भूकम्पले भत्काएका सम्पूर्ण विद्यालय पुनर्निर्माण

किशोर खनाल
भरतपुर । विनाशकारी भूकम्पले भत्काएका चितवन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पुनर्निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालय र विभिन्न गैरसरकारी संघसंस्थाहरुको सहयोगमा विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएको हो ।
भूकम्पले ठूलो क्षति गरेको चितवनका ४१ वटा सामुदायिक विद्यालयको दुई र तीने कोठे भवन निर्माणको काम पूरा भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । ‘भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माणको काम ९९ प्रतिशत सकिएको छ’ जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने, ‘एक प्रतिशतको रुपमा कताकतै निर्माण सम्पन्न गर्न बाँकी रहेमा माघ मसान्तसम्म पढाइ सञ्चालन गर्न मिल्ने गरी काम सक्नेछौँ ।’ उनका अनुसार भूकम्पबाट सामान्य क्षति भएका चितवनका ७४३ विद्यालयको मर्मतको काम पनि पूरा भएको छ ।
जिल्ला शिक्षा कार्यालयले दुई र तीन कोठे भवन निर्माणको काम गत असार मसान्तसम्म सक्नुपर्ने थियो । नाकाबन्दी, बर्साद्लगायतका विविध कारणले दुई र तीन कोठे भवन निर्माणको काममा केही ढिला भएको कार्यालयका सूचना अधिकारी भूमिलाल सुवेदीले जानकारी दिए ।
भूकम्पले चितवनको पहाडी गाविसमा रहेका विद्यालयहरुमा बढी क्षति गरेको थियो । बढी क्षति पुगेका ४१ विद्यालयमध्ये ३५ विद्यालय चितवनको पहाडी गाविसका छन् । देविभन्ज्याङ राप्रावि कालीखोला चण्डीभन्ज्याङका प्रधानाध्यापक गोपी सिलवालले भवन निर्माणको काम पूरा भएको जानकारी दिए । ‘भवन बनाउने काम पूरा सम्पन्न भयो, अब त्यसमा पढाइमात्र सञ्चालन गर्न बाँकी रहेको छ’ उनले भने ।
त्यस्तै, राप्रावि सिद्धि–२ लोतन्तीका प्रधानाध्यापक ज्ञानीमाया बुर्लाकोटीले पनि भूकम्पले भत्केको भवनको पुनर्निर्माण भइसकेको बताइन् । उनले भनिन्, ‘भवन बनाएर पनि हामीले त पढाइ सञ्चालन गरिसक्यौँ ।’ बुर्लाकोटीका अनुसार जिल्ला शिक्षा कार्यालय र नेपाल फरवार्ड संस्थाबाट आएको रकमले भवन बनाउने काम पूरा भएको हो ।
जिल्ला शिक्षा कार्यालयले दुई कोठे भवन बनाउनपर्ने विद्यालयलाई १३ लाख ५० हजार, तीन कोठा बनाउनपर्नेलाई १९ लाख ५० हजार र भूकम्पले सामान्य क्षति गरेको विद्यालयलाई एक लाखको दरले रकम उपलव्ध गराएको कार्यालयका सूचना अधिकारी सुवेदीको भनाइ छ । उनले पहाडी गाविसका प्रायः धेरै स्कुलमा नयाँ भवन बनेको हुँदा त्यहाँको गुणस्तर वृद्धि हुने विश्वास गरेका थिए । ‘भवनले पनि विद्यालयको गुणस्तरमा ठूलो भूमिका खेल्छ’ उनले भने ।
जिल्ला शिक्षा कार्यालयले चार छ र आठ कोठे भवन निर्माणको काम पनि अगाडि बढाइरहेको कार्यालयका सव इन्जिनियर इन्द्र आनन्द चौधरीको भनाइ थियो । चौधरीको भनाइअनुसार काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।
आउँदो असार मसान्तसम्म चार, छ र आठ कोठे भवन पनि बनाइसक्ने जिल्ला शिक्षा कार्यालयले लक्ष्य राखेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताए । भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माणको लागि भनेर शिक्षा विभागले गत वर्ष जिल्ला शिक्षा कार्यालय भरतपुरलाई २४ करोड ५४ लाख बजेट उपलव्ध गराएको थियो । यसपटक विभागले जम्मा २ करोड ८० लाखमात्र उपलव्ध गराएको छ ।
‘जति विद्यालय बनाउनपर्ने हो, त्यो अझै पूरा भएको छैन । अझै बढी विद्यार्थी भएका विद्यालयहरुमा भवन बनाउन बाँकी नै छ । शौचालयहरु बनाउनुछ’ जिल्ला शिक्षा अधिकारी अर्यालले भने, ‘अहिलेको बजेट अत्यन्तै न्यून छ, यो बजेटमा विभागले थप गर्न आवश्यक देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *