा पहिलो पटक सक्कली सुनको कारोबार गरी पार्टीलाई विश्वास दिलाई दोस्रो पटक नक्कली सुन कारोबार गर्ने गरी ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुनी प्रक्रियामा बढाई थप अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा ३३ किलो सुन बाहिरिएको समाचार आइरहँदा चितवनमा पनि सुनको ठगी धन्दा देखिएको छ ।
यस्तो गिरोहहरुले विभिन्न किसिमको आर्थिक प्रलोभन देखाइ ठगी गरी भाग्न उम्कन सक्ने देखिएको हुँदा यस्ता अपराधिक व्यक्तिबाट सजग रहन र शंकालागेमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना प्रदान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment