–वीरेन्द्रमणि पौडेल
नेपाल नामको यो देश एउटा मात्रै कारणले होइन, थुप्रै कारणले लथालिंग र भताभुंग भएको हो । ती थुप्रै कारणमध्ये एउटा कारण हो– आर्थिक भ्रष्टाचार । आर्थिक भ्रष्टाचार कसले गर्छ होइन, कसले गर्दैन भन्ने प्रश्नचाहिँ ठीक प्रश्न हुन्छ । अपवादलाई छाडेर सबका सब नेपाली नागरिकलाई पैसा कमाउन हतार छ । त्यो पनि गतिलो र नियमसंगत तरिकाले होइन– लटरपटर पारेर, कानुनलाई धोका दिएर, नैतिक आचरणलाई खरानी पारेर । मान्छे राजनीतिज्ञ ! उद्योग छैन, जागिर छैन, आम्दानीको कुनै स्रोत छैन । उसैको बंगला ठूलो, उसैका पर्खालले घेरेको आँगनमा करोडको गाडी, उसकै स्वास्नीको नाक, कान र घाँटीमा टनाटन सुनका गहना । नेताजीको त्यो धन कहाँबाट आयो ? कुनै जवाफ छैन । नेताजी ठाडै आर्थिक भ्रष्टाचारी । दिनभरि क्यारमबोर्ड खेल्ने, रात परेपछि भट्टीमा बास, आम्दानीको स्रोत केही छैन । खर्च महिनामा कम्तीमा ५० हजार । कहाँबाट आयो त्यत्रो ठूलो रकम ? त्यसरी खर्च गर्ने मान्छे ठाडै आर्थिक भ्रष्टाचारी । चाहे यो तरिकाले भ्रष्टाचार गरोस्, चाहे त्यो तरिकाले । आखिर नियमसंगत कमाइ नगर्नेहरु सबै भ्रष्टाचारी हुन् ।
अन्य र अरु पेसाका थोरैलार्ई छाडेर सबका सब भ्रष्टाचारी भएको यो देशका सरकारी तलब खाने कर्मचारीहरु पनि उत्पात्का भ्रष्टाचारी हुन् । कुनै कर्मचारी कागज मिलाएर खान्छन्, कोही कागज नमिलाई खान्छन् । आर्थिक भ्रष्टाचार गर्न पाए गर्छन्, गर्न नपाए कामचाहिँ गतिलोसँग गर्दैनन् । अर्थात्, सरकारले तोकिदिएको ड्युटी गर्दैनन् । कर्मचारीहरु कामचोर छन् । कुल मिलाएर नेपाली जनताको रगत र पसिनाबाट संकलित रकम जो सरकारी ढुकुटीमा करका रुपमा जम्मा हुन्छ, त्यसबाट तलब खाएर पेन्सनसमेत लिन्छन् तर मौका मिलेसम्म बेइमानी गरिहाल्छन् । यही हो नेपाली कर्मचारीको जनताका माझमा भएको परिचय ।
तर, यही मुलुकको चितवन जिल्लामा यसपालि अनौठो घटना घट्यो । यस जिल्लाका थुप्रै कर्मचारी इमानदार देखिए । आर्थिक रकम ल्याप्पलुप्प पारेको खबर अपवादलाई छाडेर आएन मात्रै होइन, काम पनि शतप्रतिशत इमानदारितापूर्वक गरे । मालपोत कार्यालयका हाकिमले उनी त्यो कार्यालयमा आएदेखि आजका मितिसम्म लटरपटर गर्न दिएनन् । राम्रै गरे । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले आफ्नो जिन्दगी नै परिवर्तन गरे । उनी हाकिम–पारा देखाउँथे । सामान्य सेवाग्राहीलाई हप्कीदप्की लाउनु उनको शौखजस्तै थियो । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमार्फत राजस्थानको माउन्टआबु पुगेर यिनले जिउने कला सिकेर आए । यतिबेला यिनले मान्छेजस्तै भएर बाँच्न सिकिरहेका छन् । अचम्मको प्रगति गरेका छन् । यो कुरा यिनले शिवरात्रिको दिन हजारौँ मान्छेकै अगाडि “आफू सुध्रिएको” सगौरव बताए ।
शिवराम गेलाल नामका सहायक प्रमुख जिल्ला अधिकारीले आफू प्रमुखअतिथिका रुपमा रहेको एक निजी अस्पतालको कार्यक्रममा त्यही अस्पताल सञ्चालकहरुलाई “नियमविपरीत काम गर्नुभएको भए तपाईंहरुलाई पनि कार्बाही हुन्छ, याद गर्नुस्” बताएर दुनियाँलाई चित् खुवाए । तिनैले अतिथिहरुलाई सम्मान गर्न अब “खादा” होइन, फूलको गुच्छाद्वारा सम्मान गर्ने परिपाटी अँगाल्नु पर्ने तर्क पेश गरेर नेपाली संस्कृति र धन जोगाउने उपाय सिकाए । यिनको मौलिकताको प्रशंसा नगरिरहन सकिने अवस्था रहेन ।
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रद्युम्न कार्कीको प्रशंसा भने अझै गरेर नथाक्ने स्थिति सिर्जना भएको छ । जिल्लामा आएदेखि यिनले अति उत्तम काम मात्रै गरेर देखाए । प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्रका कर्मचारीहरुको सेवा दिने प्रक्रियालाई पूरै परिवर्तन गरिदिए । त्यसकै परिणामस्वरुप आज चितवनका जनता सरकारी सेवा सजिलोसँग पाइरहेका छन् । अनियमितता गर्ने र काला बजारियाहरुलाई यी सिडिओले सातो बोलाएका छन् । औषधि पसल, रेस्टुरेन्टदेखि लिएर किराना पसलेसम्मलाई जनतालाई नक्कली सामान नदिन उर्दी जारी गरे । कानुन तोडे कार्बाही गर्ने चेतावनी दिए । यहाँसम्म कि यिनले कागजपत्र गाँजेमाँजे गरेर सञ्चालन गरेका निजी अस्पतालहरुको समेत सातो बोलाए । चितवनको इतिहासमा यस्तो गतिलो प्रशासक आएकै थिएनन् । यदाकदा सूर्यबहादुर सेन ओली, वसन्तराज गौतम र रत्नराज पाण्डेको नाम आउँछ । यिनलाई छाडेर प्रायः प्रमुख जिल्ला अधिकारीहरु कमसल नै आए भन्ने चितवनवासीको भनाइ छ । अझ थप कमजोर पक्षबारे चर्चै गर्ने हो भने भन्नैपर्छ– “पहिलेका अधिकांश प्रमुख जिल्ला अधिकारीहरु घुस्याहा, जँड्याहा र अनियमितता गर्न नै रमाउने खालका थिए । कुनै–कुनै सिडिओ त अचाक्ली रक्सी खाएर कट्टुमै पिसाब फेरी थलोका थलो सुत्थे । तर, नरेन्द्रराज शर्माले ती सबै खराब काम गर्ने सिडिओहरुभन्दा शतप्रतिशत बेग्लै सकारात्मक काम गरेर चितवनवासीको स्याबासी बटुले । अहिले पनि मान्छेहरु यिनको प्रशंसा गरेर थाकेका छैनन् ।
अब अर्का छन्, एउटा शेर । साँच्चैका शेर प्रहरी प्रद्युम्न कार्की । यिनले शतप्रतिशत कानुनको पालना गरे, गराए । प्रद्युम्न एसपी चितवनमा आएदेखि शान्ति सुरक्षाको स्थिति ह्वात्तै बदलियो । साँझ–बिहान चितौने जनता ढुक्कसँग बाटो हिँड्न नपाउने स्थितिको अन्त्य गरे । आफू अनुशासनमा बसे, सहकर्मीहरुलाई पनि अनुशासित राखे । झैझगडा, लुटपाट, मारकाट करिब–करिब अन्त्य नै भएको देखिएको छ । सिडिओ र यी एसपीको काम गर्ने शैली यतिसम्म अचम्मको रहेछ, एउटा घटनाबाट यसरी पुष्टि हुन्छ ।
एक हप्ताअघि मात्रै एक जना जिम्मेवार नागरिकलाई एक व्यक्तिले मोबाइलमा धम्कीपूर्ण भाषामा फोन गरे । भने– “ओइ फलानो, मैले भनेजति पैसा दिइनस् भने तँलाई ठीक गर्छु, बुझिस् म को हुँ ?” एकैछिन सुन्नेले प्रतिवाद गरे । धम्की दिने व्यक्ति अझै चर्कियो । तर्साउन छाडेन । पीडित व्यक्ति मोबाइल नम्बरसहित प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई भेट्न साँझमा निवास गए । सामान्य भलाकुसारीपश्चात् पीडितले घटना सुनाए । प्रमुख जिल्ला अधिकारीले जवाफ दिए– “म जनताका लागि काम गर्न आएको हुँ । म तुरून्तै अपराधीलाई कार्बाही गर्छु ।” पीडित व्यक्ति घर फर्किएको २० मिनेटमा धम्की दिने व्यक्ति पत्ता लगाएर दुई जना प्रहरीले ती व्यक्तिलाई पक्राउ गरे र थुने । धम्की दिने व्यक्ति एक रात थुनियो । धम्की दिनेको परिवारहरु पीडितका घरमा गएर ती व्यक्ति मानसिक रोगी भएको बताएपछि पीडितले कानुनी कार्बाही नगर्न प्रहरीलाई अनुरोध गरे । यदि उनले अनुरोध नगरेको भए एक कल मोबाइलमा जथाभावी धम्की दिने व्यक्ति प्रचलित कानुनबमोजिम कार्बाहीको भागिदार हुनेथिए । यो अबस्था रहेछ चितवनमा शान्ति सुरक्षाको ।
कसैले ठूलो अपराध गर्नेको त बेग्लै कुरा, फोनमा धम्की दिँदा समेत २० मिनेटभित्र मान्छे पक्राउ गरेर कानुनी कार्बाही अगाडि बढाइहाल्ने, कुनै नेता वा राजनेता वा कलाकार वा धनी, पहुँचवाला कसैको पनि कुरा नसुन्ने, सिर्फ कानुन कार्यान्वयन गर्ने नरेन्द्रराज शर्मा र प्रद्युम्न कार्की यो जिल्लामा रहेछन् । पत्याउनै मुस्किल पर्ने खालका नेपाल सरकारका कर्मचारी यसपटक यो जिल्लामा आएका रहेछन् । योभन्दा अनौठो विषय अर्को के हुन सक्ला यो जिल्लामा ?
यो र यस्ता घटनाले अरु कुराको संकेत गर्दैनन्, मात्रै के संकेत गर्छन् भने गर्न चाह्यो भने सरकारी कर्मचारीले अपराधीलाई तह लगाउन सक्छ । सुशासन दिन सक्छ । लामो समयअघिदेखि गुमेको कर्मचारीको इज्जत फेरि फर्किन सक्छ । तर, खाँचो के मात्रै हो भने सिडिओमा नरेन्द्रराज शर्मा र पुलिसमा प्रद्युम्न कार्कीजस्तै हुनुपर्छ, पचहत्तरै जिल्लाका सिडिओ र एसपीहरु । बाँकी कर्मचारी भनेका सहायक र सहयोगी मात्रै हुन् । यसपटक बधाइ छ चितौने जनतालाई, जसले शान्ति सुरक्षा र सुशासन पाए । धन्यवाद छ जनसेवक सिडिओ नरेन्द्रराज शर्मा र एसपी प्रद्युम्न कार्कीलाई, जसले मोबाइलमा धम्की दिनेलाई समेत बीस मिनेटमै कार्बाहीको दायरामा ल्याएर शान्ति सुरक्षाको स्थिति मजबुत तुल्याए ।
Discussion about this post