रत्ननगर उवासंघको निर्वाचन
रत्ननगर । गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनको झल्को दिने गरी रत्ननगरका व्यवसायीहरु चुनावी प्रसार प्रचारमा जुटेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि चैत १० र ११ गते हुने निर्वाचनमा उम्मेदवार बनेका व्यवसायीहरु भोट माग्न घरदैलोमा पुगेका छन् । निर्वाचनका लागि दुई प्यानल बनाएका व्यवसायीहरु घाँटीमा फोटो, नाम र पद अंकित कार्ड झुण्डाएर समूहमा घरदैलोमा पुग्दा संविधानसभाको निर्वाचनको झल्को आएको थियो ।
उम्मेदवारहरुले चुनाव प्रचारको लागि ठूला ठूला फ्ल्याक्स बनाएर बजारको चोकचोकमा राखेका छन् । निर्वाचनको लागि नेकपा एमाले निकट व्यवसायी र एमाओवादीको एउटा संयुक्त प्यानल तथा काँग्रेस र नेकपा–माओवादी निकटका व्यवसायीको अर्को संयुक्त प्यानल चुनावी मैदानमा छ ।
एमाले–एमाओवादी निकटका व्यवसायीको प्यानलबाट ज्ञानबहादुर विसुराल र काँग्रेस–नेकपा–माओवादी प्यानलबाट उमेश घिमिरे अध्यक्षको लागि प्रतिष्पर्धा गर्दैछन् । दुई प्यानल १५÷२० जना व्यवसायीहरुको प्यानल बनाएर व्यवसायीको घरघरमा पुगेर भोट मागिरहेका छन् ।
दुवैतर्फका अध्यक्ष लगायतका अन्य उम्मेदवारहरुले आफना एजेण्डा र चुनाव जितेपछि व्यवसायीका पक्षमा गर्ने कार्ययोजना प्रस्तुत गरेर व्यवसायीहरुसँग भोट मागेका छन् । अध्यक्षका उम्मेदवार ज्ञानबहादुर विसुरालले आफूले चुनाव जिते आर्थिक विकास र व्यवसायीको एकतालगायतका एजेण्डाहरु लिएर मतदाता व्यवसायीको घरदैलोमा पुगेर भोट मागेका प्रतिक्रिया दिनुभयो ।
त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार उमेश घिमिरेले व्यवसायीको हित र सुरक्षालाई निर्वाचनको प्रमुख एजेण्डा बनाएको बताउनुभयो । निर्वाचन कार्यतालिका अनुसार चैत्र ८ गते दिउँसो एक बजेसम्मको समय उम्मेदवारी फिर्ताका लागि तोकिएको छ भने दिउँसो २ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
चैत्र १० गते १५ औं साधारण सभाको उद्घाटन तथा चैत्र ११ गते बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । रत्ननगरको होटल स्टार बेन्क्युटमा हुने अधिवेशनको उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।
७ सय फर्म दर्ता
रत्ननगर उद्योग वाणिज्य संघको नेतृत्वको लागि चैत १० र ११ गते हुने निर्वाचनलाई लक्षित गरी झण्डै ७०० व्यवसायीको फर्म, पसल तथा उद्योग दर्ता भएको पाइएको छ । २०६८ सालमा संघको नेतृत्वको लागि भएको निर्वाचनमा ५०३ जनाको मात्र फर्म दर्ता रहेकोमा अहिले एक हजार ४१५ जना व्यवसायीले फर्म दर्ता गराएका छन् । बीचमा केही फर्म दर्ता गरिएको भएपनि निर्वाचनको माहोल सुरू भएपछि एक महिनाको अवधिमा ७०० व्यवसायीले फर्म दर्ता गराएको संघले जनाएको छ ।
Discussion about this post