गृह » तीन महिनामा ७५ करोड रेमिट्यान्स कारोबार
अर्थ प्रवासको खबर समाचार समाज

तीन महिनामा ७५ करोड रेमिट्यान्स कारोबार

धादिङ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । धादिङ जिल्लामा पनि वैदेशिक रोजगारी जानेहरुको संख्या निकै रहेको छ ।
विभिन्न माध्यममार्फत् विदेश पुगेकाहरुबाट गएको तीन महिनामा ७५ करोड रेमिट्यान्सको कारोबार भएको छ । धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेशनल प्रालिका प्रबन्धक रामचन्द्र गिरीका अनुसार यस आर्थिक वर्ष २०७३÷०७४ को साउन महिनादेखि हालसम्म ७५ करोडको हाराहारीमा रेमिट्यान्सको कारोबार गरेको छ ।
हरेक वर्षको दसैँसँगै धादिङमा रेमिट्यान्सको कारोबारमा वृद्धि हुने गरेको छ । जिल्लाका सबैजसो बैंक तथा वित्तिय संस्था र निजी कम्पनीहरुबाट बाह्य र आन्तरिक रेमिट्यान्सको कारोबार बढेको हो । अघिल्लो वर्ष २०७२÷०७३ मा बाह्य रेमिट्यान्सतर्फ १ अर्ब ५२ करोड ३४ लाख ५१ हजार ५२५ रूपैयाँ र आन्तरिकतर्फ ४८ करोड ११ लाख ७७ हजार ४५३ रूपैयाँ गरी जम्मा २ अर्ब ४६ लाख २८ हजार ९७८ रूपैयाँ रेमिट्यान्सको कारोबार भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष ०७१/७२ मा जम्मा २ अर्ब १ करोड ११ लाख ५४ हजार ७८७ रूपैयाँबराबर रेमिट्यान्सको कारोबार भएको थियो । जसअन्तर्गत १ अर्ब ५६ करोड ५७ हजार ३१६ रूपैयाँ र आन्तरिकतर्फ ४५ करोड १० लाख ९७ हजार ४७१ रहेको छ ।
दसैँ सुरू हुनु केही दिनअगाडि दिनमा ४ करोड रूपैयाँसम्म रेमिट्यान्स भुक्तानी भएको थियो । अघिल्ला आर्थिक वर्षको दसैँ तिहारमा भन्दा यो वर्ष भने कम मात्रामै रेमिट्यान्सको कारोबार भएको गिरीले बताए ।
विदेशमा रहेका नेपालीहरुले खासगरी विभिन्न एजेन्सीमार्फत् रकम पठाउने गर्दछन् । मलेसिया, साउदी, कतार, बहराइन, दुवई, अमेरिका, जापान, लन्डन, कुवेत, इराक, अफगानिस्तानलगायतका देशहरुबाट रेमिट्यान्स आउने गरेको छ । यी देशहरुमध्ये सबैभन्दा बढी मलेसिया, साउदी, कतार, बहराइन, दुवईजस्ता खाडी मुलुकहरुबाट ८५ प्रतिशत रेमिट्यान्स भित्रिने गिरीले बताए ।
विदेशबाट रकम पठाउँदा विशेषगरी आइएमई, प्रभु, वेस्टर्न युनियन, सिद्धार्थ, सिटी एक्सप्रेस, पृथ्वी एक्सप्रेस, सेवा मनि ट्रान्सफर, सूर्यदयो रेमिट प्रयोगमा आइरहेको छ । यसरी पाएको रकमले कोहीले घर परिवारमा खर्च, विदेश जाँदा लागेको ऋण तिर्ने पनि गरेको छ भने कसैले उपभोग्य सामानहरु खरिद, मनोरञ्जनका साधनहरु (टेलिभिजन, मोबाइल, ल्यापटप, कम्प्यूटर) र गरगहनामा खर्च गर्ने गर्दछ । कसैले उत्पादनमूलक कार्यमा पनि खर्च गरेको पाइन्छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment