असुरक्षित समाजको पराकाष्ठा

अन‌ि यो पनि

एक्काइसौँ शताव्दीमा नेपाली समाज चेतनशील, सभ्य र आधुनिक बन्दै गइरहेको सन्दर्भमा दिनानुदिन असभ्य र पशुतुल्य कृत्यहरु पनि उत्तिकै बढिरहेका छन् । मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ । समाजमा विभिन्न खाले अपराधको बढोत्तरीसँगै सरकार र सुरक्षा निकायलाई सुरक्षा चुनौती थपिएको छ । सञ्चारमाध्यममा हरेकदिन बालिका बलात्कार, सामूहिक बलात्कार, अपहरण गरी बलात्कार, झ्यालबाट छिरेर घरमै सुतिरहेकी किशोरीमाथि बलात्कार र सामूहिक बलात्कारपश्चात् हत्याजस्ता कहालीलाग्दो घटना सार्वजनिक हुँदै आएका छन् । समाज जतिसुकै उन्नत र चेतनशील मानिए पनि दिनहुँ छोरीचेलीहरु प्रताडित भइरहेका छन् । गरिबी र अभाव असुरक्षाको एउटा कारण हो भने बालिका बलात्कार, हत्या, अपहरणजस्ता घटना मुलुकका आर्थिक सामाजिक समस्याका उपज हुन् । तराई मधेसमा अझै पनि छोरीचेलीलाई बोझका रुपमा लिने गरिएको छ । छोरा पाउँदा हर्ष बडाइँ गर्ने भद्रभलाद्मीहरु छोरी पाउँदा मनोविज्ञान नै नकारात्मक हुने प्रवृत्ति अद्यापि चलिरहेको छ । पछिल्लो समय छोरीहरु परिवारबाटै असुरक्षित र समाजबाट तिरस्कृत बन्न पुगेका छन् । हालै कानकाई नगरपालिका १ झापाका एक ३० वर्षीय बाबुले आफ्नै सात वर्षीया छोरी बलात्कार गरेको खबरले छोरीहरु परिवारकै सदस्यबाटै असुरक्षित रहेको देखाएको छ । यस्तै, पूर्वी नवलपरासीको हुप्सेकोट २ कालिया गाउँपालिकामा एक ६६ वर्षीया महिला बलात्कृत भएकी छन् । यी सार्वजनिक भएका घटनाका दृष्टान्तमात्रै हुन् ।

छोरीचेलीका लागि आफ्नै परिवारका सदस्य असुरक्षित हुनुपर्ने अवस्था असुरक्षित समाजको परिणति हो । मन्दिरका पूजारी, गुरुकूल तथा विद्यालयका शिक्षक, आश्रमका सञ्चालक, संरक्षकहरुबाटै आपराधिक कुकृत्य भएका खबरहरुले बालिकादेखि वृद्धासम्म कोही पनि सुरक्षित छैनन् भन्ने प्रष्ट हुन्छ । समाज आधुनिक बन्दैमा, मानिसका जीवनशैली फेरिँदैमा, शिक्षा र चेतनाको विकास हुँदैमा पनि अपराध न्यूनीकरण हुँदो रहेनछ भन्ने ज्वलन्त उदाहरण हो यो । मानिसमा आपराधिक मनोवृत्ति नहटेसम्म छोरीप्रति सम्मान र समान व्यवहार नभएसम्म छोरीहरु सुरक्षित र स्वतन्त्र हुँदैनन् । रक्षक नै भक्षक भएपछि समाज शान्त र भयरहित बन्नै सक्दैन । भनिन्छ, पशुको विवेक हुँदैन । तर, पशुले समेत आफ्ना सन्तानको ख्याल राखेरमात्रै यौनजन्य व्यवहार गर्छ । आधुनिक समाजमा मान्छेहरु पशुभन्दा हिंस्रक बन्दै गइरहेका छन् यो निकै दुःखलाग्दो अवस्था हो । ससाना फूलका कोपिला चुँड्न त पाप लाग्छ भन्ने मान्यताका फूलोस् र फक्रियोस् भनेर छाड्ने गरिन्छ । तर, नेपालमा निर्मला पन्तजस्ता कैयन् छोरीहरु फूल्न नपाउँदै निमोठिनुुपर्ने नियति छ । नेपालको संविधानले छोरा र छोरीमा संवैधानिक हक र समानताको हक सुनिश्चित गरेको छ । राज्यले लैंगिक विभेद गरेको छैन । तर, छोरीहरुले समाजमा बर्बर यातना भोगिरहेका मात्र छैनन् उनीहरुको बाँच्ने अधिकार पनि खोसिएको छ ।

छोरीहरु घरैदेखि असुरक्षित हुनुपर्ने, कहिले बलात्कृत हुनुपर्ने, कहिले आगोमा जल्नुपर्ने त कहिले इहलीला नै समाप्त हुनुपर्ने दुःखद् नियति भोग्नु पर्दा राज्य विहीनताको झल्को आउँछ । किनभने, दिनहुँ छोरीहरु नरपिचासहरुबाट निमोठिइरहँदा राज्यले ठोस कदम चाल्न नसकेको अनुभूति भइरहेको छ । देशमा कानुन छ, कार्यान्वयन गर्ने निकाय पनि छ । तर, खोइ कानुनको प्रभावकारिता ? खोइ सुरक्षाको प्रत्याभूति ? खोइ छोरीहरुको सुरक्षा ? निर्मला पन्त हत्या प्रकरणमा राज्यले सुरक्षा र हत्यारा पत्ता लगाउन नसक्दा दण्डहीनता मौलाएको छ । आपराधी मनोवृत्ति भएका नरपिचासहरुको मनोबल बढेको छ । थुप्रै निर्मलाहरु कोपिलामै चुँडिएका छन् । यही माघ १५ गते दक्षिण चितवनको माडी नगरपालिका २ निवासी ५५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भयो । बोल्न नसक्ने र शारीरिक अवस्थासमेत अशक्त रहेकी ती महिलामाथि भएको कारुणिक निर्दयताले सभ्य समाजमाथि पटाक्षेपमात्र गरेको छैन, राज्यको सुरक्षालाई ‘कुरीकुरी’ गरेको छ । समाजमा देवीका नाममा पूजिने छोरीचेलीहरुमाथि भइसकेका घटनाका श्रृंखलाले छोरी अभिभावकहरुको मुटु चसक्स भएर दुखेको छ । कोपिला निमोठ्ने निर्दयीहरुलाई फाँसी नै दिनुपर्ने आवाज अस्वाभाविक लाग्न छाडेको छ । यस्तो विषम परिस्थितिमा राज्यले अपराधीलाई कडा सजाय दिलाएर समाजलाई भयरहित बनाउनु जरूरी छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया