गृह » मलेसियामा दुर्घटना : ‘जिउँदो लासजस्तै भएँ’ 
प्रवासको खबर समाचार समाज

मलेसियामा दुर्घटना : ‘जिउँदो लासजस्तै भएँ’ 

रामकुमार श्रेष्ठ
नवलपरासी । पैसा कमाउन विदेशिएको परिवारको एक्लो छोरो जिउँदो लास बनेर फर्किएपछि नवलपरासीको धौवादीमा उनको परिवार अहिले बिचल्लीमा परेको छ ।
नवलपरासीको धौवादी २ जुकेपानी निवासी २७ वर्षका खेमवहादुर घर्ती विगत डेढ वर्षअघि मलेसियामा बाटोमा हिँड्दै गर्दा दुर्घटनामा परेपछि जिउँदो लास सरह भएर घर फर्किएका हुन् । अहिले उनी डेढ वर्षदेखि विस्तारालाई संसार मान्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई खाना, उठ्न, बस्ने, दिशापिसाव गर्न पनि अरुको सहारा लिनु पर्छ ।
बुढेसकालमा बुबाआमाको सहारा र केटाकेटीको उज्ज्वल भविष्यको सपना बुनेर विदेसिएका उनी दुई वर्ष पुग्दा नपुग्दै सवारी दुर्घटनामा परे । तरकारी किन्न जाँदा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । हातखुट्टा केही चल्दैन । ठक्कर दिएको ठाउँमा लागेको घाउ अझ निको हुन सकेको छैन ।
बोल्नमात्र सक्ने उनी दिनभर ओछ्यानमा बस्ने र विगतका दिन सम्झदै दिन काट्ने गर्दछन् । दुर्घटनाका कारण उनलाई प्यारालाइसिस भएपछि उनी अहिले कष्टकर जीवन जिउन बाध्य बनेका हुन् ।
उनी सानो झुपडीमा खाटमाथि मुडो लडेझै लडिरहेको डेढ वर्ष बिते पनि कहीँकतै उपचार गरेर निको हुन्छ कि भन्ने आश उनकोे परिवारमा हटेको छैन । विदेश गएर धेरै पैसा कमाउँला, घरपरिवार चलाउँला, ऐलानी जग्गालाई आफ्नो बनाउँला, छोराछोरीलाई राम्रो स्कूलमा पढाउँला भन्ने सपना बोकेर विदेश हानिएका खेमबहादुरको सपना अहिले सबै चकानाचुर भएको छ । उनी अहिले अरुको सहाराबिना हिँडडुल गर्न त परै जाओस् एक गास खाना पनि नसक्ने भएका छन् ।
घरको एउटै छोरो वृद्ध बाबु आमा, श्रीमती र दुई छोराछोरीको जिम्मेवारी सबै उनकै काँधमा थियो तर, अहिले उनी अरुको सहारामा जीवन बिताउन बाध्य भएका छन् ।
मलेसियाको एक कम्पनीमा सेक्युरेटी गार्डको काममा गएका घर्तीलाई आफूले काम गरेको कम्पनीको नाम पनि थाहा छैन । दुर्घटनामा परेपछि उनी एक महिना ३ दिनसम्म मलेसियाकै एक अस्पतालमा उपचार गरेर बसे । तर, उनको हातखुट्टा, शरीर चल्दै चलेन । पैसा पनि धेरै खर्च गरे, निको नभएपछि उनी घर फर्किएका हुन् ।
त्यहाँ रहेका उनका भिनाजु, जेठान र साथीहरुले केही उपचार खर्च दिएका थिए, घरबाट समेत ऋण काढेर उपचारका लागि रकम पठाएका थिए । उनलाई घरसम्म ल्याउनका लागि कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले सहयोग गरेको थियो ।
मलेसियामा मात्रै औषधी उपचारमा ५ लाख रुपैयाँ खर्च भएको घर्तीले बताए । कम्पनीबाट उपचारका लागि कुनै पनि सहयोग भएन । नेपाल आएपछि पनि उपचारका लागी धेरै अस्पतालमा पुगे पनि निको भने हुन सकेन ।
‘काठमाडाँैका विर अस्पताल, टिचिङ अस्पतालसहित सातआठ वटा अस्पतालमा उपचारका लागी गएँ तर जहाँ गए पनि हातखुट्टा चल्दैन जिउँदो लासझंै भएर बस्नुपरेको छ । एउटै छोरो, बाआमा बूढा छन् आफूले कमाएर खुवाउनुपर्ने ठाउमा उल्टै ऋण लगाएर बस्नु परेछ नेपालमा मात्रै उपचार गराउँदा ६ लाख रुपैयाँ सकियो’ घर्तीले भने ।
उपचारका लागि १ कठ्ठा जग्गासमेत बेचेको घर्तीले बताए । ‘उपचार खर्चलाई १ कठ्ठा जग्गा बेचें । अझै ७ लाख ऋण छ, कसरी तिर्ने हो थाहा छैन दाजुभाइ छैनन्, छोराछोरी सानो छ, कसले कमाएर तिर्ने हो ?’ घर्तीले भने ।
विदेश जाँदा उनले प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा बिमा गरेका थिए तर बिमा कम्पनीले बिमा रकम नदिएको घर्तीको गुनासो छ ।
‘बिमाबाट पैसा आउँछ भन्ने आशमा ऋण काढेर उपचार गरेको अन्तिममा आएर पैसा नै दिएन । कागजपत्र बनाउनलाई तीन चार पटक कम्पनीमा बोलायो । एम्बुलेन्स बोलाएर खर्च गरि गएँ । एक पटक घरमा नै बुझ्न आएका थिए । कागजपत्र बन्दैछ दुई चार दिनमा पैसा आउँछ भनेर आश देखायो तर, दिएन ।’ घर्तीले गुनासो गरे । घर्तीका बुबाआमा श्रीमती एक छोरा र एक छोरी छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment