गुञ्जिए जातीय चेतनाका विद्रोही कविता

–तुलमान गुरूङ
भरतपुर । शनिबार दिउँसो भरतपुर उप–महानगरपालिकाको सभाहल कवितामय बन्यो । पुसको चिसो वातावरणमा चितवनका साहित्याअनुरागीहरुले विद्रोहका कवितामार्फत वातावरण तातो भएको महसुस गरे । कार्यक्रममा प्रमुख आकर्षण भने कवि केवल बिनाबी थिए ।
उनलाई यो अवसर भने प्रगतिशील लेखक संघ चितवनले जुराएको हो । उनको कविता सुन्नका लागि चितवनका साहित्यानुरागीहरु आतुर देखिन्थे । एकल कविता वाचनका लागि राजधानीबाट चितवन आएका कवि बिनाबीले पनि मञ्चमा उक्लिएपछि कविता करिब दर्जनभन्दा बढी कविताहरु सुनाए ।
जीवनको उत्तरार्धमा
आज झल्झली सम्झिरहेछु
आफैँले तुनेका हाजारौँ हजार झण्डाहरु झण्डाभित्रका
हजारौँ हजार झण्डाहरु।।।।।।
उनले ‘झण्डाको खेती’ शीर्षकमा लेखेको जातीय चेतनाका विद्रोही यी हरफहरुबाट कविता सुनाउन सुरू गरे । कविता सुन्नका लागि एलबी क्षेत्री, भूपिन खड्का, उदय अधिकारी, धनराज गिरी, बालकृष्ण थपलिया, सुरेन्द्र अस्तफललगायतका साहित्यकारहरु उपस्थित थिए ।
त्यसपछि ‘यादहरुको संग्रहालय’, ‘बर्जित धर्ती’, ‘कन्यादान’, ‘कुमारी आमा र सपनाहरु’, ‘शुद्र र सम्बुक’, ‘तिमीजस्तो हरामी को छ’, ‘फेरि एक आँधी’, ‘अधुरो सपना’, ‘तिमी र म’, ‘छोइडुम’ लगायत दर्जनभन्दा बढी कविता सुनाउन भ्याए । शनिबारको दिन सरकारी कार्यालय बन्द रहे पनि बिनाबीको एकल कविता वाचन कार्यक्रमले गर्दा कार्यालय खुल्लै छ की भन्ने बनाएको थियो ।
पश्चिमको बझाङ स्थायी घर भई हाल राजधानीमा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएका ‘केवल दर्जी’ अर्थात ‘केवल बिनाबी’ले सुनाएका सबै कविताहरु जातीय भेदभाव र समाजमा मौलाएको विकृति विसंगति विरुद्धका आवाज थिए । ‘यस्तै यस्तै विभेदलाई न्यूनीकरण गर्नका लागि पनि म विद्रोही कविताहरु बढी कोर्ने प्रयास गर्छु,’ बिनाबी भन्दै थिए, ‘जसले जातीय, वर्गीय, लैङ्गिक, भौगोलिकलगायतका कारण कसैले कसैलाई विभेद गर्छ भने त्यसको अन्त्य हुनु जरूरी छ ।’
साहित्यको अलवा राजधानीमै बसेर शिक्षण व्यवसायमा आवद्ध बिनाबीको कविता सुन्नका लागि चितवनका साहित्यकारहरु टिकट काटेरै हल प्रवेश गरेका थिए । ‘बिनाबीका कविताहरुमा विकृति र विसंगति विरुद्धका आवाजहरु गुञ्जिने हुँदा उनलाई विद्रोही कविभन्दा कत्ति पनि फरक पर्दैन’ साहित्यकार उदय अधिकारी भन्दै थिए, ‘जसले नेपाली कवितालाई सशक्त बनाएको छ ।’ कार्यक्रममा कवितामाथि समीक्षात्मक टिप्पणी गर्दै उनले भने, ‘बिनाबीको कवितामा मानवतावादीका साथै चेतनशील चिन्तनका स्वरहरु पाइन्छ ।’
जातीयताको आधारमा भइरहेका विभेदलाई अन्त्य गर्नका लागि पनि कविताले बिनाबीको कविताले महत्वपूर्ण भूमिका खेल्ने साहित्यकार अधिकारीको बुझाइ छ । कवितामार्फत समाज सुधारमा लागेको भन्दै अधिकारीले भने, ‘बिनाबीको कविताले सबै विकृति विसंगति हटाएर मात्र मानव बाँकी रहनुपर्छ भन्ने सन्देश दिएको छ ।’ यसअघि कार्यक्रमको स्वागत मन्तव्य दिँदै संघकी कार्यसमिति सदस्य करुणा देवकोटाले नेपाली साहित्यलाई व्यवसायिकरुपमा अगाडि बढाउनका लागि टिकटमा कार्यक्रम आयोजना गरिएको बताइन् । संस्थाका अध्यक्ष सुमनराज श्रेष्ठले नेपाली साहित्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनहरुमा पनि साहित्य सिर्जना र संरक्षण सम्बद्र्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्दै जाने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *