गैंडाकोट । नेपालमा कृषिको व्यवसायीकरणका विषयमा नवलपरासीको गैंडाकोटमा बृहत गोष्ठी हुने भएको छ । नेकपा एमालेको अर्थ योजना विभागको आयोजनामा भोलि (शुक्रबार) हुने गोष्ठीमा नेपालको कृषिमा व्यवसायीकरण किन र कसरी तथा नेपालको कृषि नीतिका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
गैंडाकोटको नारायणी नदी किनारमा रहेको होटल रिभर क्राउनमा शुक्रबार बिहान नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुनेछ । नेपाली कृषकले सरकारबाट ठोस कार्यक्रम आउन नसकेको गुनासो गरिरहेकाले त्यसको सम्वोधनका लागि ठोस कार्यक्रम अगाडि सार्नका लागि योजना बनाउन गोष्ठी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कृषिलाई व्यवसायिक बनाउन देखिएका समस्या र ती समस्या हटाउन राज्यले चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गरी आएका निष्कर्ष कार्यान्वयनका लागि राज्यका निकायलाई जानकारी गराइने र एमालेले त्यसका लागि पहल गर्ने जानकारी दिइएको छ ।
नेपालको कृषिमा व्यवसायीकरण किन र कसरी विषयमा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै नेपाल सरकार कृषि मन्त्रालयका दुई जना सचिवले नेपालको कृषि नीति र कार्यान्वयनको अवस्थालगायतका विषयमा समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कृषि तथा वन विश्वविद्यालय, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुरका प्राध्यापकलगायतका विज्ञले कार्यपत्रमाथि टिप्पणी गर्ने कार्यक्रम छ ।
Discussion about this post