होटल व्यवसायको क्षेत्रमा लगानी गर्दै आएको ‘नारायणी बिजनेस ग्रुप’ले नवलपुर जिल्लाको गैँडाकोटमा सुविधासम्पन्न नयाँ होटल सञ्चालनमा ल्याउँदैछ । ‘होटल द नारायणी प्रालि’ नाम दिइएको उक्त होटलको आज माघ ८ गते औपचारिकरुपमा उद्घाटन गर्दैछ । चितवन र नवलपुर जिल्लाका ६ जना प्रतिष्ठित व्यवसायी मिलेर स्थापना गरिएको ग्रुपले करिब सात करोड रूपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउन लागेको हो । यसअघि नै गैँडाकोटस्थित नारायणी नदीकिनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याइसकेको यस समूहको यो दोस्रो लगानी हो । संस्था दर्ता भइसकेपछि द नारायणी रिसोर्ट सञ्चालन गरेको समूहले त्यसैको भगिनी संस्थाका रूपमा अर्को होटल खोलेको हो । संस्था स्थापना भएदेखि हालसम्म करिब १३ करोडभन्दा माथि लगानी गरिसकेको समूहको दाबी छ । द नारायणी रिसोर्ट चल्दाचल्दै भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नयाँ होटल सञ्चालन गर्न लागेको समूहले जनाएको छ । होटल, पर्यटन र यसले दिने सेवासुविधाबारे केन्द्रित रहेर नारायणी बिजनेस ग्रुपका अध्यक्ष प्रभाकर पण्डितसँग यहाँ कुराकानी गरिएको छ । प्रस्तुत छ, आजको बिजनेस टकमा चितवन पोष्ट दैनिकका तुलमान गुरूङले अध्यक्ष पण्डितसँग गरेको कुराकानी :
१. ‘नारायणी विजनेस ग्रुप’ र लगानी गर्ने क्षेत्रबारे जानकारी गराइदिनुस् न ।
— चितवन र नवलपुरका ६ जना व्यवसायी मिलेर २०७४ मंसिरमा स्थापना भएको संस्था हो, ‘नारायणी बिजनेस ग्रुप’ । यसले होटल तथा रिसोर्ट व्यवस्थापनसम्बन्धी क्षेत्रमा लगानी गर्दै आइरहेको छ । हालसम्म दुईवटा होटलमा लगानी गरिसकेको छ । एउटा ‘द नारायणी रिसोर्ट’ र अर्को ‘होटल द नारायणी’ हो ।
२. मोफसलमै सबैभन्दा ठूलो र सुविधासम्पन्न होटल सञ्चालन गरिसकेको समूहले फेरि होटलमै लगानी गर्नुको कारण ?
— हामीले होटल तथा रिसोर्टको क्षेत्रमा गरेको मेहनतको प्रतिफल हो यो । हामीले जति मेहनत गरेका छौँ त्यसबाट उत्साहित छौँ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । चितवन घुम्न आउने पर्यटकको संख्यामा जति वृद्धि हुँदै गयो त्यति नै बस्नयोग्य कोठाहरुको अभाव पनि बढ्दै गयो । त्यसैले, चितवन जिल्लासँगै सिमाना जोडिएको गैँडाकोटमा अर्को सुविधासम्पन्न होटलको जन्म भएको हो । र, हामीले सामाजिक उत्तरदायित्व वहन गर्नका लागि पनि उही क्षेत्रमा थप लगानी गरेका हौँ । हाम्रो यो लगानीले भ्रमण वर्ष–२०२० लाई सफल पार्न पनि मद्दत पु¥याउँछ भन्ने विश्वास छ ।
३. होटल चलाउनकै लागि भ्रमण वर्षसँगको सम्बन्ध देखाउनुभएको हो ?
— त्यस्तो होइन, होटल र पर्यटन भनेको एकापसमा सम्बन्ध भएको व्यवसाय हो । पर्यटकका लागि उनीहरुको चाहनाअनुसार खाने, बस्ने सुविधाको व्यवस्था हुन नसके पर्यटन प्रवद्र्धन हुनै सक्दैन । त्यसैले, होटल व्यवसायले प्रत्यक्ष वा परोक्षरुपमा पर्यटन प्रवद्र्धनमा मद्दत पु¥याइरहेको हुन्छ । फेरि सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइरहँदा नेपाल घुम्न आउने पर्यटकलाई खान र बस्नको सुविधा दिन सकेनौँ भने सरकारको लक्ष्य पूरा नहुन सक्छ । त्यसकारण, हामीले जनवरी महिनाको सुरूवातमै सेवा सुरू गर्ने लक्ष्य राखेका थियौँ, तर विविध कारणले ढिला हुन पुग्यो । गैँडाकोट र भरतपुर क्षेत्र देशकै मुख्य केन्द्रमा पर्ने स्थान भएकोले पनि पूर्वपश्चिम, सबै क्षेत्रका पर्यटकको सुविधाका लागि नयाँ होटल खोलेका हौँ । अर्को कुरा, ‘हस्पिट्यालिटी’ भनेको बिजनेस हो, जसको सेवाग्राही अधिकांश पर्यटक नै हुन्छन् । त्यसैले, आन्तरिक या विदेशी दुवैथरीका पाहुनालक्षित र सेवामुखी व्यवसायको लागि यो संस्था जन्मिएको हो ।
४. सुविधाहरु के–के छन् त ?
— होटल व्यवसाय भनेको लगानीकर्ताका लागि व्यवसाय भए पनि सेवाग्राहीका लागि आराम गर्ने थलो हो । त्यसैले, कसरी हुन्छ सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै पर्याप्त पार्किङ, ध्वनि प्रदूषणरहित ६ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउन्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेस्टुरेन्ट एण्ड बार, सुविधासम्पन्न सुपर डिलक्स रूमहरुको व्यवस्था मिलाएका छौँ । पाहुनालाई नारायणीमा जलयात्राको समेत सुविधा मिलाएका छौँ । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीकिनारजस्ता पर्यटकीय गन्तव्यको बीचमा रहेकाले पनि पर्यटकका लागि पायक पर्ने स्थानमा होटल सञ्चालनमा ल्याउन लागेका हौँ । र, पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि सहज पहुँच हुने विश्वास लिएका छौँ ।
५. पछिल्लो समय सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो छ, त्यसलाई कसरी हेर्नुभएको छ ?
— प्रतिस्पर्धा जुनसकै व्यवसायमा पनि छ । तर, होटल व्यवसायमा सेवाग्राहीले कस्तो खालको सुविधा खोज्छ भन्नेमा फरक पर्छ । त्यसैले, होटलमा बस्ने आन्तरिक तथा बाह्य पर्यटक वा यात्रामा निस्किएका व्यक्ति, उनीहरुको माग र चाहनालाई हामीले राम्ररी बुझेका छौँ । र, उनीहरुको चाहनालाई पूरा गर्ने कर्तव्य हाम्रो हो, जुन हामी पूरा गर्न सक्छौँ । अर्को कुरा, हाम्रो यो होटल द नारायणी प्रालिको भौतिक संरचना पनि आकर्षक बनाएका छौँ । यहाँको सुविधा र भौतिक संरचनाकै कारण होटलमा उद्घाटन हुनुपूर्व नै चलचित्र तथा म्युजिक भिडियोहरुको छायाङ्कन भइसकेका छन् ।
६. समूहको भावी योजना के-के छन् त ?
— होटल र पर्यटन व्यवसाय एकापसमा अन्योन्याश्रित सम्बन्ध भएको व्यवसाय हो । त्यसैले, नेपालमा पर्यटक भिœयाउन होटल व्यवसायमा लगानी बढाउनुपर्छ, समयको मागअनुसार सेवासुविधा दिन सक्नुपर्छ । सरकारले सन् २०२० मा करिब २० लाख विदेशी पर्यटक भिœयाउने योजना अघि सार्दै गर्दा निजीस्तरबाट सहयोग भएन भने कसरी सफल होला ? त्यसैले, आउँदा दिनमा अन्य सम्भावित स्थान हेरेर अझ लगानी बढाउने सोच लिएका छौँ । किनकि, सेवा चाहनेहरुलाई सेवा दिन सक्नुपर्छ । सरकारका हरेक सकारात्मक योजना तथा क्रियाकलापमा हामी सबैले आआफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।