गृह » क्यान्सर अस्पताल सुधार गर्न निर्देशन, डाक्टरलाई निजी क्लिनिक जान रोक
प्रमुख समाचार फोटो

क्यान्सर अस्पताल सुधार गर्न निर्देशन, डाक्टरलाई निजी क्लिनिक जान रोक

–बसन्त पराजुली
भरतपुर । स्वास्थ्य मन्त्रालयलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको व्यवस्थापन सुधारका लागि निर्देशन दिएको छ । मन्त्रालयले अस्पतालमा कार्यरत डाक्टरलाई निजी अस्पताल तथा क्लिनिकहरुमा काम गर्न रोक लगाएको छ । अस्पतालको बिग्रँदो अवस्थाप्रति विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएसँगै मन्त्रालयले पत्र नै लेखेर सुधारका लागि निर्देशन दिएको हो ।
मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले क्यान्सर अस्पताल सञ्चालन समितिका अध्यक्षका नाममा लेखेको पत्रमा बिगँ्रदो अस्पतालको व्यवस्थापकीय पक्ष सुधारका लागि निर्देशन दिएको हो । अस्पतालको सुधारका लागि प्राईभेट प्राटिक्स रोक्ने गरी कानुनी व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
‘अस्पतालसम्बन्धी नियमावलीमा भएको व्यवस्थाअनुरुप उक्त अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अन्य कुनै पनि संस्थामा काम गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा विगतमा सञ्चालक समितिको निर्णयले पूर्वस्वीकृति दिई सबै चिकित्सक र स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा काम गरिरहेको पाइएको हँुदा यस विषयमा नियमावलीमा भएको व्यवस्थाअनुरुप नै पूर्वस्वीकृति दिने सञ्चालक समितिको पूर्वनिर्णय सच्याइ अर्को व्यवस्था नभएसम्मका लागि हाललाई सबै पूर्वस्वीकृतिहरु खारेज गर्ने’, मन्त्रालयको निर्देशन पत्रमा उल्लेख छ ।
पत्रमा अस्पताल समयमै निजी क्षेत्रमा गएर प्राइभेट प्राटिक्स गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरुन्त कारबाही गर्न, लामो समयदेखि रोकिएको कर्मचारीहरुको वृत्ति विकास सुविधामा पुनरावलोकन गर्न पनि पत्रमा निर्देशन दिइएको छ ।
लामो समयदेखि बिदामा बस्ने र अस्पतालमा हाजिर नहुने चिकित्सक तथा स्वाथ्यकर्मीलाई पनि पत्रमा सचेत गराइएको छ । पत्रमा अगाडि भनिएको छ, ‘लामो समय बिदामा बस्ने प्रवृतिको अन्त्य गर्ने, सेवा प्रभावित हुने गरी कुनै पनि चिकित्सक तथा कर्मचारीहरुको काज तथा बिदा स्वीकृत नगर्ने, नगराउने, लामो समय बिदा तथा काजमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको काज बिदा रद्द गरी काममा लगाउने र यससम्बन्धी दुरूस्त अभिलेख मन्त्रालयमा पढाउने ।’
कर्मचारी आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न, विभागीय प्रमुखहरुको जिम्मेवारी तथा कार्य अनिवार्य रुपमा सम्पादनको व्यवस्था मिलाउन सबै पदनामहरुको वस्तुगत कार्य विवरण ‘टिओआर’ मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि अस्पताल सञ्चालक समितिले अस्पतालमा देखिएका कमीकमजोरीलाई सुधार गर्ने पहल गरिरहेको जनाएको छ ।
‘मन्त्रालयको निर्देशनअनुसार नै हामीले तत्काल ‘प्राईभेट प्राटिक्स’ रोक्ने गरी नीतिगत निर्णय लिदैछौँ’, सञ्चालक समितिका अध्यक्ष डा. प्रकाश पौडेलले भने, ‘अस्पतालमा देखिएका कमीकमजोरीलाई विस्तारै सुधार गर्दै लगिने छ ।’
एकजना वरिष्ठ चिकित्सकले प्रोत्साहन भत्ताबापत १९÷२० हजार रूपैयाँसम्म पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन् । अस्पतालको नाम देखाएर बिरामी निजी क्लिनिकमा तान्ने गरेको आरोपसमेत क्यान्सर अस्पतालका चिकित्सकमाथि लाग्ने गरेको छ ।
क्यान्सर अस्पतालकै चिकित्सकको लगानीमा भरतपुरको चौबिसकोठीमा र अस्पतालअगाडि ठूला साना अस्पताल, पोलिक्लिनिक, प्याथोलोजीलगायतका सञ्चालनमा छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment