गृह » पौडेल स्मृति कपमा हर्टल्याण्ड कलेज विजयी
खेलकुद

पौडेल स्मृति कपमा हर्टल्याण्ड कलेज विजयी

भरतपुर । चौथो क्याची शिव पौडेल स्मृति कपमा आइतबार भएको खेलमा काठमाडौँको हर्टल्याण्ड कलेजले बुटवलको वेस्टर्न क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेको छ ।
जितसँगै नेट रनरेटको आधारमा हर्टल्याण्ड समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । विशाल चोकको नौ बिघा मैदानमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको हर्टल्याण्डले ११ दशमलव ४ ओभरमा जित निकाल्यो । सेमिफाइनल प्रवेशका लागि हर्टल्याण्डले १३ दशमलव ३ ओभरमा जित्नैपर्ने दबाबमा थियो ।
हर्टल्याण्डलाई जित दिलाउन दिनेश आग्रीले सर्वाधिक ४० रन बनाएका थिए । २१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै, कप्तान भीम सार्कीले ३५ र अरुण ऐरीले १४ रन जोडे । बलिङतर्फ वेस्टर्नका विष्णु पाण्डेले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ राजेकोे वेस्टर्नले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा रोकियो । वेस्टर्नका लागि रोहित पौडेलले २१, विजय सुनारले १९ र शाहा आलमले १७ रन बनाए । वेस्टर्नलाई कम स्कोरमा समेट्ने क्रममा हर्टल्याण्डका अरूण ऐरीले ४ विकेट लिए ।
अलराउन्ड प्रदर्शन गरेका अरुण ऐरी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । चौथो क्याची शिव पौडेल स्मृति कपमा आज सोमबारको पहिलोे सेमिफाइनल खेलमा कृषि तथा वन विश्वविद्यालय, रामपुर र क्यापिटल कलेज, काठमाडौँको बीचमा पहिलो सेमिफाइनल हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा भरतपुरको ग्रेस वीरेन्द्र र काठमाडौँको हर्टल्याण्ड कलेज आमनेसामने हुनेछन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment