अनुमतिबिनै भित्री सडकमा गाडी सञ्चालन

भरतपुर । चितवन पुनर्वासकै बेलादेखि बनेका चितवनका सडकहरुमा यातायातका साधनहरु सञ्चालन गर्ने अनुमति (रोड परमिट) छैन । बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि सरकारले रोड परमिट नभएका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी गरिरहेका बेला जिल्लामा पुरानै सडकहरुको रोड परमिट नभएको घटनाले यो कार्यान्वयनमा जटिलता आउने अवस्था देखिएको छ ।
चितवन पूनर्वासपछि बनेका महेन्द्र, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिइए पनि चितवनकै पुराना ग्रामीण क्षेत्रमा जाने सडकहरुमा यातायातका साधन सञ्चालनको अनुमति नभएको हो ।
‘चितवनमा रहेका मुख्य राजमार्गबाहेकका भित्री सडकहरुमा अहिलेसम्म रोड परमिट पाएको छैन’, नेपाल यातायात व्यवसायी महासंघ नारायणी अञ्चल समितिका पूर्वसंयोजक खड्गबहादुर गुरूङले भने, ‘रोड परमिट नभएका सडकहरुमा सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवसायीहरुको बाध्यता हो ।’
भरतपुरदेखि माडी हँुदै ठोरी चल्ने सडक चितवनकै सबैभन्दा पुरानो सडक हो । २०१३ सालमा चितवन पुनर्वास गराइनुपूर्व नै यो बाटो अस्तित्वमा थियो । यही सडकबाटै तनहुँ, कास्की, गोरखा, लमजुङलगायत नेपालका पहाडी क्षेत्रका बासिन्दा नुन लिन भारत जाने गर्दथे । पछि चितवन पूनर्वाससँगै सडक विस्तार भयो । सवारी साधन चल्न थाले तर यो सडकले अहिलेसम्म रोड परमिट पाउन सकेको छैन । अहिले ठोरीदेखि नारायणगढ, काठमाडौँ, पोखरालगायतका सहरहरुमा सवारी साधन चल्छन् ।
यस्तै, भरतपुरबाट मेघौली जाने सडक पनि चितवनको पुरानो सडकमध्येमा पर्छ । चितवन पुनर्वाससँगै यस सडकको पनि निर्माण भएको हो । तर अहिलेसम्म यो सडकमा पनि सवारी साधन सञ्चालनका लागि अनुमति अर्थात् रोड परमिट छैन । चितवनमा यस्ता सडक धेरै छन्, जुन वर्षौदेखि सवारी साधन सञ्चालनमा आइरहेका छन् तर यिनीहरुले यातायातका साधन सञ्चालनको अनुमति पाएका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रमेशराज भेटवालका अनुसार चितवनमा अहिले ९४ किलोमिटर मुख्य राजमार्ग र दुई हजार दुई सय किलोमिटर भित्री सडकमा सवारीका साधन गुड्छन् । मुख्य राजमार्गका हकमा रोड परमिट रहे पनि चितवनका भित्री सडकहरुमा अहिलेसम्म रोड परमिट पाएका छैनन् ।
‘कुनै पनि सडक बनेपछि सडक विभागको सिफारिसमा यातायात कार्यालयले सडकमा सवारी साधन सञ्चालन गर्न सकिने अनुमति दिने व्यवस्था छ’, चितवनकै स्थानीय यातायात व्यवसायीसमेत रहेका संयोजक गुरूङले भने, ‘सरकारले रोड परमिट नभएका सडकहरुमा सवारी साधन सञ्चालन गर्न नदिने रणनीति बनाउँदै छ । तर यो कार्यान्वयनमा आयो भने चितवनका अधिकांश सर्वसाधारण सवारी साधन चढ्नबाट वञ्चित हुनेछन् ।’
चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके पनि अहिलेसम्म चितवनका सडकहरुले रोड परमिट नपाएकोमा आश्चर्य मान्छन् ।
‘चितवनका अधिकांश सडकका रोड परमिट नभएको ठीक हो’, उनले भने, ‘अब प्रक्रिया मिलाएर रोड परमिट दिनेतर्फ लाग्नुपर्छ ।’ कुनै पनि सडक निर्माणपछि सडक विभागको सिफारिसमा यातायात कार्यालयले सडक सञ्चालनको अनुमति दिने कानुनी व्यवस्था छ । तर चितवनमा स्थानीय निकायहरुले बनाएका सडकहरुले रोड परमिट पाएका छैनन् ।
यातायात व्यवसायीहरु सरकारी निकायबीचकै समन्वयको अभावमा जिल्लाका पुराना सडकहरुले पनि सवारी सञ्चालनको अनुमति नपाएका हुन् । जिल्ला विकास समिति चितवनका इन्जिनियर माधव उप्रेती भन्छन्, ‘चितवनका पहाडी क्षेत्रमा बनेका सडकहरुमा समस्या होला तर समथर भूभागमा रहेका सडकहरुलाई रोड परमिट दिन हिच्किचाउन जरूरी छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *