गृह » रेमिट्यान्स होइन, उत्पादनमा जोड दिऔं
प्रमुख समाचार फोटो

रेमिट्यान्स होइन, उत्पादनमा जोड दिऔं

दिपेन्द्र अधिकारी
नारायणगढ । विज्ञहरुको एक समूहले उत्पादनमा वृद्धि नभएसम्म देश विकास नहुने बताएका छन् ।
चितवनमा पछिल्लो समय उर्वर भूमि प्लटिङको रुपमा विकास भएकोमा चिन्ता व्यक्त गर्दै विज्ञहरुले यसले उत्पादनलाई प्रत्यक्ष असर पारेको भन्दै विरोध गरे । रेमिट्यान्सले कुनै पनि बेला देशको अर्थतन्त्र डामाडोल पार्न सक्नेतर्फ सचेत हुन राज्यलाई आग्रह गरे । अहिले नेपालको अर्थतन्त्रको २९ प्रतिशत रेमिट्यान्सले धानेको छ ।
उत्पादन क्षेत्रको पहिचान, सम्भावित उत्पादन हुने वस्तुको छनौट, अनुसन्धान, सीप विकास, आवश्यक औजार र मानव स्रोत भएमा उत्पादनमा वृद्धि गरी देशलाई नयाँ ढंगले अगाडि बढाउन सकिने तर्क गरेका हुन् ।
उद्योग वाणिज्य संघ चितवनमा शनिबार चितवन शान्ति समाजको आयोजनामा भएको उत्पादन वृद्धिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. सुन्दरमणि दिक्षितले उत्पादनमा जोड नदिएसम्म विकासशील देशको परिकल्पना गर्नु ठीक नहुने बताए । ‘हामीकहाँ मजुदर छैनन्, उद्योग पनि छैन, केवल राजनीति छ, त्यो पनि बेकामको राजनीति’, प्रमुख अतिथि दिक्षितले भने, ‘चितवनमा राजा महेन्द्रले विकासका लागि पहल गरेका थिए, तर सफल भएन ।’
श्रमशक्ति पलायन हुँदा उत्पादनमा गिरावट आउनुका साथै उत्पादित वस्तुका लागि बजारको अभाव हुनाले समस्या भएको डा. दिक्षितले बताए ।
कार्यक्रममा ‘चितवनमा उत्पादन वृद्धि सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. तीलचन्द्र भट्टराईले देशका भूगोल विशेषता अनुसार वस्तु उत्पादनमा जोड दिनुपर्ने बताए । चितवनमा पोल्ट्रीको विकास भने सँगै अन्य भूगोलमा पनि पूर्वदेखि पश्चिमसम्म उत्पादन पहिचान गरी उत्पादनमा जोड दिनुपर्ने डा. भट्टराईले बताए । भूखण्डीकरण, श्रमको पलायन र राज्यको भूउपयोग नीति ठीक नहुँदा उत्पादनमा क्रमश ह्रास आएको समेत डा. भट्टराईले बताए ।
शिक्षा, अनुसन्धान र विस्तारमा जोड दिएमा मात्र उत्पादन भने जस्तो हुने भन्दै डा. भट्टराईले राज्यले उपयुक्त नीति अवलम्बन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । चितवनको पहाडी भूगाोलमा कुरिलो, सुन्तला, कागती, तरूल, चिउरीको उत्पादनमा जोड दिई आम मानिसको जीवन सम्बृद्ध बनाउन सकिने उनले बताए ।
कार्यक्रममा आफ्नो विचार राख्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयकी डिन डा. शारदा थपलियाले उत्पादन र निर्यात भएमात्र देश आर्थिक रुपमा सम्बृद्ध हुने बताइन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्योगी व्यवसायी व्यापारमा मात्र नभएर स्रोतको पहिचान तथा उत्पादनमा लाग्न प्रयास गरिरहे पनि राज्यले उचित वातावरण सृजना नगर्दा समस्या भएको बताए । साथै उनले वस्तु उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकेमा देशको जीडीपीमा उल्लेखनीय योगदान पुग्नेमा विश्वास व्यक्त गरे ।
चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले रेमिट्यान्स नेपाली अर्थतन्त्रको सवालमा हानीकारक भएको तर्क गरे । चितवन शान्ति समाजका अध्यक्ष डा. लीलानाथ सुवेदीले राजनीतिक अवस्था ठीक नहुनाले वस्तु उत्पादनमा समस्या भएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा अनुभव हासिल गरिसकेका व्यक्तहरुको उपस्थिति रहेको थियो । कार्यक्रम चितवन शान्ति समाजका सल्लाहकार रेशमलाल पौडेलको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment