चितवनका उमाविलाई ३२ दरवान्दी

–बसन्त पराजुली
भरतपुर । चितवनका उच्च माध्यमिक विद्यालयहरुमा पनि शिक्षक दरबन्दी कायम हुने भएको छ । सरकारले देशभरका उच्च माध्यमिक विद्यालयहरुमा शिक्षक दरबन्दी कायम गराउने योजना अनुसार चितवनका उच्च माविमा पनि दरबन्दी कायम हुने भएको हो ।
चितवनका १५ उच्च माध्यमिक विद्यालयमा पहिलो चरणमा शिक्षक दरबन्दी कायम हुने छन् । त्यसका लागि कुन विद्यालयमा कति दरबन्दी कायम गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ ।
अघिल्लो वर्षको बजेट भाषणमै व्यवस्था भएबमोजिम बजेट निकासा भएपछि यस पटक उच्च माध्यमिक विद्यालयहरुले दरबन्दी पाएका हुन् । चितवनका उच्च माध्यमिक विद्यालयहरुले पहिलो वर्ष ३२ जनाको दरबन्दी पाएको छ । १५ उच्च माध्यमिक विद्यालयमा दरबन्दी कायम गरिने तयारी भइरहेको छ ।
विज्ञान विषय पढाउने उच्च माध्यमिक विद्यालयलाई तीन र अन्य विषयहरु अध्ययन गराउने उच्च माध्यमिकलाई दुई जनाका दरले दरबन्दी दिइँदै छ । त्यसका लागि ज्येष्ठताका आधारमा विद्यालयहरु छनौट गरिने बताइएको छ ।
‘जिल्ला शिक्षा समितिको बैठक बसेर हामी दरबन्दीअनुसार शिक्षकको व्यवस्था गर्ने छाँै’, चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले भने, ‘विद्यालयको ज्येष्ठताका आधारमा दरबन्दी कायम गरिने छ ।’
शिक्षा कार्यालयले दरबन्दी उपलब्ध गराउनका लागि केही मापदण्ड तय गरेको छ । कक्षा ११ र १२ मा ३०÷३० जनाभन्दा बढी विद्यार्थी भर्ना भई अध्ययन गरिरहेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
ज्येष्ठताका आधारमा नारायणगढको बालकुमारी उच्च माध्यमिक विद्यालय पहिलो नम्बरमा छ । यसले विज्ञान विषयसमेत अध्यापन गराएकाले यस विद्यालयलाई तीन दरबन्दी आउने निश्चित छ । तर यो विद्यालयमा लामो समयदेखि देखिएको विद्यालय व्यवस्थापन समितिको विवादका कारण प्राप्त दरबन्दीलाई संस्थागत गराउन जटिल हुने देखिन्छ ।
अन्नपूर्ण उच्च माध्यमिक विद्यालय पार्वतीपुर ज्येष्ठता क्रममा दुई नम्बरमा रहेकाले यो विद्यालयले पनि दुई जना दरबन्दी शिक्षक पाउने निश्चित छ । विश्वप्रकाश उच्च मावि मंगलपुर, सर्वशान्ति उमावि कुरिनटार, अरुणोदय उमावि गीतानगर, नारायणी विद्या मन्दिर उमावि शिवनगर, अमर उमावि पटिहानी, जानकी उमावि मेघौली, आदर्श उमावि दिव्यनगर, नेपाल उमावि रत्ननगर, नारायणी उमावि भरतपुर, जनजागृति उमावि पिठुवा, प्रेमबस्ती उमावि, लक्ष्मी उमावि लंकू र प्रभात उमावि शुक्रनगर ज्येष्ठताका आधारमा दरबन्दीका शिक्षक पाउने विद्यालयमा पर्छन् ।
यसअघि सरकारले देश भरका उमावि विद्यालयमध्ये एक हजार विद्यालयमा दुई हजार शिक्षक दरबन्दी कायम गर्ने भन्दै बजेट विनियोजन गरेको थियो । सोही अन्तर्गत चितवनमा ३२ दरबन्दी प्राप्त भएको हो ।
दरबन्दी पाउने विद्यालयले माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक पाउने छन् । यसअघि अनुदान कोटा पाएका तर ज्येष्ठता क्रममा अगाडि रहेका विद्यालयहरुले दरबन्दी शिक्षक लिनका लागि पहिला पाएको अनुदान कोटा छाड्नुपर्ने अनिवार्य व्यवस्था मिलाइएको छ । यसअघि चितवनमा विज्ञान विषय अध्यापन गराएका विद्यालयले तीन र अन्य विद्यालयले २ जनाका दरले अनुदान शिक्षक पाएका थिए ।
यसरी पाउने उच्च माध्यमिक विद्यालयहरु चितवनमा २९ थिए । हालसम्म चितवनमा ६३ अनुदान कोटाका शिक्षकहरु रहेकामध्ये यो वर्ष दुई थपिएर ६५ अनुदानका शिक्षक रहने छन् । चितवनमा अहिले ४६ विद्यालयले उमावि तह सञ्चालनमा ल्याएका छन् ।
अहिलेसम्म अनुदान कोटासमेत नपाएका १७ वटा विद्यालयलाई पनि दरबन्दी पाएका विद्यालयहरुबाट कटौती गरिएका अनुदानका शिक्षकहरु परिचालन गर्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरिरहेको छ । जिल्ला शिक्षा समितिका सदस्य सचिव समेत रहेका जिशिअ आचार्यले सकेसम्म सबै उच्च माध्यामिक विद्यालयहरुमा शिक्षकको व्यवस्था गर्नुपर्ने अवस्था अनुसार नै दरबन्दी कायम हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *