रमेशकुमार पौडेल
नेपाल क्रिकेटमय भएको छ । सबै क्रिकेटकै कुरा गर्छन् । क्रिकेटको प्रशंसा गर्छन् । खै कता हो, माओवादी नेता सिपी गजुरेलले अलि फरक कुरा गरे रे, नत्र भने क्रिकेट अहिले सबैको प्यारो भएको छ । २० ओभरमा सकिने ट्वान्टी ट्वान्टी अर्थात् टीट्वान्टी क्रिकेटको विश्वकप खेल्न पहिलो पटक नेपाली टोली बंगलादेश गयो । नेपाली टोलीले खेलेका तीन खेलमध्ये दुई खेलमा शानदार जित हात पा¥यो । आयोजक बंगलादेशलाई नजिते पनि शुभचिन्तकको मन जित्ने खेल खेल्यो । त्यसैले, अहिले क्रिकेट मोहको पारो ह्वात्तै बढेको हो नेपालमा ।
म भने केही नयाँ–पुराना सम्झनाहरु यहाँ राख्दैछु, जुन ठ्याक्कै क्रिकेट प्रतियोगितासँग सम्बन्धित पनि छैन । नेपालले अन्तर्राष्ट्रियस्तरमा राम्रो खेल्यो, तर खै यहाँ अन्तर्राष्ट्रियस्तरका क्रिकेट स्टेडियम भन्ने कुरा उठेको छ । अहिले सरकारले पनि बनाउँछु भनेको छ । धनाड्यहरु पनि बनाउन अग्रसर देखिएका छन् । म एउटा पुरानो क्रिकेट मैदानको कुरा गर्दैछु, जुन क्रिकेट मैदान मैले आजभन्दा झन्डै २३ वर्षअघि देखेको थिएँ ।
कक्षा ६ सम्म नवलपरासी भैँसाखोरीको रत्नराज्य लक्ष्मी माविमा पढेपछि सात कक्षा पढ्न म भैरहवा गएँ । भैरहवाको महेन्द्र सुगर मिल निकै भव्य थियो । सुगर मिलकै क्वाटरमा हामी बस्ने भयौँ । म सुगर मिलआडैको स्कुलमा भर्ना भएँ । यता, नवलपरासी हुँदा मैले फुटबल मैदान देखेको थिएँ । भलिबल कोर्ट देखेको थिएँ, सवै चार कुने । तर, महेन्द्र सुगर मिलभित्र मैले अर्कै खालको मैदान देखेँ । ठूलो तर गोलो थियो मैदान । आवासीय क्षेत्र प्रवेश गर्ने मुख्य द्वारको आडमा थियो त्यो गोलाकार मैदान । घाँसे मैदानको बीचमा केही लामो धुलौटे पेटी । मैदानको पश्चिमपट्टि दुर्गा मन्दिर, पूर्वपट्टि लहरै कर्मचारी आवास, आवासपछि ओहोरदोहोर गर्ने बाटो ।
यो के होला, मेरो मनमा खुल्दुली चल्यो । एक दिन त्यहाँ टन्नै मान्छेहरु जम्मा भएका थिए, त्यो शनिबारको दिन थियो । मैदानबाहिर रमितेहरु छन्, मैदानभित्र पनि ठाउँ मिलाएर र कुनो मिलाएर मान्छेहरु उभिएका छन् । त्यो धुलौटे पेटीको सिरानमा र पुछारमा पनि मान्छे देखिए । गाउँघरमा लुगा धुने बेलामा ठटाउने दाबिलोजस्तो वस्तु समाएका तिनीहरुको रुप पनि अनौठो । हेलमेट लगाएका, खुट्टामा पनि कडा चीज बाँधेका, यसो हेर्दा रोबोटजस्तो । दगुरेर बल फाल्ने, बललाई हिर्काउने अनि दौडने । त्यसअघि कहिल्यै मैले क्रिकेट सुनेको थिइनँ । नामै नसुनेको खेल आँखाअगाडि देख्दा पर्नु दङ परियो !
यो अनौठो र अजीवको खेल यताको फुटबल, भलिबलभन्दा ख्यातिमा थियो । टोलटोलमा क्रिकेट, स्कुलमा क्रिकेट । त्यसपछि म क्रिकेटसँग नजिकिन थालेँ । यो आजभन्दा २३ वर्षअघिकै कुरा हो । ओहो, यो खेल हाम्रो उता गाउँघरतिर खेलाउन सके ? मेरो मनमा यस्तो धारणा आयो । गर्मी बिदामा म भैँसाखोरी आएका बेलामा त्यो अनौठो खेलको कुरा गरेँ । भैँसाखोरी मात्रै हो र, ४७÷४८ सालमा यता नारायणगढमा पनि क्रिकेट खेल्ने गरिन्थेन । अनि, भैँसाखोरीमा क्रिकेटका कुरा सुनेर कसले बुझ्नु ! देख्दा म दङ खाएको त्यो खेलका बारेमा सायद मैले राम्रोसँग सम्झाउन, बुझाउन पो सकिनँ कि ? खेलौँ न त, के हो यस्तो भन्ने साथी कोही तयार भएन । यो आजभन्दा कम्तीमा पनि २२ वर्षअघिको कुरा भयो ।
यो वर्ष मैले एउटा गज्जबको समाचार पढेँ । त्यो समाचार राष्ट्रिय पत्रिकाहरुमा मह¤वका साथ नै आएको थियो । समाचार एक जना युवा क्रिकेट खेलाडीका बारेमा थियो । समाचार थियो, उमेर समूहअन्तर्गत १९ वर्षभन्दा तलका क्रिकेट खेलको विश्वकपमा खेलाडी छनौट भएको । छनौट भएको खुसीमा चकलेट किनेर खाँदा सुशील कँडेल भन्ने क्रिकेटरको घाँटीमा चकलेट अड्केको र स्वास्थ्यमा समस्या आएको । सुशील कँडेलको ठेगाना थियो, मुकुन्दपुर गाविस वडा नं. ५ ।
यो खबर हेरेर म फेरि दङ खाएँ, जसरी २३ वर्षअघि भैरहवामा पहिलो पटक क्रिकेट खेल देखेर चित खाएको थिएँ ! म फेरि त्यही समयमा पुगेँ । कारण थियो, मुकुन्दपुर गाविसको वडा नं. ५ त्यही ठाउँ हो, जहाँ मैले भैरहवामा क्रिकेटसँग परिचित भएर गाउँका आफ्ना दमालीलाई लौ न यहाँ क्रिकेट खेलौँ भनेको थिएँ । मेरा कुरामा त्यो बेला चाख लिने कोही थिएन, ओहो २२÷२३ वर्षपछि त्यही गाउँबाट एक जना किशोर उमेर समूहको राष्ट्रिय टोलीमै सहभागी हुने बेला पनि आएछ । हुन पनि नेपालमा पछिल्लो समय क्रिकेटले निकै ख्याति कमायो । क्रिकेट नपुगेको ठाउँ भएन, गाउँ भएन ।
भैरहवाको कुरा गर्दा नेपाली क्रिकेटमा त्यस ठाउँ त्यसै जोडिएर आउँछ । अहिले पनि नेपाली टोलीमा स्टार खेलाडीहरु धेरै भैरहवाकै छन् । एसएलसी दिएपछि ५१ सालदेखि मैले भैरहवा छाडेँ । नेपालमा क्रिकेट जति फस्टाउँदै गयो, भैरहवा मेरो दिमागमा छाउने गर्दथ्यो । त्यो क्रिकेट मैदान मैले कसरी बिर्सने ! तर भैरहवा छाडेर नारायणगढ बस्न थाले पनि बीचबीचमा धेरै पटक त्यता गएको हो । तर, सुगर मिलतर्फ भने गइएन । सुगर मिल रूग्ण भएर बिस्तारै बन्द नै भएको थियो । मिल बन्द भएपछि एक पटक म पुगेको थिएँ । त्यो क्रिकेट मैदान काँसघारीमा पुरिएको थियो ।
यो पटक दसैँमा म फेरि सुगर मिल भएको क्षेत्रतर्फ गएँ । सुगर मिलको कुनै संरचनाको नामोनिसान त्यहाँ थिएन । सुगर मिल सञ्चालकले सबै संरचना भत्काएर जग्गा प्लटिङ गरेका छन् भन्ने सुनेको थिएँ । त्यसैले, यो पटकको दसैँमा प्लटिङ गरेको सुगर मिल क्षेत्र हेर्न मन लाग्यो । ओहो, त्यत्रा भौतिक संरचनाहरु थिए । कत्रा–कत्रा पोखरीहरु पनि थिए । कस्तो भयो होला भन्दै सुगर मिल क्षेत्र टेकियो । सुगर मिल क्षेत्र त सफाचट, चार कुना मिलेको पो देखियो त ! अनि, कालोपत्रे गरेका सडक नसाझैँ फैलिएका । ती पुराना भवनहरु केही देखिँदैनन्, कुन चीज कहाँनेर थियो मैले भेउ पाइनँ । दुर्गा मन्दिरचाहिँ भत्काएका रहेनछन् ।
दुर्गा मन्दिरमा आँखा पर्नासाथ सम्झिएँ, त्यो भव्य क्रिकेट मैदान । मैदानको रेखो कहाँ भेटिनु ! कालोपत्रे सडकले चिराचिरा बनाएको थियो मैदानलाई । भैरहवाको चिनी कारखाना सरकारी होइन, निजी थियो । निजी कारखाना सञ्चालकले के बुझेर हो, आफ्नो मिलको कम्पाउन्डभित्र भव्य क्रिकेट मैदान बनाएका थिए, यो बेला होइन त्यो बेला नै । आज क्रिकेट चरमचुलीमा पुग्यो, तर सरकारले एउटा गतिलो स्टेडियम पनि बनाउन सकेको छैन । त्यो बेलाको क्रिकेट मैदान आज प्लटिङको सिकार बन्यो । नेपालको प्रदर्शनले प्रशंसा पाएको बेला म भने त्यही पुरानो क्रिकेट मैदान झलझली सम्झेको छु, जुन क्रिकेट मैदानमा कुनै न कुनै चर्चित खेलाडीले अवश्य बल र ब्याट घुमाएका छन् ।
Discussion about this post