कुष्ठरोग ‘निवारण’को पटाक्षेप

अन‌ि यो पनि

नेपालमा कुष्ठरोग निवारण घोषणा भएको एकदशक पूरा भएको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार नेपालमा अझै १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन । ती जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा पत्ता लागेका नयाँ बिरामीको संख्यामात्रै ३ हजार २८२ देखिएबाट कुष्ठरोग निवारण हुन नसकेको पुष्टि हुन्छ । प्रति दशहजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी रहेको अवस्थालाई कुष्ठरोग निवारण भएको मानिन्छ । अर्थात् प्रतिलाख १० जनाभन्दा कम नयाँ रोगी हुनुपर्छ । तर, कुष्ठरोग निवारण भएको विगत १० वर्षको तथ्यांक हेर्दा कुष्ठरोग निवारणको पटाक्षेप गरेको छ । तथ्यांक हेर्दा कुष्ठरोग निवारण गर्न हतार भएको देखिन्छ । किनभने, नेपालको जनसंख्या करिब तीन करोडलाई आधार मान्दा पनि नयाँ बिरामीको संख्या प्रतिलाख ११ जनाभन्दा बढी हुन आउँछ । एक अध्ययनअनुसार नेपालमा हालसम्म करिब ३० हजारको संख्यामा कुष्ठरोगले अपाङ्गता भएका व्यक्ति छन् । लामो समयदेखि कुष्ठरोगमा काम गर्दै आनन्दवन अस्पताल र दी लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरुपमा सार्वजनिक गरेको अध्ययनमा कुष्ठरोगी बढेको औँल्याइएको हो ।

सो अध्ययनले कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको संख्या झण्डै एक लाख ९५ हजार रहेको र हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि जारी रहेको अध्ययनमा जनाइएको छ । विशेषज्ञहरुका अनुसार आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने यो रोगले खासगरी छाला र नशामा असर गरी अपाङ्गता बनाउँछ । खासगरी प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढी देखिएको छ । कुष्ठरोग निवारण हुन बाँकी रहेका जिल्ला पनि अधिकांश तराईका छन् । सरकारले सन् २०२० सम्म सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, हालसम्मको बिरामीको तथ्यांक र प्रकोप दर विश्लेषण गर्दा यस वर्षमा लक्ष्य पूरा हुने कुनै संकेत देखिँदैन । सरकारले कुष्ठरोग निवारण नभई घोषणा गर्न हतारिनुपर्ने थिएन । अझै बाँकी रहेका १७ जिल्लामा सन् २०३० सम्म पनि लक्ष्य पूरा हुने अवस्था नदेखिनु अर्को विडम्बना हो । कुष्ठरोग निवारणको नजिक पुग्नासाथ घोषणा गर्न नै हतारिने र ध्यान १७ जिल्लामा मात्र केन्द्रित गरिनुले निवारण भइसकेका भनिएका जिल्लाको स्थितिबारे पनि कुनै जानकारी आउन सकेको छैन ।

नेपालमा कुष्ठरोग निवारण भएको दस वर्ष बितिसक्दा पनि कुष्ठरोगीको संख्या बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको मुलुक घोषणा गर्दा ११ जिल्लामा निवारण भएकै थिएन । सन् २०२० सम्म आइपुग्दा निवारण नभएका जिल्ला बढेर १७ पुगेको छ । कुष्ठरोगलाई पहिलेदेखि सामाजिक कलंकसँग जोडेर हेर्ने गलत मान्यताका कारण बिरामीहरु प्रारम्भिक चरणमै उपचार गर्न हिचकिचाउने गर्छन्, जसले गर्दा रोगीको संख्या बढिरहेको छ । सरकारले कुष्ठरोगको निःशुल्क उपचार गर्ने व्यवस्था गर्दै आएको छ । विविध माध्यमबाट प्रचारप्रसार गर्नुका साथै उपचार केन्द्रमा आउने बिरामीका लागि यातायात खर्चबापत एक हजार रुपैयाँसमेत दिने गरेको छ । रोग निर्मुल भएपछि पुनःस्थापना तथा आयआर्जनमा मद्दत गर्ने कार्यक्रम पनि छ । नियमित औषधि सेवन गरे निको हुने रोग भएकाले समयमै उपचार गर्न सके कुष्ठरोग निर्मुल हुनेमा द्विविधा छैन । तर, समाज र परिवारले कुष्ठरोगीलाई हेलाको दृष्टिले हेर्ने चलन अद्यापि छ । कुनै व्यक्ति रोगी हुनु अपराध होइन । रोग लागेकै कारण फरक व्यवहार गर्नुचाहिँ अमानवीय अपराध हो । कुष्ठरोगीको पहिचान गरी उपचार गराउन सके निवारणको लक्ष्य पूरा हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया