नारायणगढ । मानव बेचविखन विरुद्ध सगरमाथा आरोहण गरी विश्व किर्तीमानी कायम गर्न दोलखाका एक युवा लागि परेका छन् । चार पटकसम्म सगरमाथाको सफल आरोहण गरिसकेका दोलखा लामाबगर–३ का लिलाबहादुर बस्नेत अगामी मे १९ गते सगरमाथा तर्फ राजधानीबाट प्रस्तान गर्ने तयारीमा लागेको मंगलबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
‘मानव बेचविखन रोकौँ, मानब बेच्नका लागि होइन’ भन्ने नाराका साथ काठमाडौँबाट सगरमाथाको आरोहण सुरु गरी १० दिनमा नै काठमाडौँ फर्कि विश्व किर्तीमान कायम गर्ने तयारीमा बस्नेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि पनि ८ दिनमा सगरमाथा आरोहण गरी राजधानी फर्किएका उनी यसअगाडि विश्व किर्तीमान कायम गर्ने प्रक्रियाका बारेमा नजान्दा त्यसतर्फ अगाडि नबढेको पत्रकार सम्मेलनमा उनले बताए ।
सानै उमेरमा अभिभावक गुमाएका ३० वर्षिय बस्नेत हातमुख जोर्नकै लागि आरोहीको भरिया भएर काम गरेको बताउँदै पछि उनीहरुको संगतले सगरमाथा आरोहण गर्ने हौसला प्रदान गरेको बताए । सगरमाथा आरोहणपछि बस्नेतले संयुक्त राष्ट्र संघका महासचिव वान की मुनलाई भेटी मानव बेचविखन विरुद्धको आवाज उठाउन पहल गर्ने आरोहण व्यवस्थापन प्रमुख तथा सिन्ह्वा समाचार समितिकी काठमाडौँ संबाददाता बिबी अब्रुजीनले बताइन् ।
इटालियन नागरिक समेत रहेकी बीबीले नेपाललगायतका दक्षिण यसियाली मुलुकहरुमा मानव बेचविखन मुख्य समस्याका रुपमा रहेको बताउँदै त्यसलाई रोक्न विश्वसामु एउटा सन्देश दिन बस्नेतले सगरमाथा आरोहण गर्न लागेको बताइन् ।
‘दक्षिण यसियाली मुलुकहरुमा अझ नेपालमा मानव बेचविखन मुख्य समस्याको रुपमा रहेको छ’, उनले भनिन्, नेपालबाट हरेक वर्ष १० देखि १५ हजार महिलाहरु भारतमा बेचिन्छन् ।’ बस्नेतको अभियान दक्षिण एसियामा मानव बेचविखन अन्त्यका लागि भएको विवीले बताइन् ।
उनको सगरमाथा आरोहणको सुरु देखि अन्त्यसम्मको कथालाई वृत्तचित्र बनाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । फिल्म हिमालय नामक संस्थाले उनको सगरमाथा आरोहणलाई क्यामेरामा कैद गरी ‘वियोण्ड दी रेकर्ड’ नामको वृत्तचित्र तयार गर्ने संस्थाका विनोद अधिकारीले जानकारी दिए ।
उनलाई संस्थाका क्यामेराम्यानहरुले आरोहणसम्म पछ्याउने छन् । उनी एक्लै सगरमाथा आरोहण गर्दै छन् । उनी मे १९ मा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट सगरमाथा आधारशिविर तर्फ लाग्नेछन् भने मे २९ मा सगरमाथा आधार शिविरमा फर्कने छन् । मे २९ त्यही दिन हो जुन दिन १९५३ मा पहिलोपटक तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेका थिए ।
यसैबी सोही पत्रकार सम्मेलनमा सगरमाथा आरोही बस्नेतलाई रेडियो ध्रुबतार र बेसो टेलिभिजनले आफ्नो लोगोसहितको व्यानर हस्तान्तरण गरेका छन् ।
Discussion about this post