गृह » वीरेन्द्र र क्यापिटल कलेज सेमिफाइनलमा
खेलकुद

वीरेन्द्र र क्यापिटल कलेज सेमिफाइनलमा

भरतपुर । चौथो क्याची एसएसपी कपमा शुक्रबार भएको दुई खेलमा डिफेन्डिङ च्यापियन ग्रेस वीरेन्द्र र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । जीतसँगै दवै टोली सेमिफाइनल प्रवेश गरेका छन् । क्यापिटल कलेज समूह ‘बी’ र ग्रेस वीरेन्द्र समूह ‘सी’ बिजेता बन्दै सेमिफाइनल पुगेको हो ।
विशालचोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलमा भरतपुरको ग्रेस वीरेन्दले भैरहवाको न्यू होराइजन कलेजलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले १९.५  ओभरमा अलआउट हुदै १ सय १७ रन बनाएको थियो । होराइजनका लागि प्रकाश केसीले सर्वाधिक ३३, सन्दिप सुनारले १५ र गणेश गौडेलले १० रन जोडे । बलिङतर्फ वीरेन्द्रका प्रदीप ऐरी र राजन श्रेष्ठले २/२ विकेट लिए ।
१ सय १८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको ग्रेस वीरेन्द्रले १८.२ ओभरमा ५ विकेट गुमाउदै जित निकाल्यो । वीरेन्द्रलाई जित दिलाउन सुवास खकुरेलले ३५, आरिफ शेखले ३०, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ होराइजनका शक्ति गौचनले २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका आरिफ शेख खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को खेलमा काठमाडौँको क्यापिटल कलेजले भरतपुरको नेपाल पोलिटेक्निक कलेजलाई ८७ रनको फराकिलो अन्तरमा पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको क्यापिटलले विष्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । क्यापिटलको जितमा दीपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए । ३३ बल खेलका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, प्रनित थापाले ३३ र दिलीपनाथले २३ रन जोडे । बलिङतर्फ पोलिटेक्निकका सन्दीप लामिछानेले ३ विकेट लिए ।
१ सय ६६ चुनौतीपुर्ण लक्ष्य पछ्याएको पोलिटेक्निक १६.४ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटियो । पोलिटेक्निकका सुनिल धमला र सन्दिप लामिछानेले १३/१३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ क्यापिटलका कुशल भुर्तेलले ३ विकेट लिए । अर्धशतकीय पारी खेलेका क्यापिटलका दिपेन्द्र ऐरी म्यान अफ द म्याच घोषित भए । चौथो क्याची एसएसपी कपमा शनिबारको एकमात्र खेलमा हेटौँडा सिटी र हर्टल्याण्ड काठमाडौँबीच बिहान १० बजे हुनेछ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment