गृह » फैसला
साहित्य

फैसला

अर्जुनकुमार ढकाल
[email protected]
मामला
मानापाथीको भए
न्याय खोज्न गोरखा पस्थेँ
मामला चिहानको प¥यो ।

त्रिहत्तर वर्षे योद्धा छातीमा
फिरंगीको घातक तोप थाप्ने

सरदार भक्ति थापाको हंस
सबुतै सबुतको ढढ्डा बोकेर
हेगको कचहरीमा
चिहान खोज्न हाजिर छु ।

योर अनर !
ऐरा त अक्टरलोनीसँग खेलेँ
सहयोद्धाका
दायाँ आँखाबाट मुलुकको मायामा
बायाँ आँखाबाट मेरो वियोगमा
तप्पतप्प खसेका आँसुले
खनेका थिए चिहान
चढाएको थियो वैरीले
मेरो शौर्यमा सलामी
हो,
त्यही अद्भुत चिहान
वैरागीले चो¥यो
मेरै हाडखोर बजाएर
सर्प नचाउन्या
मेरै सिरानको तरबार झिकेर
मलाई बार लगाउन्या
मेरो अनादि आजाद छातीमा
वैरागीकै चर्खे झन्डा
जन मन गाउन्या
माई लर्ड !
यो असीम अपमान
म कसरी सहन्या ?
खुँडालाई सोधे हुन्छ
दिउँसो देख्ने जान्ने
घामलाई सोधे हुन्छ
रातमा चिहाउँदै हेर्ने
जूनलाई सोधे हुन्छ
जवाफ एउटै पाउनुहुन्छ–
देउथलमा हक त
सरदार भक्तिकै लाग्छ ।

समरमा पश्चिम निक्लँदा
पुरेर आएको थिएँ
सिंहजस्तो अंशवंशको छोरो
जलाएर आएको थिएँ
सतीघाटमा सुनाखरीजस्ती श्रीमती
भाँचिएका थिए घरका कीला–बला
अँगेनामा झरी बल्थ्यो
छोडी आएको थिएँ टुहुराटुहुरी
ती अनाथलाई
भोक लाग्दो हो
आमा भन्दा हुन्
भोटो फाट्दो हो
बा भन्दा हुन्
गृहशोक
पुत्रशोक
पत्नीशोक
सन्तानशोक
राष्ट्रशोक
शोकैशोकको सिरानीमा
योर अनर !
म कसरी चिहानमा सुत्न्या ?
राबी तरेर
प्यारीको अस्तु सेलाऊँला भन्थेँ
देउथलकै दूनमा पुरिएको छु ।
हिमाल हाँस्न डराउँछ
हिस्सी चोरियो
गुराँस फुल्न धकाउँछ
लाली लुटियो
नदी बग्नै मान्दैन
कलकल खोसियो
मेरो हिमाल हाँस्न
मेरो गुराँस फुल्न
मेरो नदी बग्न
श्रीमान् !
के दिल्ली दरबारकै
इजाजत चाहिन्छ ?

माटाको बाटो त छेक्यो छेक्यो
आकाशको हावा छेक्छ
मनसुनको बादल छेक्छ
उता जंगेखाँबो ढल्दा
यता मेरो करङ प्याट्ट भाँचिन्छ
उता हावा नाकामा फस्दा
यता मेरो दम ह्वात्त बढ्छ
उता बादल पासोमा पर्दा
यता मेरो आँत
समुद्रै सुकाउने प्यासमा हुन्छ
एक ज्यान दुई चिहान
एक मुटु दुई मुलुक
योर अनर !
जगतको कुन विधानमा लेख्या छ ?

घरका चारै सुरमा
टाँसेको छ खुफिया क्यामेरा
झुन्ड्याएको छ
कनसुत्ले रेडियो सिग्नल
शौच जाँदा– किन गइस् ?
मेला झर्दा– किन झरिस् ?
पर्म लाउँदा– किन लाइस् ?
दुःख साट्नै हुन्न छिमेकीसँग
जिब्रामा घोप्ट्याइदिन्छ एसिड
करणीको बात लाग्छ
सहधर्मिणीको सहवासमा
न उठ्दा धर
न बस्दा धर
पाइला पाइलाको चर्चो राख्छ
प्रहर प्रहर
असुरक्षाको साइरन बज्छ धुरीमा

योर अनर !
म त बाघको छोरो
आज
एनाकोन्डाले निल्दै गरेको
मृत्योन्मुख स्यालको छाउरो भाछु
मलाई निर्वाण हैन
प्राण चाहिएको छ ।

माई लर्ड !
कहिले मेची मिचिन्छु
कहिले सुस्तामा शूली चढ्छु
कहिले लिपुलेकमा लुटिन्छु
मेरी प्यारी रारा रानीलाई
राजस्थानको रखेल राख्छु भन्छ
जोगाउनै हम्मे
मेरो बगरको बालुवा
मेरो पँधेराको पानी
मेरी कुमारीको कौमार्य ।

योर अनर !
मामला भगवान्को प¥यो
मैले पाइनँ बुद्धाय नमः भन्न
सम्यक् सम्बुद्ध
देशाटनमा निस्कँदा
प्रत्येक
वर्षावासमा
किन अपहरणमा पर्छन् ?
मलाई भगवान्को
थातथलो चाहियो
मेरा तथागत
लुम्बिनीमा छन् कि लुधियानामा ?
म भगवान् खोज्न
हेग उक्लेको मान्छे ।

मेरो सगरमाथाजत्रै
यो भूमण्डलको सबैभन्दा अग्लो
अदालतको आँगनबाट
म फर्कनुछ नेपाल मण्डल
पिठ्यूँमा आफ्नै चिहान बोकेर
सुन्दै सुन्दै सब्ब पापस्य अकरणम्
कदाचित्
माथ्लो गोलार्धबाट
म मात्र
लुरूलरू एक्लै फर्कनु प¥यो भने
देउथलका दापबाट निस्केलान्
सिरूपाते
मेरो हंसका हातमा पनि
सँधियार साध्ने
धारिलो तरबार होला ।

योर अनर !
त्यतिखेर
हेगको इजलासले
कस्तो फैसला सुनाउला ?

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment