गृह » शिक्षाको नयाँ शास्त्र : ‘असफल स्कूल’
साहित्य

शिक्षाको नयाँ शास्त्र : ‘असफल स्कूल’

हरि अर्याल
[email protected]
शिक्षा क्षेत्रमा सिकाइसम्बन्धी एउटा भनाइ छ– “म कहिल्यै पढाउन सक्दिनँ, केवल सिक्ने अवस्था दिन सक्छु ।” यो भनाइ जीवनमा अधिकतम सिकाइ गरेको भन्न सकिने महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हो । त्यस्तै, अर्का विद्वान् जोन डेवीले भन्छन्– “यदि सिकाइ केही हो भने त्यो व्यक्तिले आफैँ गर्ने र आफ्नै लागि गर्ने हो, त्यसको सुरूवात आफैँमा हुनुपर्छ ।” यी हुन्, अहिले शिक्षा क्षेत्रमा बढी पढिनेका विचार तर अहिले चलेको सीप सिकाइ र शिक्षित बन्ने प्रक्रियासँग विजातीय छन् । त्यही सन्दर्भमा एउटा पुस्तक हात प¥यो, जसको प्रकाशकीय र अनुवादकको पनि विचार पढेर थाहा लाग्यो कि यो पुस्तक पनि मेरो मनोकूल छ भन्ने । त्यसैको कारण मैले आद्योपान्त त्यसलाई पढेँ र त्यसका १६ अध्यायमध्ये कुेही पटकपटक पढेँ । पुस्तक पढिसकेपछि अनलाइनमा केही खोज गर्दा नेपाली शिक्षाविद्को पनि सकारात्मक टिप्पणी भेटेँ जसले गर्दा यो पुस्तकको सार्थकता बढेको र अझ भन्दा अहिलेको शिक्षा प्रणालीमा केही परिवर्तन आवश्यक भएको कुरा स्पष्ट रुपमा मेरो मनोकूल पाएँ ।
यो पुस्तक लेखहरुको संकलन हो । प्रत्येक लेखहरुले शिक्षा प्रणालीलाई उद्योग बनाएको, बालकलाई प्राकृतिक क्षमता नभएको, बालकको मस्तिष्क खाली भाँडो र यसलाई भर्नुपर्छ भन्ने मान्यताको विरूद्घमा छन् । जस्तोसुकै अवस्थामा पनि मानिस बाँच्नका लागि केही उपायको खोजी गर्छ भन्ने मानवशास्त्री÷समाजशास्त्रीको अचेतन प्रकारको चेतना हुन्छ भन्ने मान्यताले समेत बालक वा मानिस खाली भाँडोजस्तो चाहिँ पक्कै हैन भन्न सकिन्छ । लेखकको यो मान्यतालाई अनुवादक र प्रकाशकले अभिभावक शिक्षाको अभियन्तासमेत भएकाले यो स्वीकार गरेरै यसको नेपाली संस्करण आएको हो । लेखकले मनाउन प्रयोग गरेका प्रमाणहरु अति सामान्य तर विशेष अर्थ राख्ने खालका छन्, जसको मुख्य उद्देश्य नै सिकाइ र शिक्षामा भएको अन्तरको खोज रहेको छ ।
आफैँले चाहेको मात्र हुँदा ठीक लाग्ने यो संसारमा विविधताको महिमा गाउनसमेत कसैको सजातीय नक्कल गर्नुपर्छ भन्छन्, अहिलेका विज्ञानवादीहरु । किनकि, विद्यार्थी वा बालक स्वयं पनि यस धर्तीमा मजस्तै स्वतन्त्र जन्मेको हो भन्न सक्दैनन्, किनकि स्वतन्त्रता कसैले बुझ्नै सकेका रहेनछन् । हामीले जीवनलाई व्यक्तिको विकासलाई भन्दा गुजारालाई मात्र बुझ्दा रहेछौँ । तर, उन्नत यस अर्थमा कि कसैसँग सुविधा कति छ भन्ने मानकमा मात्र । कसैले व्यवस्थापन किन पढ्ने ? भन्यो भने बैंकमा जागिर खानैको लागि हो भन्ने मात्र बुझाइ छ । तर, बैंक नै नहुने अवस्थामा पनि मानिसले सफल बाँचेका पनि होलान् र भविष्यमा पनि त्यस्तो दिन नआउला भन्न सकिँदैन । कसैले बैंक कसरी विस्थापन गर्ने भनेर व्यवस्थापन पढेको भन्यो भने ऊ मूर्ख ठहरिएला, किनकि हामीले जागिर कहाँ खाने ? भन्ने प्रश्नमा प्रश्नवाचक चिन्ह लगाउन सहयोग नगरेको भनेर । जीवनलाई वर्तमानले मात्र गरेको मूल्यांकन अधुरो हुँदोरहेछ भनेर होला, अब पुस्ता–पुस्तामा जाने खालको विकासको खोजी चलेको छ जसलाई हामीले दिगो विकासको नाम पनि दिएका छौँ । पुस्तौँपुस्ताका बारेमा कसैले सोच्यो भने साँच्ची त्यो यस पुस्तकका लेखक जोन हन्टको चेला अवश्य बन्नेछ । किनकि, तार्किकता मात्र भन्दा मार्मिकता भएका उनका लेखले हामीलाई जीवनलाई केवल नाइकेले हिँडाएको बाटोले मात्र पुग्दैन, त्यो अपरिमित छ र सबैले उदार भएर मात्र त्यसलाई बुझ्ने प्रयास गर्न सक्छौँ भन्ने कुरा सिकाएको छ ।
विषयसँग सुहाउँदो सज्जामा आवरण रहेको पुस्तकको शीर्षक अंग्रेजी शब्द “अनएचिभिङ स्कूल”लाई नेपाली अनुवाद गरी “असफल स्कूल” बनाएको व्यहोरालाई आधा मात्र अनुवाद बुझ्नुहुन्न । अंग्रेजी शब्द स्कूललाई हामी विद्यालय भनी बुझ्दछौँ, तर विद्यालय कहिल्यै असफल हुन सक्दैन भन्ने अनुवादकको पनि जिकिर हो र मेरो समेत त्यसमा समर्थन छ । किनकि, जोन हन्टले देखेको समस्या खासमा विद्यालयका होइनन् ।
२०५ पृष्ठको हल्का हाते पुस्तक १६ वटा अध्यायको छ भने प्रकाशकले र अनुवादकले एक–एक लेख लेखी आजभन्दा मात्र ५० वर्षअघिको पुस्तक वर्तमानमै इतिहास हुन रोक्नुपर्नेमा जोड दिएका छन् । अहिलेका मानिसमा सिर्जनशीलताको मह¤व छैन । लेखक भन्छन्, “परम्परागत शिक्षा एउटा अनौठो सोचाइमा आधारित छ, जुन ज्ञान र कुशलताको यस्तो भण्डार हो, जसलाई यो प्रत्येक केटाकेटीसम्म पु¥याउनुछ ।” सामान्य लाग्ने यो वाक्यलाई सबैले समर्थन गर्छन्, तर गहिराइमा पुग्दैनन् । सबै खाले शास्त्रमा ज्ञानको शिखर सकियो, अब त्यसको मर्मतमात्र गर्नु हो जस्तो गरिन्छ । यदि जीवनलाई निर्वाहसँग मात्र जोड्ने हो भने अहिले मौजुदा ज्ञानको भण्डारले साँच्चीकै पुग्छ । तर, के यतिले जीवनका सबै आयामलाई सम्बोधन गर्न सकिन्छ त ? ज्ञानको प्रयोगसमेत गाँस, बास र सासमै मात्र अल्झिएको र सबै खाले आविष्कारसमेत गुणात्मकताभन्दा भोगाइमा मात्र रमाएकाले शिक्षा र सिकाइको सवालमा गम्भीर प्रश्न उठ्न थालेको छ । लेखक भन्छन्– ‘पहिला मानिस आफ्नो कामका निम्ति मेसिन प्रयोग गथ्र्यो तर अहिले मेसिनको हेरचाह मात्र गर्छ ।’ मानिसले ज्ञानको आवश्यकतालाई समेत गलत महसुस गरेको छ भन्ने योभन्दा गतिलो तर्क र उदाहरण अरु खोज्नु जरूरी छैन । समाजशास्त्री जर्ज सिमलले भनेका छन्– “प्रविधिले कृत्रिम आवश्यकता पूरा गर्न अनावश्यक उत्पादन गर्छ र विज्ञानले अनावश्यक ज्ञानको सिर्जना गर्छ ।” अहिलेको ज्ञानको साँच्ची कुनै जरूरी छैन, जस्तो पृथ्वी ध्वस्त होला भनेर चन्द्रमामा बसाइँ सर्नुपर्छ भन्ने तर्क अहिलेको कुनै समस्या निवारणप्रेरित आभास हुँदैन ।
यस पुस्तकका प्रत्येक अध्याय अति नै तार्किक मात्र नभई मार्मिकताले समेत भरिएका छन् । सबैको मनलाग्दो बखान गर्न अध्याय–अध्यायको नयाँ पुस्तक बन्नाउन सकिन्छ । तर, कुनै कुनै अति मन छुने कुरालाई साभार गर्न मन लागेको छ । सबै अध्यायले फरक–फरक शैक्षिक मुद्दाको उठान र त्यसलाई अति अर्थ दिन सक्ने सामान्य उदाहरणबाट बुझाउन खोज्दछन् । त्यो लेखकको गहिराइको बुझाइकै कारण भएको भन्न सकिन्छ । जस्तो ‘भविष्यका लागि शिक्षा’ भन्ने अध्यायमा शान्ति र जातिवादले विश्वलाई समस्यामा पार्ने र त्यो मानिसको लालचको कारण भएको भन्छन् लेखक । फेरि अहिले जुन लालचको कारण पर्यावरणलाई खतरा छ, त्यसैका कारण गरिबी उन्मूलन गर्न पनि मुस्किल छ । यसरी आफ्नो लालचलाई बुझ्न सक्ने शिक्षा खोइ ? गरिबी कम गर्ने भनेर दशकौँदेखि लगानी गरिन्छ, तर विश्वशान्ति र पर्यावरणका लागि अति तुच्छ लालचलाई समेत छाड्न सकिरहेका छैनन् ।
‘परीक्षाको आतंक’ पाठमा उदाहरणसहित पृष्ठ ९७ मा लेखक लेख्छन्– परीक्षाबाट अरुको मस्तिष्क नाप्न सकिँदैन ।’ र, केही मिनेटमै परस्पर विरोधी विचार व्यक्त गरेको मानिसको उदाहरणबाट के भन्दछन् भने “कुरा बुझ्दै जाँदा आफूले आफ्नै कुरा फेर्छु भन्ने थाहा नै थिएन । हामीलाई आफ्नै विचारको त एउटा अशं मात्र थाहा हुन्छ भने अर्काको मस्तिष्कको सोचविचार कसरी मापन गर्न सक्छौँ ?”
विद्यालय सुधारको अति नै आवश्यकता महसुस गरिएको अहिलेको हाम्रो परिवेशमा उनको सुरूको अध्यायको एक वाक्य उद्धृत गर्न मन लाग्यो । उनी भन्छन्– सिद्धान्तकार र सुधारकलाई आजसम्म थाहै छैन, केटाकेटीलाई कुराहरु कस्ता लाग्छन् र त्यहाँ यथार्थमा के हुन्छ ! डेभिड पेजका अनुसार : केटाकेटीहरुले गलत उत्तर दिए भने प्रायः त्यसको अर्थ उनीहरु गलत छन् भन्ने हुँदैन, बरू उनीहरुले अरु कुनै प्रश्नको उत्तर दिइरहेका छन् भन्ने हुन्छ । यो भनाइलाई ठीक बनाउन मात्र होइन, वास्तवमै धेरैपटक प्रश्नै नबुझेर अरु नै हतारो र दबाबले सोधिएको प्रश्नभन्दा अन्य प्रश्नको उत्तर दिने हुन्छन् । शिक्षकको नजरमा गल्ती गरेको भनेर कडा भौतिक सजाय दिएर विद्यार्थीको कला, सिर्जनशीलता खाँदै बसेको अहिलेको शिक्षा प्रणालीलाई योभन्दा अन्य शास्त्रले सकारात्मक दिशा दिन्छ जस्तो लाग्दैन । विद्यार्थीको सिकाइका लागि स्कूलको वातावरण, शिक्षकको भूमिका, सबै अगुवाको भूमिका सही भयो भनेमात्र सबै मानिसले समग्र जीवन र सृष्टि बुझ्ने बन्न सक्छन् र अनन्त समयको आफ्नो कालको खण्डलाई उपयुक्त रुपमा सञ्चालन गरी पुस्ता हस्तान्तरण गर्न सामथ्र्यवान् हुन्छन् । र अन्त्यमा, विद्यार्थीको क्षमता र सीप स्वतन्त्रतामै विकास हुन्छ भन्ने अभिप्रायले आकर्षक शैलीमा भनिएको लेखकको यो एक वाक्य बेजोड छ ः ‘केटाकेटीले कक्षामा हल्ला गर्छन्, किनकि त्यहाँ त्योभन्दा ठूलो कुनै सिर्जना हुन सक्दैन ।’

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment