बेइजिङ, २८ असार । चीनले दबाब तथा जोखिममुलुक प्रतिरक्षा क्रियाकलाप गरेको र यसले दुर्घटना निम्त्याउन सक्ने आरोप सहितको जापानको आधिकारिक प्रतिरक्षा प्रतिवेदन तथ्यविहीन भएको दाबी बेइजिङले गरेको समाचार सिन्ह्वा समाचार समितिले शुक्रबार दिएको छ ।
जापानको नयाँ स्वेतपत्र पूर्वी चीन जल क्षेत्रका विषयमा गत वर्ष चीन तथा ताइवानसँग विवाद उत्पन्न भएपछि प्रकाशन भएको यस प्रकारको पहिलो प्रतिवेदन हो ।
जापानी प्रतिवेदनमा तथ्यलाई ध्यान नदिइएको र चीनलाई सैनिक चुनौतीको रूपमा देखाइएको भनी चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ता जेङ यानसेङले बताउनुभयो भनी सिन्ह्वा समाचार संस्थाले उद्धरण गरेको छ ।
टोकियोले मङगलबार पारित गरेको उक्त प्रतिवेदनमा जापानको प्रतिरक्षा क्षमता तथा क्षेत्रीय सुरक्षाको विषयमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा बेइजिङको व्यवहारले दुर्घटना निम्त्याउन सक्ने उल्लेख गरिएको छ । चीनको सेना विश्वको सबैभन्दा ठूलो हो र यसले हालको वर्षमा आफ्नो क्षमता विस्तार गरेको छ । सन् २०१२ मा उसले विमानबाहक जहाज पनि सैनिक सेवामा तैनाथ गरेको छ ।
प्रवक्ता जेङले चीनको व्यवहार वैध, मुलुकको सार्वभौमसत्ताको सुरक्षाको लागि भएको तथा जापानी प्रतिवेदन आधारहीन भएको बताउनुभयो । उहाँले चीन शान्तिपूर्ण विकासको मार्गमा रहेको पनि उल्लेख गर्नुभयो ।
प्रतिवेदनमा चिनियाँ विमान र जापानी युद्धक विमान ३०० पटक एकअर्काको नजिक पुगेको र चिनियाँ युद्धक जहाजले जापानी जहाजको हतियार सञ्चालन गर्ने राडार बन्द गरिदिएको आरोप लगाइएको छ । यस आरोपलाई चीनले यसअघि नै अस्वीकार गरेको छ । रासस/एएफपी
प्रतिकिया