जघन्य अपराधमा उठबसको सजाय !

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर उपमहानगरपालिका–२१ तथा साविक गीतानगर–७ मा गत पुस २० गते भएको जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँमै मिलाइएको छ ।
घटना गुपचुप रुपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । प्रशासनले घटनासम्बन्धी जानकारी पाएपछि प्रहरी र महिला तथा बालबालिका कार्यालयले गम्भीर चासो जनाएको छ । घटना अहिले अनुसन्धान तहमा आइपुगेको छ ।
गीतानगरका स्थानीय १८ वर्षका मंगल ब्लोनले गत पुस २० गते दिउँसो ४, ५ जना बालबालिका खेलिरहेको ठाउँमा स्थानीय ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले आरोपितलाई पुस २२ गते शुक्रबार गिरफ्तार गरेको छ । गाँउलेले युवालाई सजाय भन्दै सानो कट्टुमात्र लगाउन लगाइ कुखुरा बनाइ उठबस गराएका थिए ।
‘घटनाको आरोपितलाई शुक्रबार नै हामीले गिरफ्तार गरी अनुसन्धान थालेका छौँ, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘घटनाको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौँ ।’ यस घटनामा पीडित पक्षबाट हालसम्म जाहेरी परेको छैन । जाहेरी नपर्नुको कारण गाउँघरको घटना भएको र पीडित डराएको हुनसक्ने प्रहरी प्रमुख थापाले बताए । साथै उनले पीडित पक्षले जाहेरी नदिए पनि प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने बताए ।
घटनाको पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाउने तयारी भएको एसपी थापाले बताए । घटनाबारे चर्चा हुन थालेपछि पीडित परिवारले बालिकालाई अन्यत्रै पठाएको प्रहरीले जनाएको छ ।
४ वर्षअघि पनि आरोपित युवा जबर्जस्ती करणी प्रयासमै गिरफ्तारमा परी मुद्दा चलेकोमा अदालतले तत्कालीन समयमा बालक भनी छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।
चितवनको भरतपुर उपमहानगर क्षेत्रभित्र नै गम्भीर घटना लुकाउनका लागि गरिएको कारबाही निकै लज्जास्पद कार्य भएको मानवअधिकारकर्मीहरुले बताएका छन् ।
विदेश जाने तयारीमा रहेका आरोपित ब्लोनलाई कानुनी कारबाही गर्नुभन्दा उठबस गराउने निर्णय स्थानीयले गरेका थिए । ‘कानुन हातमा लिने अधिकार कसलाई छैन, चितवन प्रहरी प्रमुख थापाले भने, ‘घटनाको सम्बन्धमा छिटोभन्दा छिटो सुक्ष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कारबाही गरिछाड्छु ।’
सजायस्वरुप आरोपित युवालाई उठबस गराइँदै । तस्बिर सौजन्य : सिन्धु ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *