कसरा । चितवन राष्ट्रिय निकुञ्जमा रहेका विभिन्न तालतलैया पानीको अभावमा सुक्दै गएका छन् ।
कतिपय तालहरू जलकुम्भी र करौँते झारले भरिएका छन् भने कतिपय तालमा पानीको सतह घट्दै गएको चितवन निकुञ्जले जनाएको छ । विगत वर्षमा जस्तो नियमित रूपमा वर्षा नहुने र पानीका मुहानसमेत सुक्दै गएकाले तालको संरक्षणमा समस्या परिरहेको छ ।
करिब पाँच वर्षको मूल्याङ्कन गर्ने हो भने अहिले तालमा पानीको सतहमा निकै परिवर्तन आएको निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो ।
उहाँले वन्यजन्तुलाई तालको अभाव नहोस् भनेर तालबाट झारपात हटाउने, सफा गर्ने र नयाँ पोखरी बनाउने काम जारी रहेको बताउनुभयो ।
निकुञ्जमा करिब एक दर्जन तालमा नियमित पानी भए पनि दर्जनकै हाराहारीका ताल वर्षाकै कारण बन्ने गरेका छन् । तर नियमित पानी नपरेपछि ती ताल क्रमशः घट्दै गएको प्रवक्ता पौडेलले बताउनुभयो । जलवायु परिवर्तनको असरसमेत देखिने गरेको पौडेलले बताउनुभयो ।
भएका ठूला तालमा पनि पानीको सतह घटेको देखिएको उहाँले बताउनुभयो । चितवन निकुञ्जको पानीको स्रोत चुरे क्षेत्र नै हो । चुरे क्षेत्रमा वन विनास हुँदै जानु पनि ताल सुक्नुको अर्काे कारण भएको वातावरण विज्ञहरू बताउँछन् । वन र पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने उनीहरू बताउँछन् ।
चितवन निकुञ्जमा रहेका ६० भन्दा बढी तालहरूमध्ये धेरैजसो सुकेका छन् । भएका तालमा पनि संरक्षणको अभाव छ । निकुञ्जमा अहिले तमोर ताल, लामी ताल, देवी ताल, गरुड ताल, कमल ताल विस्तारै पुरिंदै गएको निकुञ्जले जनाएको छ ।
यहाँका सामुदायिक वन क्षेत्रका तालसमेत सुक्दै गएपछि कृत्रिम ताल विगतका वर्षदेखि नै बनाइँदै आएको संरक्षणकर्मी दीपक अधिकारीले बताउनुभयो । ती तालमा समेत वन्यजन्तु रमाउने गरेको देखिएको छ । त्यसैले तालको संरक्षणका लागि सबै क्षेत्रका प्रतिनिधि गम्भीर हुनुपर्ने संरक्षणकर्मीहरू बताउँछन् ।
Discussion about this post