बसन्त पराजुली
कसरा । जंगली जनावरलाई मानव बस्तीमा रोक्न चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा इलेक्ट्रिक फेस (विद्युतीय तारबार) जडान सुरू गरेको छ । विगत केही वर्ष यता जंगली हात्तीको त्रास भोगेका माडीवासीलाई राहत दिन निकुञ्जले विद्युतीय तारबार सुरू गरेको हो ।
‘मानव बस्तीमा आएर जंगली जनावरले दुःख दिन थालेपछि त्यसलाई नियन्त्रण गर्न विद्युतीय तारबार जडान गरिएको हो’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरले भने, ‘विद्युतीय तारबारको जडानपछि निकुञ्जबाट जनावर मानव बस्तीमा आएर दुःख दिँदैन भन्ने सोचेमा छौँ ।’
विद्युतीय तार यस्तो प्रविधि हो, जुन तारमा छोएपछि त्यसले झड्का दिएर जनावरलाई तर्साउँछ । निकुञ्ज क्षेत्रबाट बाहिर निस्कन खोजेका जनावरलाई यसले निकुञ्जतर्फ फर्काउनका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।
माडीको गर्दी गाविसमा पर्ने अमिलियाबाट निकुञ्जले विद्युतीय तारबार जडान सुरू गरेको छ । निकुञ्जले अमिलियाबाट अयोध्यापुरीको बगई क्षेत्र सम्म २४ किलो मिटर विद्युतीय तारबार लगाउने कार्य थालेको हो । अहिले १ किलो मिटर क्षेत्रफलमा यो कार्य सकिएको बताइएको छ ।
‘मानव बस्ती जोगाउने गरी निकुञ्जलाई घेरेर तारबार गरिएको छ’, प्रमुख संरक्षण अधिकृत कुँवरले थपे, ‘पहिलो चरणमा हामी पाँच किलो मिटर तारबार सक्ने छौँ । २०७१ सालभरिमा २४ सै किलो मिटरमा यो तारबार जडान गरिनेछ ।’
विद्युतीय तारबार जडानका लागि एक किलो मिटरको आठ लाख रूपैयाँ खर्च लाग्ने छ । हाल पाँच किलो मिटरका लागि ४० लाख रूपैयाँ नेपाल सरकारको वन मन्त्रालयबाट बजेट विनियोजन भएको निकुञ्जले जनाएको छ । अन्य बजेट अन्तर्राष्ट्रिय हात्ती संघबाट बजेट निकासा गर्ने तयारी भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गंैडा, बाघ, चित्तललगायतका जनावरहरु मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । जंगली जनावरले मानिसलाई आक्रमण गरी मार्ने तथा घाइते बनाउने र अन्नबाली खाएर दुःख दिने गरेको छ ।
दुई वर्षयता माडी क्षेत्रमा जंगली हात्तीले सात जनाको ज्यान लिएको थियो भने १२ वटा घर टहरा भत्काएको थियो । निकुञ्जका जनावर र निकुञ्ज वरपरका मानिसबीचमा यसै सन्र्दभमा द्वन्द्व चर्किएको थियो । पछिल्लो समय फागुन पहिलो हप्ता माडी क्षेत्रमा आएर दुःख दिएको हात्तीलाई बिहोस् बनाएर नियन्त्रणमा लिने क्रममा मृत्यु भएको थियो ।
‘मानिस र जनावरबीचको द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबारले सहयोग पुग्ने विश्वास लिएका छौँ’, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजित परियारले भने ।
माडीमा विद्युतीय तारबार जडान गर्न थालिएपछि माडीका बासिन्दाहरुमा पनि केही खुसी देखिएको छ । ‘अब जनावर आएर दुःख दिँदैन भन्ने लागेको छ’, माडीका एक स्थानीयले भने ।
Discussion about this post