राष्ट्रपति रनिङ शिल्डको क्षेत्रिय प्रतियोगिता सुरू

खैरहनी । नवांै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत आइतबारदेखि क्षेत्रीयस्तरका खेलहरु सुरू भएका छन् ।
जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा
भएको क्षेत्र नम्बर १ को क्षेत्रीय खेल खैरहनी उच्च माविमा एक औपचारिक कार्यक्रमबीच जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले उद्घाटन गरेका हुन् ।
जिल्ला शिक्षा अधिकारी अर्यालले प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर सिर्जना हुने बताए । अतिरिक्त क्रियाकलापको जिल्ला शिक्षा कार्यालयले मूल्यांकनसमेत गर्ने भएकाले सक्रिय सहभागिता जनाउन जिशिअ अर्यालले आग्रह गरे । जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले खेलकुदले एकताबद्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी उच्च माविका प्रधानाध्यापक भरतप्रसाद पोखरेल, सचिव रामजी ढकाललगायतले मन्तव्य राखेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबार विभिन्न खेलहरु भएका छन् ।
पुरूष र महिला १५ सय मिटर दौडमा खैरहनी उच्च माविले वर्चस्व जमायो । पुरूष १५ सय मिटर दौडमा खैरहनी उच्च माविका राजन खड्का पहिलो हुँदा खैरहनी उच्च माविकै सुरज यादव दोस्रो भए भने भण्डारा उच्च माविका विवेक थिंङले तेस्रो स्थान हासिल गरेका प्रतियोगिताका संयोजक सुदन दराईले जानकारी दिए ।
महिला १५ सय मिटर दौडमा खैरहनी उच्च माविकी सृजना प्रर्जा, कपिया माविकी कृष्णमाया चौधरी र खैरहनी उच्च माविकी सलिना प्रर्जा क्रमश पहिलो, दोस्रो र तेस्रो भए । आइतबारै भएको पुरुष सटफुटमा वीरेन्द्र उच्च माविका सुनिल तामाङ पहिलो, कपिया माविका विशाल लामा दोस्रो र वीरेन्द्र आदर्श उच्च माविका अर्जुन लामा तेस्रो भए । महिला सटफुटमा गवै माविकी
देवमाया थापा प्रथम, वीरेन्द्र आर्दश माविकी वर्षा कार्की द्वितीय र खैरहनी माविकी स्वस्तिका चौधरीले तेस्रो स्थान हासिल गरेको संयोजक दराईले बताए ।

आइतबार नै लङजम्प, पुरुष तथा महिला १०० मिटर दौड , भलिबल र कवर्दी प्रतियोगिता पनि भएको छ । नौ विद्यालय सहभागी क्षेत्र नम्बर १ को प्रतियोगिता सोमबारसम्म चल्ने छ । क्षेत्रीयस्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रतियोगितामा हुने कराँते, उसु र तेक्वान्दोका खेल भने जिल्लामै हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा टिम प्रथम हुने विद्यालयले नगद ७५ हजार र ट्रफी तथा दोस्रो हुने विद्यालयले नगद ५० हजार र ट्रफी प्राप्त गर्ने आयोजक जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।
पुस २७ र २८ गते क्षेत्र नम्बर २ को भीमोदय मावि पदमपुरमा, क्षेत्र नम्बर ३ को माघ ५ र ६ गते क्याम्पाचौर नारायणगढमा, क्षेत्र नम्बर ४ अन्तर्गत माघ २ र ३ गते चित्रवन नपाको खेल मैदानमा र क्षेत्र नम्बर ५ को खेल माघ ८ र ९ गते जानकी उमावि मेघौलीमा हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामाले जानकारी दिए ।
क्षेत्रीय छनौट भएका खेलाडीको जिल्लास्तरको प्रतियोगिता माघ १२ र १३ गते क्याम्पाचौरमा हुने अध्यक्ष लामाले बताए । सोही दिन कराँते, उसु र तेक्वान्दोतर्फका खेल पनि आयोजना हुने खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *