–केशव भट्टराई
संविधानसभाको चुनावमा उम्मेदवारी दिएका मित्रसँग हालसालै भेट भएको थियो । भेटवार्ताका क्रममा उनले दोस्रो बिहे गरेको थाहा पाएँ । त्यसपछि मैले प्रश्न गरेँ ः ‘सभासद्ज्यू तपाईंले त बहुविवाह गर्नुभएछ । बोलीमा त समानताको कुरा पनि गर्नुहुन्छ, व्यवहारमा त त्यस्तो देखिएन नि ?’ उनले नरम हुँदै भने ः ‘पत्रकार बन्धु, हरेक घटनामा एउटा ‘कारण’ हुन्छ । दोस्रो बिहे गर्ने रहर सायद कसैलाई पनि हुँदैन । व्यक्तिको बाहिरी आवरण हेरेर भित्रको कुरा थाहा पाइँदैन, त्यसको लागि भित्री रहस्य पनि बुझ्नुपर्छ ।’ उनले ‘भित्री रहस्य’को कुरा गरेपछि म अलिक झस्किएँ । अरुको आन्तरिक कुरा खोतल्दा सम्बन्धित व्यक्तिलाई पर्ने पीडाको विषयमा म जानकार नै थिएँ । त्यसैले कारणतिर जान चाहिनँ । सोधेँ ः ‘दोस्रो बिहे समाधानभन्दा बढी समस्या हुनसक्छ नि ?’ उनले मेरो आशय बुझेर उत्तर दिए ः ‘मेरो यो बाध्यता, विवशता र आवश्यकता हो ।’ ‘भैहाल्यो नेताज्यू, यो प्रसङ्गलाई यहीँ बन्द गरौँ ।’ मैले प्रसङ्ग मोड्न थालेपछि उनलाई कता–कता असहज महसुस भएछ । उनले भने ः ‘तपाईंको भ्रम हटाउन भए पनि मैले यथार्थ खोल्नैपर्छ । अब तपाईंले मेरो कथा सुन्नुपर्छ ।’ त्यसपछि उनले यसरी सुनाए, आफ्नै ‘स्याड स्टोरी’– ‘‘…..परिस्थितिले म सुकुमबासी बनेँ । सानै छाप्रो किन नहोस्, मेरो आफ्नै घर र पुर्जाविहीन भए पनि थोरै जग्गा थियो । र, म जस्तैहरुको एउटा सानो बस्ती थियो । आर्थिक, पारिवारिक र सामाजिक प्रतिकूलताका कारण उच्च शिक्षा अध्ययन गर्न सकिएन । साथीहरुको संगतका कारण पढाइकै क्रममा दादागिरी पनि गरियो र समाजले ‘लोकल डन’को उपाधिसमेत दियो । त्यसैबेला राजनीतिक स्वार्थले नेताहरुको दाहिने हात बनियो । स्थानीय नेताको ‘पर्सनल असिस्टेन्स’ बनेपछि राजनीतिक चेतना पनि थपियो र त्यसैको आडमा ठेक्कापट्टा गर्ने आँट पनि आयो । समय क्रमसँगै, उतिबेला मेरो ‘डिमान्ड’ बढी नै थियो । स्थानीयस्तरमा मेरो बोली बिक्ने भएको थियो । नेताहरुको विश्वासपात्र बन्ने मौका पनि मिल्यो । बढ्दो उमेर र चढ्दो जवानीसँगै एउटी यौवनासँग उतिबेलै प्रेम पलाएको थियो । पहिले आकर्षण र पछि प्रेमको गहिराइमा डुब्दै गएपछि एकबिना अर्कोको जीवन अधुरो रहने निष्कर्षमा पुगियो । प्रेमलाई झनै कसिलो बनाउन बिहेमा परिणत गरियो । हाम्रो प्रेमरुपी फूलको बोट पनि हुर्कियो । प्रेमको बगैँचामा प्रशस्त फूलहरु फुले । तन, मन र जोवनसमेत रमणीय बन्दै गयो । प्रेममा चुर्लुम्म डुबेका बेला दायाँबायाँ केही हेरिएन, केही सोचिएन । हाम्रो प्रेमको उपहारस्वरुप घरमा ‘लक्ष्मी’ भित्रिइन् । परिवारमा खुसीयाली छायो । सबैभन्दा खुसी त म नै भएँ । सन्तान प्राप्तिसँगै जिम्मेवारी पनि थपियो । मैले जीविकोपार्जनका अन्य उपायहरुको खोजी गर्न थालेँ । त्यसको केही वर्षमा अर्को उपहार पनि थपियो– ‘श्रीकृष्ण’ । ‘ईश्वरको वरदान ः दुईमात्र सन्तान’ प्राप्त भएपछि हाम्रो खुसीको सीमा नै रहेन । तामाका मुनाजस्ता दुई सन्तानसहित हाम्रो पारिवारिक जीवन केही वर्ष सुःख–दु्ःखले चल्यो । जतिसुकै तनाव भए पनि घर पुगेपछि थकाइ मेटिन्थ्यो । मनमा उत्साह र उमङ्गको वर्षाद् नै हुन्थ्यो । कहिलेकाहीँ हामी क्यारिमबोर्डमा बाजी खेल्थ्यौँ । हार्नेले खाना बनाउने र भाँडा माझ्नुपथ्र्यो । र, जित्नेले टिभी घन्काएर रमाइलो गरिन्थ्यो । बाजी जित्नेहरु कराउँथ्यौँ, टोलै थर्कने गरी । हाम्रो प्रेमपूर्ण परिवार देखेर छरछिमेक दंग पर्थे । छिमेकी घरमा झैझगडा हुँदा हाम्रै उदाहरण दिएर मिलापत्र गरिन्थ्यो । हामी सबैका उदाहरणीय परिवार कहलिएका थियौँ । छोराछोरी स्कुल जान थालेपछि जिम्मेवारीले पेट पोल्न थाल्यो । बढ्दो महँगीले झनै थिचेको थियो । एउटाको कमाइले चार जना पालिन धौधौ हुन थाल्यो । मलाई परि
वारप्रतिको उत्तरदायित्वले विदेश गएर कमाएर आफ्नो परिवारलाई सुखसँग पालूँ विचार पलायो । खासमा मलाई विदेश मोह कत्ति पनि थिएन । बाध्यताले मान्छेलाई मन नलागेको ठाउँमा पनि पु¥याउँदोरहेछ । म बलिन्द्र धारा आँसु चुहाउँदै खाडी मुलुक उडेँँ । जहाँँ म हरेक दिन रोएँ । कहिले भक्कानिएर रोएँ, कहिले जीवनसँगिनी र छोराछोरीबाट बिछोडिनु परेकोमा रोएँ । कहिले एकान्तमा रोएँ । कहिले साथीभाइसँग समूहमा रोएँ । म तिनै आश्रित परिवार सम्झेर रोएँ । सपनीमा रोएँ, बिपनीमा रोएँ । म विदेशमा सधैँ–सधैँ रोएँ । परदेशको कठिन जिन्दगीको पीडा सँगालेर म पहिलो पटक घरमा आएँ, त्यसपछि त म झन् डाँको छोडेर रोएँ । किनकि, त्यसबेला म एकमुष्ट रोएको थिएँ । मैले प्राणभन्दा प्यारो परिवार भेटेको थिएँ । मेरो आँसुको मूल्य र मेरो व्यथा बुझ्ने प्रेयसी र छोराछोरी भेट्न पाएको थिएँ । मानौँ, एउटा माछोले मरूभूमिको कठिन यात्रा सकेर समुद्र भेट्टाएको छ । जति दुःख गरेर आए पनि म लाहुरे कहलिएको थिएँ । साथीभाइ र छिमेकी नयाँ लाहुरेलाई भेट्न आएका थिए । मानौँ, त्यतिबेला मैले भर्खर मन्त्री बन्ने सौभाग्य प्राप्त गरेको थिएँ । जतिबेला शुभचिन्तकहरु मेरो निवासमा जम्मा भएका थिए, मैले मुख मीठो बनाएर पठाइदिएको थिएँ । त्यसदिन कहिल्यै मेरो झुपडीमा पाइला नटेक्नेहरुसमेत सञ्चो–बिसञ्चो सोध्न आइपुगेका थिए । अनि मैले सबै व्यथा बिर्सिएर लाहुरे हुनुको आत्मगौरवले पुलकित भएको थिएँ । मेरी प्रियसी स्वतःस्र्फूत लाहुरेनी भएकी थिई र मेरा लालाबालाहरु लाहुरेका छोराछोरी कहलिएका थिए । लामो अन्तराल भएर हुनसक्छ, म परिवारको नियास्रो मेटाउन ‘ओथारो’ बसेजस्तै एकै ठाउँमा घन्टौँ बस्ने भएको थिएँ । गाउँमा समवयीहरु कोही बाँकी थिएनन् । दुई वर्षमा म स्वयं बिरानो भएको थिएँ । चिनेजानेकाहरु अनौठाजस्ता लाग्न थालेका थिए । गाउँसहरको स्वरुप बदलिसकेको थियो । मान्छेहरुको स्वभाव र जीवनशैली परिवर्तन भइरहेको थियो । जुन नेताको त्यतिबेला म ‘पिए’ बनेको थिएँ, उनले समेत मलाई बिर्सिसकेका थिए । म आफ्नै देशमा परदेशीजस्तो बनेको थिएँ । मेरो कुनै कुरा परिवर्तन भएको थिएन । दुःखै गरेर भए पनि आर्थिक रुपमा दुई–चार पैसा कमाएको थिएँ । ऋण–धन गरेर विदेशिएको थिएँ । साहूहरुलाई तिरोतारो भुक्तान गरेपछि प्रियसीको फर्माइस, छोराछोरीको चाहना र बदलिँदो जीवनशैलीका कारण म फेरि विदेशिन बाध्य भएँ । यसबेला भने मलाई परिवारबाट छुट्टिने बेला पहिलेजस्तो पीडाबोध भएन । किनभने, मैले बिछोडको वेदना र परिवारबाट अलग हुँदाको पीडा पहिले नै महसुस गरिसकेको थिएँ । दोस्रो पटकचाहिँ मैले ‘सेक्युरिटी गार्ड’मा राम्रो काम फेला पारेँ । कमाइ पनि सोचेभन्दा राम्रो भयो । अघिल्लो दुई वर्षमा आर्जन गरेजति त चार महिनामै कमाउन सफल भएँ । रेमिट्यान्स पनि मासिक रुपमा पठाउँदै गएँ । त्यसैबाट अलिकति जग्गा जोड्न सकियो, सानो घर बनाइयो र बैंकमा बचतसमेत हुन थाल्यो । हाम्रो परिवार अब सुकुमबासीबाट बिस्तारै हुकुमबासीमा रुपान्तरण हुँदै गयो । त्यतिबेला नेपालमा पनि सूचना प्रविधिको विकास हुँदैथियो । नेपालीलाई अचम्म लाग्दो ‘मोबाइल फोन’ भित्रिएको थियो । अहिले त मोबाइलबारे थाहा नहुने नेपालमा बिरलै होलान् । मैले पनि घरमा एउटा ल्यापटप, मोबाइल र साउन्ड सिस्टमले भरिपूर्ण बनाइसकेको थिएँ । भित्ताभरिको ‘एलइडी टिभी’ त गाउँमा मैले नै पहिलोचोटि भित्र्याएको थिएँ । मेरो सपना बिपनामा परिणत भइसकेको थियो । किनभने, म एउटा विपन्न र एक धुर जग्गाजमिन नभएको साधारण मान्छेले एउटा मध्यम वर्गको जीवनशैली अपनाउने हैसियत बनाइसकेको थिएँ । यो मेरा लागि ठूलो सफलता थियो । विडम्बना, समयले मलाई साथ दिएन । मेरा सफलताहरु क्रमैसँग उल्टिए । अर्थात्, म पहिले जस्तो थिएँ, ठीक उस्तै–उस
्तै भएँ । मेरो घरमा परिवार रहेन, म मात्र रहेँ । मेरी प्रियसी, छोराछोरी र धन–सम्पत्ति केही पनि बाँकी रहेन…। मैले स्वजातीय केटीसँगै प्रेम गरेर घरबार बसालेको थिएँ । जब म बाध्यताले परदेशिएँ, मेरी प्रेयसी अर्कैसँग लहसिन पुगिन् । हाम्रो सम्बन्धमा घातक बनेको त्यही ‘मोबाइल फोन’ हो जसका कारण मेरो मात्र होइन, अधिकांशको यसले घरबार बिगारिदिएको छ । साँझ–बिहान, रात–मध्यरात यही मोबाइलको कनेक्सनले समाज विकृत बनिरहेको छ । परिवार विखण्डन गराइदिने यो मोबाइल फोनबाट कतिको अवस्था मेरो जस्तै भएको होला । मैले वर्षौंसम्म पठाएका रेमिट्यान्सबाट कति केटाहरुको पेट्रोल खर्च चल्यो, पकेट मनी ट¥यो र कलेज खर्चसमेत धानियो, थाहा छैन । कतिपय मैजस्ता पीडितहरुको पसिनाको कमाइले कति रेस्टुरेन्टहरुका ‘बिल पेमेन्ट’ भए, कति लजवालाहरुको रोजगार चल्यो र कतिवटा पल्सर बाइकहरु खरिद भए, त्यसको पनि कुनै लेखाजोखा छैन । यो मोबाइल भित्रनुअघिसम्म यस्ता विकृत घटनाहरु मौलाउन सकेका थिएनन् । वर्षौंदेखि प्रेम गरेर ल्याएकी प्रियसीलाई धोका दिएर मैले अर्को बिहे गरेको पनि होइन । उसले नयाँ झिल्केलाई रोजे पनि मेरो भन्नु केही थिएन । तर, उसले मैले आठ–आठ वर्षसम्म मिहिनत गरेर कमाएको लाखौँ रूपैयाँ झ्वाम बनाइदिई । मेरो पसिना पिएर कति भुसतिघ्रेहरुले अस्थायी रोजगारी पाए होलान् । कति भाडाका टट्टुहरुको ‘पकेट मनी’ जुट्यो होला । र, कति छट्टहरुले बिजनेससमेत सञ्चालन गरे होलान् । मेरो यस्तो हबिगत बनाएर गई । उसले मेरा फूलजस्ता सन्तानसमेत सँगै लिएर गई । यस्तो अवस्थामा जोकोही त बौलाउँछ । तर, म भने समाजकोे नजरमा दोषी ठहरिँदै छु । मैले कन्या केटी बिहे गरेको होइन । ऊ पनि श्रीमान्ले हेलाँ गरेर छाडिएकी अबला हो । यस अर्थमा मैले मानवीय नाताले उसलाई साथ दिएको हुँ । परदेशको मोह छाडेर यतिखेर सानोतिनो व्यवसाय गरेर हामीले नयाँ जिन्दगीको सुरूवात गरिरहेका छौँ । मैले अन्याय गरेँ कि अन्यायमा परेँ…?’’ उनको घरबार बिग्रनुको दोष मोबाइलको हो वा उनको थाहा भएन । दोष त समयकै हुनुपर्छ, जवानीकै हुनुपर्छ अनि चेतनाकै हुनुपर्छ । मैले उनको स्याड स्टोरी सुनेर केही निष्कर्ष निकाल्न सकिनँ । मैले न्याय–अन्याय छुट्याउने जिम्मा स्वयम्भूको दुई आँखालाई नै दिएको छु ।
Discussion about this post