बसन्त पराजुली चितवनको पत्रकारिता क्षेत्रमा परिचित नाम हो । चितवन पोष्ट दैनिक, सिनर्जी एफएम हुँदै गोरखापत्र दैनिकमा करिब दुई दशकदेखि क्रियाशील पराजुली सफल व्यवसायी पनि हुन् । विविध सामाजिक विषयवस्तुमा समेत कलम चलाउँदै आएका पराजुली साहित्यमा पनि दख्खल राख्छन् । उनले भर्खरै ‘कुमाता’ नामक कथासङ्ग्रह प्रकाशित गरेका छन्, जुन आज सोमबार गैँडाकोटमा एक समारोहबीच विमोचन हुँदैछ । उनको यसै कथासङ्ग्रहबारे चितवन पोष्ट दैनिकका सहसम्पादक केशव भट्टराईले गरेको संक्षिप्त संवाद यहाँ प्रस्तुत गरिएको छ :
१) तपाईंको कुमाता कथासङ्ग्रह आज विमोचन हुँदैछ, कसरी गर्दै हुनुहुन्छ यसको विमोचन ?
— सामान्य ढङ्गबाटै यसको विमोचन हुँदैछ । नेपाल लघु कथा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले मेरो कृति विमोचन गर्दै हुुनुहुन्छ । चितवनका अग्रज साहित्यकारहरुको संस्था अक्षर समूहले विमोचन कार्यक्रम आयोजना गरेको छ भने डा. एकनारायण पौडेल, कथाकार डा. हरिहर पौडेललगायतका साहित्यकारहरुले मेरो कथासङ्ग्रहमाथि समीक्षा गर्दै हुनुहुन्छ ।
२) कुमाता कस्तो कथासङ्ग्रह हो ?
— नारीप्रधान विषयवस्तुहरु समेटेर तयार पारिएको कथाहरु ‘कुमाता’मा समावेश गरिएको छ । विशेषतः नारीको मनोविज्ञान र यौन मनोविज्ञानमा आधारित विषयवस्तुहरु कथामा समेटिएका छन् । दसवटा कथा समेटिएको यो कृतिमा नौवटा कथामा महिलालाई पीडित देखाइएको छ । हाम्रो समाज र छरछिमेकमा भइरहेका समसामयिक घटनाहरुलाई टपक्क टिपेर कथाहरु बुनिएकाले पनि यो सामाजिक यथार्थवादी कथाहरु समेटिएको कथासङ्ग्रह हो भन्ने मलाई लाग्छ । भँुडीपुराण प्रकाशन प्रालिले प्रकाशित गरेको यस कथासङ्ग्रह ११२ पेजको रहेको छ ।
३) तपाईंले आफ्नो कृतिमा नारीप्रधान विषयवस्तुहरु समेटिएको त भन्नुभयो, तर ‘कुमाता’ शब्द आफैँमा नकारात्मक लाग्छ । माता कसरी ‘कुमाता’ बन्न सक्छिन् ?
— कथासङ्ग्रहमा भएका दसवटा कथामध्ये एउटा कथा हो, कुमाता । त्यसैबाट कथासङ्ग्रहको नाम जुरेको हो । हो, तपाईंले भनेजस्तै माता ममताकी खानी नै हुन् । म आममाताहरुप्रति टाउको निहु¥याएर प्रणाम गर्न चाहन्छु । अब रह्यो कुमाताको सवाल, के हाम्रा माताहरु सबै सम्मानयोग्य छन् त ? हाम्रा माताहरुलाई के बाध्यता प¥यो कि जसले आफ्नो ममता नै बिर्सिएर ‘कुमाता’ बन्न बाध्य भए भन्ने मुख्य कथावस्तुमै यो कृति जन्मिएको हो ।
बीस वर्षको जेल सजाय भोगिरहेकी एक महिलाको प्रेम, यथार्थ र बाध्यताको कथा हो ‘कुमाता’ । प्रेमीबाट धोका पाएकी कान्छी ‘कुमारी आमा’ बन्न तयार हुन्छिन् । तर, भोलिको समाजमा हुने अपहेलनाको डरले गर्भपतन गर्न खोजे पनि नमिल्ने भइसकेको हुन्छ । त्यसपछि उनको मानसिकतामा परिवर्तन आएको देखिन्छ । समाजबाट बच्नका लागि उनी जन्मनासाथ शिशुको हत्या गर्छिन् । त्यही अपराधमा जेल जीवन बिताइरहेकी महिलाको जीवनलाई कथाले स्पष्ट पार्न खोजेको छ ।
४) पुस्तकको भूमिका लेख्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले त तपाईंका कथाहरुलाई ‘आधुनिक कथाको नयाँ मार्ग’ भन्नुभएको छ नि ?
— यो प्रश्न मलाईभन्दा पनि स्वयं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई नै सोध्नुभएको भए राम्रो हुन्थ्यो । तर मैले बुझेको कुरा, मेरा कथाहरुले विद्यमान समाज बोलेको छ । गरिबी, वैदेशिक रोजगार, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भहरु कथामा समेटिएका छन् । घर बनाउने सपना बोकेर विदेशिएका श्रीमान्लाई सम्झेर रात बिताउने पत्नीको यौन मनोविज्ञानका विषयहरु मार्मिकरुपमा उठेका छन् । सम्भवतः कथाहरु नयाँ ढङ्गबाट प्रस्तुत भएका कारणले पनि यसलाई आधुनिक कथाको नयाँ मार्ग भनिएको हुनुपर्छ ।
५) तपाईं चितवनलाई आधार मानेर पत्रकारिता गर्दै आउनुभएको छ, यो कथासङ्ग्रहसँगै तपाईं आख्यान लेखनतर्फ पनि लाग्नुभयो । कथा लेखनमा सजिलो, अप्ठ्यारो के महसुस गर्नुभयो ?
— पत्रकारिता गरेको पनि लामो समय भयो । हामी आजपर्यन्त पनि यही पत्रकारिता नै गरिरहेका छौँ । मोफसलको पत्रकारको पीडा के छ भन्ने कुरा मैले ‘पत्रकार’ कथामा उल्लेख गरेको छु । दैनिक पत्रकारिता गर्दैगर्दा हरेक दिन ‘अपडेट’ हुनुपर्ने बाध्यताका कारण लेखन क्षेत्रमा केही समस्या त परिहाल्छ । तर, हामीले लेखेका समाचार र समाचार लेखनमा भेटिएका पात्रहरु नै कुनै न कुनैरुपमा कथाका पात्रहरुसँग मेल खान्छन् । यसले त झन् पत्रकारिताले कथा लेखन वा आख्यान लेखनमा सहयोग नै पु¥याएको देखिन्छ । मैले लेखेका कथाहरुमा पनि पत्रकारिताकै दौरानमा भेटिएका पात्र र प्रवृत्तिहरु समावेश गरिएको हुँदा पत्रकारिताले लेखन क्षेत्रमा सहयोग नै पु¥याएको अनुभव गरेको छु ।
६) पत्रकारिता र व्यवसायमा संलग्न तपाईं कथा लेखनमा कसरी आकर्षित हुनुभयो ?
— म सानैदेखि लेखनमा रूचि राख्ने मान्छे हुँ । कथा, कविता, गजल, मुक्तक, नाटक, निबन्ध आदि रचनाहरु लेखिरहन्थेँ । पत्रकारितामा लागेपछि साहित्यिक पाटो ओझेलमा परेको थियो । अहिले कथाबाट फेरि आख्यान लेखनमा फर्किएको छु । पत्रकारितालाई हतारको साहित्य भन्छन्, मैले हतारको साहित्यसँगै साहित्य लेखनमा प्रयासमात्रै गरेको हुँ । पत्रकार सधैँ नयाँ–नयाँ विषयवस्तुको खोजीमा चनाखो हुन्छ । त्यसैले, कथा लेखन क्षेत्रमा पनि बढी रूचि बढायो । रूचिले मात्रै पनि हुँदैन; मेरा कथाहरु पाठकमाझ आएका छन्, उहाँहरुको प्रतिक्रिया आउनै बाँकी छ । हुन त, कुनै पनि लेखकका लागि पाठक भगवान् नै हुन् । उहाँहरुले गरेको टीकाटिप्पणी र प्रतिक्रियालाई मैले रचनात्मकरुपमा लिनेछु ।
७) आख्यान लेखनमा भावी योजना केही छन् कि ?
— कृति लेख्ने काम गर्छु भनेरमात्रै पनि नहुने रहेछ, त्यसमा निरन्तर लगाव हुनुपर्ने हुन्छ । मैले कथा लेखनलाई निरन्तरता दिँदै उपन्यास लेखनको पनि सोच बनाइरहेको छु । हेरौँ, समयले कता लैजान्छ । पत्रकारिता र साहित्य एकै सिक्काका दुई पाटा भएकाले मेरो सिर्जनशीलता कायम नै रहनेछ । अझै धेरै मेहनत गर्ने ऊर्जा ‘कुमाता’ कथासङ्ग्रहले प्रदान गरेको छ भन्ने मलाई लागेको छ ।