प्रचण्ड सरकारको तीनमहिने कार्यकाल , सरकारको आश्वासन बढी, उपलब्धि शून्य

–तुलमान गुरूङ
नारायणगढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकार बनेको गत शुक्रबार तीन महिना पूरा भएको छ । प्रचण्डले सत्तारोहण गरेको तीन महिनासम्म पनि जनताले भने कुनै पनि परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
सरकारले जनताप्रति खासै सन्तोषजनक प्रगति हासिल गर्न नसकेपछि वर्तमान सरकारप्रति नेपाली जनता सन्तुष्ट छैनन् भन्ने प्रष्ट भएको छ । जनताले वर्तमान सरकारबाट पनि कुनै नयाँ खालको आशा गर्नु व्यर्थ रहेको महशुस गरेका छन् ।
देशमा जुनसुकै सरकार आए पनि फरक अनुभव गर्न नपाएको बताउँछन्, कलाकार एवम् निर्माता बीरबल घले । गोरखा सिर्दिवास स्थायी घर भएका उनले आफैँ पनि भूकम्पपीडित भएकोले सरकारले भूकम्प प्रभावित क्षेत्रमा खासै उपलब्धिमूलक काम नगरेको बताए । गुरूङ संस्कृतिमा आधारित चलचित्रको प्रदर्शनका लागि चितवन आएका उनी जुनसुकै दलका नेता पनि खाली कुर्सीका लागि मात्रै सत्तामा जाने गरेको बताउँछन् । आफैँ पनि भूकम्पबाट प्रभावित उनले अहिलेसम्म सरकारी राहतको महशुस गर्न पाएका छैनन् । ‘गाउँले अझै पनि त्रिपालमुनि बसिरहेका छन्, उनले भने,’ नेताहरुबाट जनता ढाँट्नेबाहेक कुनै पनि काम हुन सकेको छैन ।’
यस्तै वर्तमान सरकार सुस्त गतिमा चलिरहेको बताउँछन्, कवि द्वारिका नेपाल । उनी भन्छन्, ‘संविधान निर्माण भएको वर्ष दिन बितिसक्दासम्म पनि संशोधनको प्रक्रिया सुरू नै गर्न सकेको छैन ।’ जसले गर्दा पनि राष्ट्रियता खस्किएको महशुस भएको उनले बताए । छिमेकी मुलुक भारतप्रति आशक्त देखिएको उनको आरोप छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नौ महिनाको आलोपालो गर्ने भनी भद्र सहमतिपछि बनेको प्रधानमन्त्रीले अबको ६ महिनाभित्र के गर्न सक्लान् र भनेर सबैतिर प्रश्न उब्जिरहेको छ । देशका गरिब जनताले महंगीको मारबाट छुटकारा पाइसकेका छैनन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका टेक्नोलोजिस्ट प्रदीप मिश्र भन्छन्, ‘जुनै सरकार आए पनि जनताले महंगीको मार खेप्न बाध्य छन् ।’ उदाहरण दिँदै उनले भने, ‘वीरगञ्ज भन्सारबाट नजिकै पर्ने भारतको रक्सौल र यहीँ नारायणगढको सामानको मूल्य हामीले दोब्बर तेब्बर बढी तिर्नुपर्छ ।’
एक किलो स्याउमै लगभग एक सय रूपैयाँभन्दा बढीको फरक पर्ने उनले बताए । ‘त्यसैले नेपालको सरकार व्यापारीको सरकार भइसक्यो,’ उनले भने, ‘जसले गर्दा देशमा जुन सरकार आए पनि कालोबजारीलाई नियन्त्रणमा ल्याउन सकेको छैन ।’
तर, मधेस आन्दोलन, भारतको नाकाबन्दीलगायतको चरम पीडा भोग्न बाध्य भएका नेपाली जनताले अहिले भने त्यस्ता समस्याबाट गुज्रिन नपरेको बताउँछन् अर्का टेक्नोलोजिष्ट आदित्यनाथ झा । उनी भन्छन्, ‘अहिले नेपालमा शान्ति छाएको छ । विशेषगरी सवारी साधनमा भएको मनपरी नियन्त्रणमा आएको छ ।’
अर्कोतर्फ वर्तमान सरकारबाट पनि नेपाली जनताले खासै परिवर्तन नपाएको पत्रकार अनिल ढकाल बताउँछन् । उनी भन्छन्, ‘अहिलेको सरकारका लागि तीन महिना, ५ महिना भन्नेमा खासै फरक छैन ।’ जनताले आश गरेअनुसारको कुनै पनि परिणाम नआएको उनको बुझाइ छ ।
‘सरकारमा भएका दलले समर्थन जनाउने र विपक्षमा भएका दलले आरोप लगाउनेभन्दा अरु केही भएको छैन,’ उनले भने । नेतालाई मन्त्रीको भागबन्डा पु¥याउनका लागि मात्रै सरकार बनेको उनले बताए ।
यस्तै नारायणगढका कम्प्युटर व्यवसायी टेकलाल भुसाल पनि वर्तमान सरकारबाट जनता खुसी नभएको बताउँछन् । उनी भन्छन्, ‘देशमा जुनै दलले सरकारको नेतृत्व गरेका छन्, उनका सहयोगी त पक्कै पनि खुसी होलान्, तर अरु जनता खुसी हुने दिनै आएन ।’ अहिलेको सरकार चार मानाको कुरो गर्ने, आठ मानो खाने र त्यसको एक अंश पनि काम गर्न नसक्ने उनले आरोप लगाए ।
जनताका लागि यो गर्छु र त्यो गर्छु भनेर ठूला भाषण गर्नुभन्दा काम गरेर देखाउनु मह¤वपूर्ण कुरा भएको बताउँछिन्, गुञ्जनगरकी इन्दिरा ढकाल । ‘भन्न त जुन सरकार आए पनि यो गर्छु र त्यो गर्छु भन्छन् नि १ तर काम गर्ने होइन के रे,’ उनले भनिन् । कुनै पनि नेताले बोल्दैमा नेपाली जनताले खुसी मान्नुपर्ने अवस्था नरहेको उनी बताउँछिन् । हुन त नेपालमा गर्न सक्नेलाई पनि गर्न नदिने प्रवृत्ति छ,’ उनी भन्छिन्, ‘त्यसैले राम्रा, गर्न सक्ने क्षमता भएका नेताहरु पनि चुकिरहेका छन् ।’
यस्तै पश्चिम चितवनको रामपुर निवासी कवि तथा पुराना पत्रकार रेशम विरही भन्छन्, ‘नेपालमा नयाँ संविधान जारी भएपछि र यसको कार्यान्वयनकै सन्दर्भमा एउटा निश्चित मूल्य मान्यमान्यतामा गठित सरकार अपदस्थ गरी अस्वभाविक गठबन्धनमा बनेको यो सरकारको पालामा राष्ट्रिय स्वाधीनता नै गौण हुन गयो ।’ यो सरकारको तीनमहिने कार्यकालको उपलब्धिको खास अंक देखिँदैन । भारतसँगको २५ बुँदे सम्झौता तथा संविधानको समर्थनमा समेत असफल नै यो सरकारको उपलब्धि प्रमुख रुपमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *