देशभर पाँच लाख ६६ हजार परीक्षार्थी सहभागी, चितवनमा २३३ जना वञ्चित, चार दृष्टिविहीन पनि[divider]
नारायणगढ । आज बिहीबारदेखि देशभर विद्यालय शिक्षाको फलामे ढोका मानिने एसएलसी (प्रवेशिका) परीक्षा सञ्चालन हुँदैछ । परीक्षा दिनका लागि परीक्षा नियन्त्रण कार्यालयले गत वर्षभन्दा ५० वटा परीक्षा केन्द्र थप गर्दै देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ । कार्यालयले यसवर्षदेखि ‘होम सेन्टर’ खारेज गरेको छ ।
आज बिहीबार परीक्षार्थीहरुले अंग्रजी विषयको परीक्षा दिँदैछन् । यस वर्ष परीक्षामा गत वर्षभन्दा १८ हजार ९२० बढी परीक्षार्थी सम्मिलित हुने कार्यालयले जनाएको छ । नियमित र एक्जाम्टेड गरी यस वर्ष कुल पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फारम भरेकोमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्र्ष पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए ।
कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले परीक्षाको आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको बताए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा आगामी चैत १४ गते सम्पन्न हुनेछ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाका लागि परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । परीक्षा शान्तिपूर्ण एवम् कुनै पनि परीक्षा केन्द्रमा बाधा व्यवधानबिना नै सम्पन्न गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
परीक्षामा परीक्षार्थीले चिट चोरेको वा कुनैपनि अनियमितता हुने कार्य गरेको पाइएमा तत्काल त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी कारबाही गर्न सबै जिल्लाका जिल्ला शिक्षा समितिलाई निर्देशन दिइएको छ । यस्ता परीक्षार्थीको तत्काल परीक्षा रद्द गरी आगामी वर्षसमेत परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था गरेको र यसका लागि समितिलाई अधिकारसहित निर्देशन दिइएको परीक्षा नियन्त्रक द्वारेले बताए ।
त्यसैगरी परीक्षा केन्द्रमा कुनै पनि कर्मचारीले अनियमितता गरेको पाइएमा र परीक्षा केन्द्रमा जबर्जस्ती प्रवेश गर्न खोज्ने र अशान्ति फैलाउनेलाई तत्काल नियन्त्रणमा लिएर रु एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
शिक्षा ऐन २०२८ को दफा १७ (१क) मा परीक्षाको मर्यादा उल्लङघन भएमा कसुरको मात्रा हेरी बढीमा ६ महिना सम्म कैद वा एक लाख रूपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरा उल्लेख छ ।
परीक्षा सञ्चालन अवधिभर परीक्षार्थीहरूलाई मोवाइल फोनलगायत कुनैपनि किसिमको विद्युतीय उपकरण (सामान्य क्यालकुलेटरबाहेक) साथमा राख्न तथा प्रयोग गर्न नपाउने कार्यालयले जनाएको छ । त्यस्तै केन्द्राध्यक्ष, तथा अनुगमनकर्ता बाहेक अन्यका मोवाइल फोन अनिवार्य रूपमा बन्द (स्वीच अफ) गर्ने गराउने । केन्द्राध्यक्ष तथा अनुगमनकर्ताका मोवाइल फोन समेत भाइबे्रसन वा साइलेन्समा राख्ने, राख्न लगाउने परीक्षा नियन्त्रक द्वारेले बताए ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका, परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशन पुस्तिका, अन्य सम्पूर्ण सामग्री र खर्चको अख्तियारीसमेत सबै जिल्लामा पुगिसकेकोसमेत कार्यालयले जनाएको छ । परीक्षाका लागि तालिम प्राप्त कर्मचारी तैनाथ गरिएको द्वारेले जानकारी दिए ।
चितवनमा २३३ जना वञ्चित
भरतपुर । यसवर्षको प्रवेशिका परीक्षामा चितवनका २३३ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार ७५ प्रतिशत हाजिरी नपुगेका र रजिस्ट्रेसन फारम भरेर स्कुलमा नियमित नआएका ती विद्यार्थी परीक्षाबाट बञ्चित हुने भएका हुन् ।
चार दृष्टिविहीन पनि
यसवर्षको प्रवेशिका परीक्षामा चितवनबाट कुल १२ हजार २६४ जना सम्मिलित हुँदै छन् । यीमध्ये चार जना दृष्टिविहीन रहेका छन् । यी चार जनामध्ये नारायणी उच्च मावि भरतपुरबाट तीन र झुवानी माविबाट एक जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
चितवनबाट यसवर्ष नियमिततर्फ नौ हजार ९६९ र आङ्शिकतर्फ दुई हजार २९५ परीक्षार्थी सहभागी हुँदै छन् । जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार चितवनको भरतपुर क्षेत्रमा १०, पूर्वीचितवनमा १५, पश्चिम चितवनमा १०, माडीमा दुई र कुरिनटारमा एक गरी यो वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ ।
Discussion about this post