सौराहा । प्राविधिक शिक्षालयहरुको संरक्षणमा सरकार उदासीन रहेको ती शिक्षण संस्थाका सञ्चालकहरुको गुनासो रहेको छ । प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा आवद्ध शैक्षिक संस्थाहरुको सौराहामा सम्पन्न अधिवेशनमा सो माग उठेको हो ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको चौथो राष्ट्रिय अधिवेशनको उद्घाटन शुक्रबार संविधानसभाका सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री डा.वंशिधर मिश्रले गरेका हुन् । प्राविधिक शिक्षा सञ्चालकहरुलाई सवैले शैक्षिक माफियाको आरोपमात्रै लगाउने गरेको भनेर उनी आक्रोशित थिए ।
‘हामीलाई सञ्चालन स्वीकृति दिने सीटीईभीटीबाटै हामी पीडित भएका छौँ’ उद्घान कार्यक्रममा स्वागत मन्तव्य राख्न आएका फोरमका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन मिश्रले पीडा पोखे । प्रवेश परीक्षा र भर्ना शुल्कको विषयलाई सीटीईभीटीले संस्थालाई पीडा दिने माध्यम बनाएको उनले बताए ।
‘वैदेशिक लगानीलाई संरक्षण गर्न देशका प्रधानमन्त्री विदेश गएर विप्पा सम्झौता गरेर आउँछन् तर हामीले गरेको लगानीलाई माफियाको लगानी भनेर खिल्ली उडाउने र बेवास्ता गर्ने परिपाटी छ’ वरिष्ठ उपाध्यक्ष झाले भने । शुल्क निर्धारण गर्ने सीटीईभीटीले वैज्ञानिक विधि नअपनाएको उनको आरोप छ ।
सीटीईभीटीबाट स्वीकृति लिएर स्वास्थ्य, कृषि, पशु विज्ञानलगायतका २२ वटा विषयमा प्रविणता प्रमाणपत्र र स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नेपालमा १७९ वटा शैक्षिक संस्थाहरु रहेका छन् । सवै संस्थामा गरेर १५ अर्ब रूपैयाँको हाराहारीमा लगानी भएको छ ।
यस्तो शैक्षिक संस्थाले विसं. २०२८ सालमा बनेको शिक्षा ऐनअनुसार सञ्चालन हुनु पर्दा अफ्ठ्यारो र समस्याहरु बेहोरेको अधिवेशनमा कुरा उठेको थियो । प्राविधिक शिक्षा सञ्चालन ऐन र नभएमा निर्देशिकासम्म आउनुपर्ने उनीहरुको माग छ ।
‘विगतमा हाम्रो मागलाई सुनुवाई गर्ने कोही थिएनन् । सभासदसमेत हाम्रो पक्षमा भएनन्’ फोरमका निवर्तमान अध्यक्ष यमप्रसाद अधिकारीले भने । यो पटक प्राविधिक शिक्षालयका सञ्चालक तथा शेयर धनीहरुसमेत गरेर लगभग ६० जना सभासदहरु रहेको उनले बताए ।
‘हो यस्तो बेलामा ऐन वा निर्देशिका ल्याउन सहज हुन्छ । गैरसरकारी विधेयकसमेत लैजान सकिन्छ’ नेपाल स्वास्थ्य व्यवसायी परिषदका धनप्रसाद पौडेलले सुझाव दिए । सरकारले आफ्नै अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ पढाउन नपाउने नियम बनाएको थियो ।
‘यो नियम घातक भयो भनेर कुरा राख्न हामी संसदीय समिति कति चाहारेका थियौ । बल्ल बल्ल एकजना सभासदलाई चिनेर संसदमा कुरा उठाउन सफल भएका थियौँ । अहिले त अवस्था अर्कै छ । संसदमा हाम्रा धेरै साथीहरु हुनुहुन्छ, त्यसैले कानुनी रूपमा बलियो बन्न सजिलो हुन सक्छ’ निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ ।
फोरमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नै प्रमुख अतिथि बनाएर प्राविधिक शिक्षालयका सञ्चालक तथा शेयर सदस्यसमेत रहेका संविधानसभा सदस्यलाई बिहीबार काठमाडौँमा सम्मानसमेत गरेको छ । उनी माधव नेपाल प्रधानमन्त्री हुँदा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनैपर्ने नीति सरकारले बनाएको थियो ।
सरकारको सो नीति सर्वोच्च अदालतले खारेज गरेको थियो । प्राविधिक शिक्षालयमा सस्तोमा स्वास्थ्य विषय पढेर तयार भएका स्वास्थ्य प्राविधिकहरुका कारण नेपालमा मातृ मृत्युदर बाल मृत्युदर कम भएर गएको शिक्षालय सञ्चालकहरुको दावी छ । नयाँ नेतृत्व चयन गर्दै शनिबार अधिवेशन सकिएको छ ।
Discussion about this post