भरतपुर । भरतपुर उच्च माध्यमिक परीक्षा केन्द्रबाट एक विद्यार्थीले एसएलसी परीक्षा दिएपछि आमाको दाहसंस्कार गरेका छन् । मृत्यु भएकी आमालाई छाडेर परीक्षाको महत्वलाई ध्यान दिँदै उनले परीक्षापछि बल्ल आमाको दाहसंस्कार गरेका हुन् ।
लक्ष्मी उच्च माध्यामिक विद्यालयकका छात्र अविशेक वाग्लेले आमा देवी वाग्लेको मृत्यु भएपछि परीक्षा दिएका हुन् । त्यसका लागि विद्यालयले उनको परीक्षाको व्यवस्था मिलाएको थियो ।
‘परीक्षाको महत्व बुझेर नै परीक्षापछि आमा देवीको अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको हो’, लक्ष्मी उच्च माध्यमिक विद्यालयका प्राचार्य नारायण चालिसेले भने, ‘परीक्षाको महत्वलाई ध्यान दिएर अविशेकलाई नौ दिनबाट किरियामा राख्ने निर्णय भएको छ’ अविशेकले आइतबार गणित विषयको परीक्षा दिएका हुन् ।
अविशेक देवीका एक्ला छोरा हुन् । उनलाई सोमबारदेखिको नियमित परीक्षा नछुट्ने गरी व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रमा पनि उनका लागि विशेष व्यवस्था मिलाइएको छ ।
उता एक मुद्दाको अनुसन्धानका क्रममा रहेका एक बालकले पनि भरतपुरकै एक केन्द्रबाट परीक्षा दिइरहेका छन् । प्रहरी हिरासतबाटै उनले परीक्षा दिएका हुन् । बालअधिकारको सम्मान गर्दै उनको सवै कुरा गोपनियता राखिएको छ । उनलाई जबरजस्ती करणीको अभियोग लागेको छ ।
यसैबीच आइतवार परेको गणित विषयको परीक्षामा २५८ जना परीक्षार्थी अनुपस्थित रहेका छन् । अनुपस्थित हुनेमा नियमित भन्दा एक्जाम्टेड बढी छन् । नियमित तर्फका छात्रा १५ र छात्र ८ गरी २३ जना र एक्जाम्टेडतर्फका १४६ छात्रा र ८९ छात्र गरी २३५ अनुपस्थित रहेका हुन् । चितवनबाट यो वर्ष पाँच हजार १३२ छात्रा र ४ हजार ८१४ छात्र गरी नौ हजार ९९६ नियमित र एक हजार ३८१ छात्रा र ६७८ छात्र गरी दुई हजार ५९ एक्जाम्टेड विद्यार्थीले परीक्षा दिँदैछन् । –प्रशिक्षार्थीः जमुना गौतम
Discussion about this post