भण्डारा । चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्गको ट्र्याक खोल्ने काम सकिएको छ । ट्र्याक खुलेसँगै यहाँ गाडी हिँड्न थालेका छन् ।
उक्त सडक निर्माणको काम २०६६ सालबाट सुरु भएको थियो । यो वर्षसम्म सडक निर्माणका लागि झन्डै २५ करोड रकम खर्च भएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर हरिकुमार पोख्रेलले जानकारी दिनुभयो ।
यस वर्षका लागि प्राप्त रु ६ करोडबाट आठ किलोमिटर ग्राभेल, सडक चौडा, कल्भर्ट र कजवे निर्माणको काम चलिरहेको पोख्रेलले बताउनुभयो । पिचसहितको सडकको स्तर वृद्धिका लागि डिभिजनले डिपिआर तयार गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । “१०५ किलोमिटर दूरीको राजमार्ग अहिले यो ट्र्याक खुलेसँगै ४४ किमी छोटो भएको छ, यस्ले समय र इन्धनको बचत गर्छ”–पोख्रलले भन्नुभयो–“भविष्यमा ट्राफिक व्यवस्थापनमा पनि सहजता आउनेछ ।”
गाडी चल्न थालेपछि स्थानीय अल्पसङ्ख्यक चेपाङ र तामाङ समुदायको जीवनस्तरमा परिवर्तन भएको स्थानीयले बताएका छन् । ट्र्याक खुलेसँगै विकट पहाडी क्षेत्र लोथर र कोराकका चेपाङ र तामाङ बस्तीमा आजभोलि मोटर गुड्न थालेका छन् । उनीहरूलाई तीन दिनको पैदल हिँडेर नुन, तेल र चामल किन्न भण्डारा बजार आउनुपर्ने बाध्यता हटेको छ ।
लोथर–६ वासवाङका कृष्णबहादुर चेपाङले बाटो बनेपछि दुःखका दिन गएको बताउनुभयो । कोराक–७ तीनतलेका जीतबहादुर रुम्वा चेपाङ मार्ग बनेपछि ठूलो राहत मिलेको बताउनुहुन्छ । भण्डाराबाट वासवाङसम्म ३५ किलोमिटरको यात्रा छिचोल्न तीन घण्टा समय लाग्ने गरेको छ । तर सो क्षेत्रमा अहिले दैनिक जिप चल्ने गरेकाले स्थानीयलाई यात्रामा सहज भएको छ । कोराक र लोथरमा अल्पसङ्ख्यक चेपाङ तथा तामाङ समुदायको बसोबास छ ।
Discussion about this post