गृह » एसएसपी कममा ग्रेस र पोलिटेक्निक विजयी
खेलकुद

एसएसपी कममा ग्रेस र पोलिटेक्निक विजयी

भरतपुर । चौथो क्याची एसएसपी कप २०१७ को बुधबारको भएको दुई खेलमा ग्रेस वीरेन्द्र भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् ।
समूह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्रले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिघा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले घटाएको १५ ओभरमा ८ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । हिमालयनका लागि योगेश बोधले २६, असरुल रेनले ११, केशव अधिकारीले ११ र उमेशचन्द ठकुरीले ११ रन जोडेका थिए । बलिङतर्फ संघर्षले ३ र प्रदिप ऐरीले २ विकेट लिएका थिए । ७९ रनको विजय लक्ष्य पछ्याएको ग्रेस वीरेन्द्रले ८ ओभरमा दुई विकेट गुमाएर जित निकालेको हो । वीरेन्द्रको जितमा प्रदिप ऐरीले अविजित ३७ बनाएका थिए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका हुन् ।
त्यस्तै सोनु तामाङले १९ र मेहबुब अलामले १२ रन जोडेका थिए । अलराउन्ड प्रदर्शन गरेका प्रदिप ऐरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । यसैगरी आज नै भएको अर्को खेलमा भरतपुरको नेपाल पोलिटेक्निक कलेजले धनगढीको सुदुर पश्चिम एकेडेमीलाई ९ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पोलिटेक्निक कलेजले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पारेको हो । पोलिटेक्निकका लागि आकाश थापाले सर्वाधिक ५८ रन बनाएका हुन् । ५४ बल खेलेका उनले एक छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, सुनिल धमलाले १८ र शरद भेसवाकरले ८ रन जोडेका थिए । बलिङतर्फ धनगढीका सुरेन्द्र चन्दले ३ विकेट लिएका हुन् । अर्धशतकीय पारी खेलेका पोलिटेक्निकका आकाश थापा ‘म्यान अफ द म्याच’ बनेका हुन् ।
क्याची एसएसपी कपमा आजको पहिलो खेल नारायणी क्रिकेट एकेडेमी, हेटौंडा र बुटवल ११ बीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सुदुर पश्चिम एकेडेमी, धनगढी र क्यापिटल कलेज अफ रिसर्च सेन्टर, काठमाडौंबीच हुनेछ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment