क्रिकेटमा वेस्टर्न र क्यापिटल कलेज विजयी

भरतपुर । भरतपुरमा जारी चौथो क्याची एसएसपी कपमा बिहीबार भएको दुई खेलमा बुटवलको वेस्टर्न क्रिकेट एकेडेमी र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् ।
विशाल चोकको नौ बिघा मैदानमा भएको पहिलो खेलको छिनोफानो सुपर ओभरबाट लगाइएको थियो । ९१ रनको विजय लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ९० रन मात्र बनाउन सक्यो । बुटवलका लागि बिक्रम भुषालले २१ र भुवन पाण्डेले १९ रन बनाए ।
सुपर ओभरमा २० रनको लक्ष्य पछ्याएको हेटौँडा सिटीले ५ रन बनाएपछि १४ रनले पराजित भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हेटौँडा सिटीले निर्धारित १६ ओभरको खेलमा १५.२ ओभरमा ९० रन बनाएको थियो । हेटौँडाका लागि रवि थापाले सर्वाधिक २० रन बनाए । बलिङतर्फ शाहा आलमले ४ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका शाहा आलम खेलको ‘म्यान अफ द म्याच’घोषित भए ।
त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा काठमाडौँको क्यापिटल कलेजले धनगढीको सुदुर पश्चिम एकेडेमीलाई ७८ रनले हराएको छ । समूहको दुबै खेल हारेको धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यापिटलले विष्फोटक ब्याटिङ गर्दै निर्धारित १८ ओभरमा २०४ रनको विशाल योगफल तयार पारेको थियो । क्यापिटलको जितमा दिलीपनाथले सर्वाधिक ८० रन बनाए । ४९ बल खेलका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, प्रनित थापाले ५६ र कुशल भुर्तेलले २५ रन जोडे । बलिङतर्फ धनगढीका महेश अधिकारीले २ विकेट लिए ।
२०४ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले १८ ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । धनगढीका रोशन अधिकारीले २७ र विपिन रावलले २४ रन बनाए । बलिङतर्फ क्यापिटलका अमरसिंह रटौलाले ४ विकेट लिए । अर्धशतकीय पारी खेलेका क्यापिटलका दिलीपनाथ ‘म्यान अफ द म्याच’ घोषित भए ।
चौथो क्याची एसएसपी कपमा आज शुक्रबारको पहिलो खेल न्यू होराइजन क्रिकेट एकेडेमी भैरहवा र ग्रेस वीरेन्द्र भरतपुरबीच हुनेछ । दोस्रो खेलमा काठमाडौँको क्यापिटल कलेज र भरतपुरको नेपाल पोलिटेक्निक कलेज आमनेसामने हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *