‘प्रतिपक्षी दलबाट बेइमानी’

भरतपुर । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले प्रतिपक्षी दलहरुबाट बेइमानी भएको बताए । उनले संविधान निर्माण प्रक्रियामा हलो अड्काएर गोेरु चुट्ने गरेको आरोपसमेत लगाए ।
‘सहमति पनि गर्दैनाँै र प्रक्रियामा पनि जाँदैनाँै भनेर प्रतिपक्षीहरुले हलो अड्काउने अनि गोरु चुट्ने काम गरिरहेका छन्’, शनिबार भरतपुरमा भएको पत्रकारसँगको अन्तक्र्रियामा उनले भने ।
‘सरकार सम्बद्ध दलसँग सविधानसभामा दुई तिहाइ बहुमत भए पनि हामी सहमतिमै संविधान जारी गर्न तयार छौँ । जसका लागि प्रतिपक्षी दलहरु यसमा राजी हुनुपर्छ’ मन्त्री रिजालले भने । सके सहमतिमै संविधान जारी गर्ने नभए  प्रक्रियामा गएर संविधान जारी गर्न सहमति गर्नुपर्ने उनको भनाइ थियो, ‘सहमति पनि नगर्ने अनि प्रक्रियामा पनि जान दिदैनाँै भन्ने काम कसैले पनि नगराँै ।’
‘सरकार अहिलेमात्रै होइन, संविधानका हरेक धाराको मतदान गर्ने बेलासम्म सहमति गर्न तयार छ’, उनले भने । संविधानका अन्तर्वस्तुमा प्रमुख दलहरुमा सहमतिको नजिक पुगेको धारणा राख्दै उनले सहमतिमै संविधान जारी हुनेमा विश्वास व्यक्त गरे ।
‘न्यायप्रणालीमा विवाद छैन, निर्वाचन प्रणालीको पनि करिव टुंगो लागिसक्यो’, विवादित विषयमा सहमति जुटेकोतर्फ जनाउँदै मन्त्री रिजालले भने ‘अब शासकीय स्वरुपमा पनि निर्वाचित कार्यकारी प्रमुख बनाउने पक्षमा प्रतिपक्षी होलान् जस्तो मलाई लाग्दैन । यसमा पनि संसदबाटै निर्वाचित कार्यकारी प्रमुख र सेरेमोनियल राष्ट्रपतिमा सहमति जुट्छ ।’
उनले  संघीयताको विषय  अहिले बढी पेचिलो बनेको चर्चा गर्दै प्रदेशको रचना गर्दा कसरी गर्ने भन्ने विषयमा बहस केन्द्रित रहेको उनले बताए । ‘अहिले प्रदेशको सिमांकनमै विवाद अड्किएको हो । हामी प्रदेशको सिमांकन गर्दै गर्दा सबै उत्तर दक्षिण र सबै पूर्वपश्चिम भन्ने पक्षमा पनि छैनाँै । भौगोलिक र आर्थिक हिसावले प्रदेशको संख्या र सिमांकन हुनपर्छ भन्ने पक्षमा लागेका हौँ’ मन्त्री जिलालले भने ।
छोटो प्रकृयाबाट संविधान जारी गर्ने विषयमा सभामुख सुभाषचन्द्र नेम्वाङले केही प्रक्रिया निलम्बन गरी मस्यौदा बनाउन अधिकार दिन दलहरुसँग गरेको आग्रहमा भने मन्त्री रिजालको आलोचनात्मक समर्थन रह्यो ।
‘सविधानको मस्यौदा छोटो बाटोबाट बनाउँछु भन्नु संविधानसभाका अध्यक्षको प्रस्ताव गलत होइन । तर पनि मस्यौदा लेख्न कसलाई दिने भन्ने अधिकार संविधान सभाको हो’, उनले भने,‘मेरो विचार नै बुझ्न खोज्नु भएको हो भने संविधानको मस्र्यौदा, मस्यौदा समितिले नै निर्माण गर्न पाउनुपर्छ ।’
यसैबीच मन्त्री मिनेन्द्र रिजालले मंसिर ४ गते आक्रमणमा परी घाइते भएका नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीमाथि भएको अज्ञात समूहको आक्रमणको निन्दा गर्दै आक्रमणकारीको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन पनि दिएका छन् ।
अन्तक्र्रियामा पत्रकारमाथिको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको टिप्पणी गरे ।
मन्त्री डा. रिजालले पत्रकारसँग घटनाका बारेमा केही सूचना भए अनुसन्धानका लागि जानकारी दिन आग्रह पनि गरे । मन्त्री रिजालसँगै रहेका चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापालाई उनले घटनाका बारेमा गहिरो अध्ययन गरेर दोषी पहिचान गरी पक्राउ गर्न निर्देशन दिए ।
त्यस्तै, नेपाल प्रेस युनियन चितवनले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझउँदै दोषी पक्राउ नपरे युनियन चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, सभासद् रामकृष्ण घिमिरे, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल पत्रकार महासघ  चितवनका अध्यक्ष हरि पोखरेल लगायतले पत्रकारमाथिको आक्रमणको निन्दा गर्दै लोकतान्त्रिक सरकारले देशका नागरिकको सुरक्षा गर्न सक्नुपर्ने माग गरे ।

यसैबीच पश्चिम चितवनको शिवनगरमा स्थापना भएको सामुदायिक रेडियो शिव शक्ति ९८.३ मेगाहर्जले  शनिबारबाट नियमित प्रसारण सुरू गरेपछि चितवनमा नयाँ सामुदायिक रेडियो थपिएको छ ।
सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले शनिबार रेडियोको उद्घाटन गरेपछि यसले नियमित प्रसारण सुरू गरेको हो ।
कार्यक्रममा सभासद्हरु रामकृष्ण घिमिरे, विष्णुमाया परियार, शिवकुमारी गोतामे, नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली लगायतले रेडियोको सफलताको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *