आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड

भरतपुर । नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २४ गते आइतबारबाट सुरु हुने भएको छ । पहिलो खेल क्षेत्र नं १ को खैरहनी मावि खैरहनीमा २४ गते हुने जिल्ला खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पुस २४ र २५ गते क्षेत्र नम्बर १ को खैरहनी मावि, पुस २७ र २८ गते क्षेत्र नं २ को भीमोदय मावि पदमपुरमा, क्षेत्र नं ३ को माघ ५ र ६ गते क्याम्पाचौर नारायणगढमा, क्षेत्र नम्बर ४ अन्तर्गत माघ २ र ३ गते चित्रवन नपाको खेल मैदानमा र क्षेत्र नम्बर ५ को खेल माघ ८ र ९ गते जानकी उमावि मेघौलीमा हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामाले जानकारी दिए ।
क्षेत्रीय छनौट भएका खेलाडीको जिल्लास्तरको प्रतियोगिता माघ १२ र १३ गते क्याम्पाचौरमा हुने अध्यक्ष लामाले बताए । सोही दिन कराँते, उसु र तेक्वान्दोतर्फका खेल पनि आयोजना हुने खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिए ।
गत वर्ष जानकी उमावि मेघौली जिल्लास्तरमा पहिलो भएको थियो । त्यस्तै मध्यमाञ्चल क्षेत्रीयस्तरमा चितवन पहिलो भएको थियो । पुरुष भलिवल, महिला भलिवल र एथलेटिक्समा चितवन पहिलो भएको थियो ।
यसैबीच, हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा चितवनका १३ जना खेलाडी द्वितीय हुन सफल भएको समितिका कोषाध्यक्ष केशव आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *