दिपेन्द्र अधिकारी
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिकजसो भीडभाड नै देखिन्छ । प्रहरीमा छलफल गर्न भन्दै विभिन्न व्यक्ति र समूह बिहान दस नबज्दै प्रहरी कार्यालयभित्र छिर्छन् ।
उनीहरु सरासर मुद्दा फाँटमा पुग्छन् । जहाँ मुद्दा फाँटका प्रहरी निरीक्षक जीवलाल चुदालीदेखि तलका दर्जाका प्रहरीहरु दैनिक मिसिल तयार पार्न, थुनुवालाई अदालतमा हाजिर गर्न लान, निवेदन लिन र सेवाग्राहीको गुनासो सुन्न व्यस्त हुन्छन् ।
मुद्दा फाँटका लागि भनेर एउटा कोठा उपलब्ध छ । तर, प्रहरीमा नागरिकको चाप बढेसँगै मुद्दा फाँट साँघुरो बनेको छ । प्रायः पाँच जना प्रहरी कर्मचारी नियमित काममा यस फाँटमा खटिएको भेटिन्छन् । दराज, टेबल र विभिन्न फाइलहरुले भरिएको ¥याक उनीहरुको अगाडि देखिन्छ । सेवाग्राहीहरुको लाम लाग्छ । सेवाग्राही बस्नका लागि एउटामात्र बेञ्च उपलब्ध छ । जहाँ जम्मा ५ जनामात्र अट््छन् ।
यस फाँटमा आफ्नो कुरा राख्न भन्दै औसतमा १० जना जति एकै पटक पुगेका हुन्छन् । भित्र बस्ने ठाउँ नभएपछि कोही उभिन्छन् त कोही बस्ने ठाउँ नै रहेनछ भन्दै कोठाबाहिर गल्लीमा हुन्छन् । केही कुरा भन्छु भनेर पालो कुर्दाकुर्दै कसैको पालो नै आउँदैन ।
कतिपय अवस्थामा कोठा नै साँघुरो भएपछि प्रहरीले बाहिर चौरमा हिड्नूस त्यही कुरा गरौंला भन्दै चौरमा नागरिकको गुनासो सुन्ने गरेको छ । कसैले गोप्य रूपमा आफ्नो कुरा राख्छु भन्दा पनि उसलाई त्यो ठाउँ उपलब्ध छैन ।
चितवन प्रहरीले पछिल्लो समय विभिन्न आपराधिक घटनामा संलग्नलाई धमाधम पक्रन थालेपछि सम्बन्धित अभियुक्तका आफन्त सुझबुझका लागि प्रहरीसमक्ष आउने गरेका छन् । यसले पनि थप चाप यस फाँटमा बढेकै छ ।
मुद्दा फाँटका प्रहरी निरीक्षक चुदाली भन्छन्, ‘दैनिकजसो सेवाग्राहीको चाप बढ्दो छ, त्यसैले मुद्दा फाँट फराकिलो बनाउनुपर्ने देखिन्छ ।’ केही महिना अघिसम्म सोही फाँटमा कम्प्युटरको काम पनि हुने गरेकोमा अति नै साँघुरो भएपछि त्यसलाई अर्को कोठामा सारिएको छ । अहिले प्रहरीले अभियुक्तसँग बयान लिनका लागि पनि यही कोठाको प्रयोग गर्दै आएको छ ।
मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्ण बस्नेत ५ वर्षअघि यो ठाउँ पर्याप्त भएपनि अहिले चाप बढेकाले ठाउँ फराकिलो बनाउनुपर्ने बताउँछन् । ‘मुद्दा फाँट साँघुरो भएपनि तत्कालका लागि विकल्प छैन, प्रहरी प्रवक्ता डीएसपी सञ्जय राउत भन्छन्, ‘मानिसको बढ्दो चापसँगै फराकिलो ठाउँको आवश्यकता देखिन्छ ।’
[divider]फोटो क्याप्सन ः मुद्दा फाँटमा प्रहरीसँग कुरा गर्दै सेवाग्राही । फोटोः दिपेन्द्र
Discussion about this post